कविता गाउँ लुम्लेलाई ८ आना जग्गा प्राप्त

समाधान संवाददाता २०८१ मंसिर २ गते १६:५२

पोखरा ।
कविता गाउँ लुम्ले समितिलाई समाजसेवी रामजीप्रसाद देवकोटाबाट जग्गा दान प्राप्त भएको छ । देवकोटा अन्नपूर्ण गाउँपालिका ६ लुम्ले निवासी हरिदत्त देवकोटाका कान्छा छोरा हुन् । उनले छेउघर चौतारामुनीको ८ आना जग्गा समितिलाई दान गरेका हुन् ।

Advertisement


समितिले शनिबार भएको भेलामा जग्गादातालाई धन्यवाद ज्ञापन गर्दै जग्गामा ग्रामीण पर्यटन प्रवद्र्धन केन्द्र निर्माणको गुरुयोजना बनाएर अगाडि बढ्ने समितिका अध्यक्ष भरत देवकोटाले जानकारी गराए । जग्गादाता रामजीप्रसाद देवकोटाले कविता गाउँ लुम्लेमा पर्याप्त सम्भावना भएर पनि त्यसको सदुपयोग गर्न नसकिएको अवस्थामा सबै मिलेर जुर्मुराउनुपर्ने धारणा राखे ।


यसअघि कविता गाउँका परिल्पनाकार विनोद गौचनको अर्धकधको शालिकसहितको कविता गाउँ लुम्ले पार्क निर्माणका लागि समाजसेवी चीनबहादुर खत्री क्षत्रीले चार आना दुई पैसा एक दाम जग्गा दान गरिसकेका छन् । उक्त जग्गा समितिका नाममा कायम गरी निर्माण प्रक्रियालाई अगाडि बढाइसकेको समितिका निवर्तमान अध्यक्ष चूडामणि देवकोटाले जानकारी दिए ।


कविता गाउँ लुम्ले समितिले अल्पकालीन तथा दीर्घकालीन योजनासहित लुम्लेको प्रचारप्रसारमा लाग्ने भेलाका वक्ताले बताएका छन् । उनीहरूले लुम्लेमात्र नभएर अन्नपूर्ण गाउँपालिकालाई नै आन्तरिक तथा पर्यटन प्रवद्र्धन केन्द्रका रूपमा विकास गर्न तीनै तहका सरकारसँग सहकार्य गरी अन्नपूर्ण गौरवको योजनाका रूपमा पार्क तथा ग्रामीण पर्यटन प्रवद्र्धन केन्द्र निर्माणलाई अगाडि बढाउने धारणा राखे ।


२०६७ सालमा स्थापना भएको समितिले लुम्लेलाई कृषि, पर्यटन तथा साहित्यसँग जोडेर विविध गतिविधि सञ्चालन गर्दै आएको समाजसेवी कृष्णप्रसाद देवकोटा बताउँछन् । समितिले विनोद गौचनको स्मृति दिवसमा यही पौष २० गते पालिकास्तरीय माध्यमिक तहका विद्यार्थीबीच कविता प्रतियोगिता सञ्चालन गर्ने संस्थापक अध्यक्ष भक्तिराम देवकोटाले जानकारी दिए ।

Advertisement


अन्नपूर्ण गाउँपालिका भित्रका माध्यमिक तहका प्रत्येक विद्यालयबाट एक–एक छात्र–छात्रासहितको सहभागितामा कविता प्रतियोगिता सञ्चालन गर्न समिति दु्रत गतिमा लाग्ने जनाइएको छ ।


संस्थाका संरक्षक सल्लाहकार विश्वमोहन गौचनले कविता गाउँ लुम्लेमा भएको विकास र समृद्धिका उपभोत्ता लुम्लेवासी नै भएकाले सबै मन, वचन र कर्मले एक भएर अगाडि बढ्न सुझाव दिए ।


भेलामा समितिका सल्लाहकार असफल गौतम, जग्गादाता चित्रबहादुर खत्री क्षत्री, समाजसेवी कृष्णप्रसाद देवकोटा, बाबुराम देवकोटा, शिवप्रसाद देवकोटा, श्रीराम देवकोटा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया