नेपाल प्रिमियर लिगलाई एनसेलको साथ

काठमाडौं ।
आगामी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ लाई सघाउन एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बिच साझेदारीको घोषणा भएको छ । व्यावसायिक फ्रेन्चाइजमा आधारित यो टी २० प्रतियोगिता एनपिएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको छ ।
यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित छ ।
क्रिकेट भारतीय उपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुदमध्ये एक हो । यो एनपिएलको विशेषता अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागिता हो । यो प्रतियोगितामा सातै प्रदेशले आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दै छन् ।
जाब्बोरले यू–१९ महिला क्रिकेट टोलीले पहिलो पटक आइसिसी महिला यू–१९ टी–२० विश्वकपका लागि छनोट भएको उल्लेखनीय उपलब्धिलगत्तै नेपाल प्रिमियर लिगका लागि क्यानसँग ‘पावर्ड बाई एनसेल’ साझेदारी घोषणा गर्न पाउँदा प्रशन्नता व्यक्त गरे । उनले यसले नेपालका क्रिकेट खेलाडीलाई उत्कृष्ट अनुभव र आफ्नो प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ ।
‘यो हामीमा रहेको खेलकुद क्षेत्रप्रतिको उच्च सम्मान र आकर्षणको प्रमाण हो । हामी खेलकुदको विकास, युवा सशक्तीकरण, र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्ने अपेक्षा गर्छौ,’ उनले भने ।
एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्क्रिनिङ्मार्फत एनपिएलका खेलहरु जहाँ भए पनि हेर्न सकिने सुविधा प्रदान गर्ने छ । यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधि आयोजना गर्दै यो प्रतियोगिताभरी ग्राहकका लागि विभिन्न योजना पनि ल्याउनेछ ।
मंसिर १५ देखि पुस ६ गतेसम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा ८ टिमका १ सय ६० खेलाडीले ३२ रोमाञ्चक खेल खेल्ने छन् । सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ । ८ टिमले राउन्ड–रोबिन फर्माटमा प्रतिस्पर्धा गर्ने छन् । जसमा प्रमुख सहरहरू विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिमहरू छन् ।
जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले स्थापना कालदेखि नै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया