बुढाबुढी स्याहार्दै फेदीखोला गाउँपालिका, घरमै पुगेर उपचार सेवा

समाधान संवाददाता २०७५ माघ १३ गते १७:४९
sdr

समाधान संवाददाता

आजभोलि गाउँका घर प्रायः रित्तै छन् । त्यसमध्येका कतिपय दुई चार रुपैयाँ पैसा कमाउन मुग्लान भासिए । कोही सानोतिनो व्यवसाय थालेर कोठा भाडामै बसेर भएपनि बजारमै रमाउने भए । कोही छोराछोरी पढाउने बहानामा शहरका कुना काप्चा च्याप्न थाले । गाउँमा भएका केहि घरमा आजकल बुढाबुढि मात्रै हुन्छन् । बलिया हातपाखुराको सहारा गाउँमा छैन ।

दुख बिमार हुँदा पनि छिमेकी गुहार्न पाउनु छैन् । एक्ला घरमा एक्लै पिँढी कुरेर बस्नु शिवाय उपाय छैन । टाउको दुख्दा । ज्वरो आउँदा । जोर्नी करकर्दी खाँदा । ओखती मुलो गर्दिने छोराबुहारी पनि बजारमा हुँदा । कसले स्याहार्ने ति बुढा भका बाआमालाई ? कसले सोध्दिने तिनको हालखबर ?

Advertisement

जनप्रतिनिधि चुनिएर आएको १९ महीना बित्नै लाग्यो । अहिलेसम्मको कामबाट आत्मसन्तुष्टि मिलेको भनेको गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्याहार स्वास्थ्य उपचार नै हो । स्याङ्जा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी कार्यकक्षमा हामीलाई सुनाउँदै थिए । गाउँकार्यपालिकाबाट पारित भई गाउँपालिकाका ५ वटा वडामा सञ्चालन गरिएको निशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य उपचारले गाउँबासी मात्र नभई अध्यक्ष सुवेदीलाई पनि साँच्चिकै जनप्रतिनिधि भएर दायित्व पूरा गर्दै छु भन्ने महसुस भएको छ ।

६० वर्ष भन्दा माथिका १ हजार ७ सय ११ जना ज्येष्ठ नागरिकको लगत गाउँपालिकाले राखेको छ । उनीहरुको स्वास्थ्योपचार गाउँपालिकाले गएको भदौबाट निशुल्क रुपमा गर्दै आइरहेको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

Advertisement

४ स्वास्थ्य चौकी र २ हेल्थ युनिटका स्वास्थ्यकर्मीसँगको सहकार्यमा सबै वडाका ज्येष्ठ नागरिकलाई मासिक रुपमा घरमै पुगि स्वास्थ्य जाँच गर्ने काम गाउँपालिकाले थालेयता धेरै वृद्धवृद्धा अवस्थाका स्थानीयले राहत पाएका छन् ।

हरेक महीनाको २६ गतेदेखि सुरु हुने ५ दिनसम्मको कार्यक्रममा महीला स्वास्थ्य स्वयंसेविका लगायत ७३ जना स्वास्थ्यकर्मी वृद्ध बाआमाको घरदैलोमा पुग्ने गर्दछन् । वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्ने, आर्थिक अवस्था कमजोर भएकालाई निशुल्क औषधी वितरण समेत गाउँपालिकाले गर्दै आइरहेको उपाध्यक्ष देवी थापाले सुनाइन् ।

‘मासिक रुपमा जाँच गरिने स्वास्थ्य सम्बन्धी रेकर्ड ‘स्वास्थ्य कार्ड’ बनाई उल्लेख गर्ने गरेका छौं,’ उपाध्यक्ष थापाले भनिन्, ‘कुन मितिमा जाँचेको, के समस्या छ, कुन औषधी चलाइएको छ, सबै जानकारी कार्डबाट थाहा हुन्छ ।’

दीर्घरोगी भएकाहरुलाई निरन्तर विशेषज्ञ डाक्टरसँग चेकजाँच गर्न र नियमित औषधी खान प्रेरित गर्ने गरेको अध्यक्ष घनश्याम सुवेदी बताउँछन् । त्यस्ता बिमारीहरुलाई पनि ब्लड प्रेसर लगायतका सामान्य चेकजाँच गरेर हालखबर मात्रै सोधेमा पनि उनीहरुको एक्लोपना महसुस हट्ने अध्यक्ष सुवेदीको अनुभव छ ।

‘कुनै घरमा त पिँढी मात्रै कुरेर बस्नुपर्ने बाध्यताका आमाबुवाहरु हुनुहुन्छ, उहाँहरुको स्वास्थ्य चेकजाँच पनि हुने, स्वास्थ्यकर्मीको टोली घरदैलोमा पुगेर हालखबर सोधिरहँदा गाउँपालिकाले दायित्व लिएको छ भन्नेमा उनका आफन्तलाई ढुक्क हुन्छ,’ उनले भने ।

कार्यक्रम प्रभावकारी भएको छ/छैन गाउँपालिकाले अनुगमन गर्ने गरेको छ । अनुगमन पछि निशुल्क स्वास्थ्य उपचार कार्यक्रम प्रभावकारी भएको गाउँपालिकाको ठम्याई छ । महिला स्वास्थ्य स्वयंसेविका आफ्नै टोल, छिमेकमै हुने भएर पनि उनीहरुले हरेक बिमारीको स्वास्थ्य स्थिति पत्तो पाइरहन्छन् । स्वास्थ्यकर्मीहरुको समन्वयमा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुप्रतिको दायित्व पूरा गर्न पाएको गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष सहित जनप्रतिनिधि खुशी देखिन्छन् ।

‘रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु जाति’ भने झैं नियमित चेकजाँचले गर्दा वृद्धवृद्धामा देखिन सक्ने आकस्मिक स्वास्थ्य समस्या टर्ने गाउँपालिकाको विश्वास छ । वर्षौसम्म आफ्नो स्वास्थ्य स्थिती थाहा नै नपाएर थलिनुभन्दा बेलैमा त्यसबारे चासो दिई निको बनाउन तर्फ अघि बढ्न स्वास्थ्यकर्मीले सुझाउँदै आएका छन् ।

गाउँपालिकाले यसै वर्ष भित्र स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउन तर्फ योजना बनाइरहेको छ । सबै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सम्बन्धी विवरणलाई सफ्टवेयर मार्फत अद्यावधिक गर्ने गरी काम अघि बढाइरहेको अध्यक्ष सुवेदीले जानकारी दिए । ‘सिनियर सिटिजन एमआइएस सिस्टम’ नामक सफ्टवेयर निर्माण गरी विदेशमा भएका छोराबुहारीले पनि आमाबुवाको स्वास्थ्य स्थिती पत्तो पाउन यसले सघाउने छ ।

गाउँपालिकाले निशुल्क स्वास्थ्य उपचार कार्यक्रम अन्तर्गत २० लाख बजेट विनियोजन गरेको छ । वर्षको एकपटक भने स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी थालेको छ । शिविर सञ्चालनका लागि ७ लाख बजेट छुटै विनियोजन गरी सहजीकरणका लागि विभिन्न सहयोगी संस्था गुहार्ने अध्यक्ष सुवेदीको भनाई छ । आउँदो फागुन पहिलो साता विशेषज्ञ डाक्टर सहित गाउँपालिकाका ५ वटै वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । शिविरमा ल्याब सेवा उपलब्ध गराइने भएको छ ।

नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन कम्मर कसेर लागिपरेको फेदीखोला गाउँपालिकाले २४ सैं घण्टा एम्बुलेन्स सेवा दिन समेत तत्परता देखाएको छ । गाउँपालिकामा सञ्चालित २ एम्बुलेन्स मर्मत सम्भारका लागि चालु आर्थिक वर्षमा १ लाख ५० हजार बजेट विनियोजन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया