वातावरण संरक्षणमा महिला

अमृता अनमोल २०८१ मंसिर ४ गते १२:३०

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक हक हो । तर, पछिल्लो समय स्वच्छ र स्वस्थ वातावरण हराउँदै गएकाले वातावरण संरक्षण गर्नु जरुरी छ । सामान्यतया, वातावरण संरक्षण भनेको पृथ्वीका प्राकृतिक स्रोतहरु, जैविक विविधता, पानी, हावा, माटो वनस्पति र वन्यजन्तुलाई संरक्षण र सन्तुलनमा राख्ने प्रक्रिया हो ।

Advertisement


वातावरणीय सन्तुलन कायम राख्ने हो भने प्राकृतिक स्रोतहरुलाई दीर्घकालसम्म उपयोग गर्ने बनाउनुपर्छ । वातावरणीय प्रदूषण हटाउनुपर्छ । वन र जलस्रोतको व्यवस्थापन हुनुपर्छ । जीवजन्तुहरुका बासस्थानको संरक्षण गर्नुपर्छ । वातावरण र विकासबीच सन्तुलन कायम राख्नुपर्छ । जलवायु परिवर्तनको असर कम गर्न प्रकृति, वातावरण र जैविक विविधतालाई प्रतिकूल असर पार्ने तत्वहरुको न्यूनीकरण गर्नुपर्छ ।


वातावरण विनाशका कारण धेरै हुन सक्छन् । त्यसमध्ये वन विनाश वातावरण विनाशको प्रमुख कारण मानिन्छ । रुख कटानबाट जैविक विविधता, हावाको गुणस्तर र माटोको संरक्षणमा नकारात्मक असर पर्छ । वनमा बसोबास गर्ने वन्यजन्तुको बासस्थान हराउँदै जान्छ । पृथ्वीको कार्बन चक्रमा पनि असन्तुलन ल्याउँछ । वातावरण विनाशको दोस्रो कारण औद्योगीकरण र सहरीकरण हो । यसले पृथ्वीका प्राकृतिक स्रोतहरूको दोहन बढाएको छ ।


औद्योगिक क्रियाकलापमा रसायन, धातु, र प्लाष्टिकजन्य उत्पादनहरूको प्रयोगले हावा, माटो, र पानीमा विषाक्त पदार्थहरूको मात्रा बढाउँछ । कारखानाबाट निस्कने धुवाँले वायुमण्डललाई प्रदूषित बनाउँछ । यसबाहेक, प्लाष्टिकको अत्यधिक प्रयोग र यसलाई नष्ट गर्ने प्रभावकारी उपायको अभावले वातावरण विनासमा ठूलो भूमिका खेलेको छ ।


जलवायु परिवर्तन र हरितगृह ग्यास उत्सर्जन, प्रदूषण, कृषिमा रासायनिक पदार्थको अत्यधिक प्रयोग, जलस्रोतहरूको अत्यधिक दोहन, प्राकृतिक बासस्थानको विनास, जनसंख्या वृद्धिलगायत पनि वातावरण विनासका कारण हुन् ।

Advertisement


वातावरण संरक्षण कसले गर्ने ? यसको सिधा जवाफ हुन्छ मानिसले । मानिसबीच पनि वातावरण संरक्षणको काममा लैंगिक रुपमा हेर्दा महिलाको भूमिका धेरै हुन्छ । महिलालाई केही सीप र शिक्षा दिने हो भने वातावरण विनास रोकिने र दिगो वातावरण संरक्षण हुने देखिन्छ । नेपाली समाजमा घरगोठ सम्हाल्ने अधिकांश महिला छन् । कृषिदेखि करेसाबारीसम्मको धेरै काम गर्ने महिला छन् । यही घरगोठ र कृषिको जिम्मेबारी सम्हाल्ने क्रममा धेरै प्राकृतिक स्रोतको उपयोग हुन्छ ।


प्राकृतिक स्रोतको दोहनले स्वच्छ वातावरण विनास भएको छ । कतिपय अवस्थामा खाना पकाउने इन्धनकै कारण वातावरण प्रदूषित भएको छ । वातावरण प्रदूषण हुँदा त्यसको असर पनि पुरुषको तुलनामा महिलालाई धेरै परेको छ । चाहे काठ, दाउरा वा भुसे चुल्होमा खाना बनाउँदा होस् चाहे काठ, दाउरा र घाँसपातको खोजीमा वनजंगलमा जाँदा वन्यजन्तुको आक्रमणमा परेर महिला नै धेरै प्रभावित भएका छन् । तिनै महिलालाई घरगोठ र कृषिको भूमिका निभाउँदा थोरै सीप सिकाए वातावरण स्वस्थ र स्वच्छ हुन्छ ।

जलस्रोतहरूको अत्यधिक दोहन, प्राकृतिक बासस्थानको विनास, जनसंख्या वृद्धिलगायत पनि वातावरण विनासका कारण हुन्


सामान्य रुपमा हेरौं, घरभित्र कम पानी खर्चिदा, बिजुली बत्ती खेर नफाल्दा, दाउराको साटो वैकल्पिक ऊर्जा प्रयोग गर्दा, घर आसपासमा करेसाबारी र फूलबारी बनाउँदा, पशुको आहारका लागि वनजंगलका घाँसपात जथाभावी काट्नुको साटो वैकल्पिक व्यवस्था गर्दा वृक्षरोपण गर्दा प्राकृतिक स्रोत व्यवस्थापन हुन्छ भने वातावरणको संरक्षण हुन्छ ।


नेपाली समाजमा धेरै महिलाको जिम्मामा भान्सा छ । भान्सा सम्हाल्दा खाना, पानी र इन्धनको जोहो महिला आफैँले गर्नुपर्छ । खाना बनाउने इन्धनका रुपमा अहिले पनि धेरै काठ, दाउराको प्रयोग हुन्छ । दाउराका लागि काठको सट्टा विद्युतीय चुल्हो, ग्यास वा गोबरग्यास प्रयोग गर्न सकिन्छ । यसले वनविनाश हुनबाट रोकिन्छ । भान्सामा प्रयोग हुने कुहिने र नकुहिने फोहोरको छुट्टै व्यवस्थापन गर्नसक्ने हो भने वातावरण प्रदूषण हुनबाट रोकिन्छ ।


कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन सकिन्छ । जुन मल करेसाबारीमा प्रयोग हुन्छ । यसले माटोको जैविकता र उर्भरा शक्ति बढाउँछ । नकुहिने फोहोर धेरैको पनि वैकल्पिक प्रयोग गर्न सकिन्छ । जस्तो कि, भान्सामा प्रयोग हुने दूध, चाउचाउ, चिउरालगायतका प्लाष्टिकका खोलबाट ढकिया, कलम राख्ने होल्डर, ट्रेलगायत बनाउन सकिन्छ । थोरै सीप सिकाउने हो भने चकटी गुन्द्री बुन्ने महिलाले सजिलै प्लाष्टिकबाट सजाबटका सामग्री बनाउनेछन् । किनमेलमा प्लाष्टिकको साटो कागज वा कपडाको झोला प्रयोग गर्न सिकाए दीर्घकालीन रुपमा प्लाष्टिकको प्रयोग घटाउन सकिन्छ ।


हाम्रो समुदायमा व्यक्तिगतदेखि पारिवारिक र वातावरणीय सरसफाइको भूमिका पुरुषभन्दा महिलाकै काँधमा छ । खाना बनाउने, सरसफाइ गर्नेदेखि लुगा धुने काममा पानीको कम प्रयोग गर्दा र वर्षाको पानी संकलन गरेर सदुपयोग गर्दा पानीको स्रोत जोगाउन सकिन्छ । नियमित रुपमा घर, आँगन र टोलको सरसफाइ गर्दा फोहर हुँदैन । फहोर नभए वातावरण प्रदूषित हँुदैन । सरसफाइले वातावरण स्वच्छ बनाउन सकिन्छ ।


अहिले पनि वनमा निर्भर हुने महिलाको सङ्ख्या धेरै छ । पशु चराउन जाने र घाँस दाउरा काट्ने धेरै महिला हुन्छन् । पशु आहाराका लागि जथाभावी जङ्गलमा घाँसस्याउला काट्नु साटो घाँसे खेती गर्न सिकाउन सकिन्छ । पशुचरणका लागि थोरै वा छुट्टै वन छुट्याउन पनि सकिन्छ ।


खाली जग्गामा वृक्षरोपण गर्न सकिन्छ । यसबाट घाँसपात सहजै उपलब्ध हुन्छ । आयमूलक बोटबिरुवा लगाउँदा महिलाको आम्दानी पनि बढ्छ । वन फडानी पनि रोकिन्छ । घर अगाडि वा आसपासमा रहेको खाली जग्गामा फूलबारी वा करेसावारी बनाउन सकिन्छ । यसले घरआँगनको वातावरण स्वस्थ, मनमोहक र हरियाली बनाउछ ।


कृषिमा संलग्न महिलाहरुले खेतीपातीका क्रममा पनि थोरै ध्यान दिंदा वातावरण जोगाउन सकिन्छ । जथाभावी रसायनिक मलको प्रयोग गर्नु साटो कम्पोष्ट मल प्रयोग गरे माटो र जैविक विविधताको संरक्षण हुन्छ । विषादीको कम प्रयोगले माटोमा जैविकता बचाउन सकिन्छ ।


भूमिगत पानीको अत्यधिक दोहनले जलको उपलब्धता घटाउने र कृषि क्षेत्रमा जल अभाव बढाउँछ । यसका कारण जमिनमुनिको पानीको सतह तल जान्छ र भू–क्षयको खतरा पनि बढ्छ । जैविक खेतीसँगै उन्नत सिँचाइ प्रणालीको सुविधा बढाउनसके वातावरणीय संरक्षणमा सघाउछ । स्थानीय उत्पादन बढाए लामो दूरीबाट खाद्यसामग्री ल्याउने ढुवानी रोक्न र धुँवा प्रदूषण हुनबाट बचाउन एवं कार्बन उत्सर्जन कम गर्न सकिन्छ ।


निष्कर्षमा भन्नुपर्दा जल, जमिन र हावालाई प्रदूषणमुक्त बनाउनु र प्राकृतिक स्रोतहरुको संरक्षण गर्नु वातावरण संरक्षण गर्नु हो । गृहस्थ जीवनमा धेरै महिला भएका कारण वातावरण संरक्षणमा महिलाको प्रत्यक्ष संलग्नता र भूमिका हुन्छ । घर गृहस्थ सम्हाल्दा पानी, ऊर्जा र खाद्य स्रोतको प्रयोग धेरै पुरुषभन्दा महिलाले गर्छन् । यिनको व्यवस्थापन र वचत विधि सिकाउने हो भने स्रोतको खपत र सदुपयोग बढ्छ ।


खेतीपातीमा जथाभावी रसायनिक मल र विषादी कम गर्नसके जैविक विविधता बचाउन सकिन्छ । सामाग्रीको पुनःप्रयोग, फोहोर व्यवस्थापन र कम प्रदूषक पदार्थको प्रयोग गर्न सिके वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ । वन व्यवस्थापन र संरक्षणमा पुरुषभन्दा धेरै महिला छन् । प्राकृतिक स्रोत वनको दिगो व्यवस्थापन गरे कार्बन सञ्चतीकरण गर्न सकिन्छ ।


सबैभन्दा ठूलो कुरा वातावरण संरक्षणसम्बन्धी नीति र कार्यक्रम तर्जुमामा महिला सहभागिता बढाउनुपर्छ । अहिले तीन तहका सरकार छन् । स्थानीय तहका वडादेखि प्रदेश र संघीय सरकारका नीति र योजना तर्जुमामा महिला सहभागिता बढाउनुपर्छ । योजनाहरुलाई लैंगिक उत्तरदायी बनाउनुपर्छ । समूदाय र गैरसरकारी संघसंस्थाले गरेका वातावरणीय संरक्षण र कार्यान्वयनमा महिलालाई अग्रसर बनाउनुपर्छ ।


समुदायमा आधारित वातावरणीय परियोजनामा महिला नेतृत्व बढाएर वातावरण संरक्षणका लाभ र फाइदामा प्रत्यक्षरुपमा सहभागी बनाउनुपर्छ । वातावरण संरक्षण नीतिमार्फत महिला सशक्तीकरण र लैंगिक समानता प्रवद्धन गर्नसके वातावरण संरक्षणमा दिगो प्रभाव पर्ने छ भने महिला नेतृत्व र रोजगारी प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ । वातावरणीय व्यवस्थापन र संरक्षण कुरामा होइन, व्यवहारमा देखिनछ । अब वातावरण विनास रोकी दिगो वातावरण संरक्षण गर्न गाउँदेखि सहरसम्मका महिला जुट्न आवश्यक छ ।


वातावरणीय मुद्दालाई लैंिगक र महिलामैत्री बनाउनुपर्छ । टोलटोलका महिलालाई वातावरणीय विनाश रोकी वातावरण संरक्षण गर्ने विधि सिकाउन आवश्यक छ । गृहस्थ जिम्मेवारी निभाउने महिलाले भान्सादेखि गोठसम्म र खेतबारीदेखि वनपाखासम्मका क्रियाकलापमा स्रोतको समुचित प्रयोग गर्ने र प्रदूषण कम प्रविधि प्रयोग गर्न सकिन्छ ।

लेखक पत्रकार हुन् ।

तपाईको प्रतिक्रिया