साईबाबाको ९९ औं जन्मजयन्ती
सत्य साई बाबा, प्रकृति र वातावरण

श्री सत्य साई बाबाको जन्म माता ईश्वराम्मा र पिता श्री पेद्यबेकंम्पाराजुका आठौँ सन्तानका रूपमा भारतको आन्द्र प्रदेश अनन्तपुर जिल्लाको पुट्टपर्तिमा सन् १९२६ नोभेम्बर २३ मा बिहान ५ बजेर ६ मिनेटमा भएको थियो । उहाँको जन्मको नाम सत्यनारायण राजु राखिएको थियो । सानै उमेरबाट आध्यात्मिक स्वभावका सत्यनारायण राजुले १४ वर्षको उमेरमा सन् १९४० अक्टोबर २० तारिखका दिन गृहत्यागको घोषणा गर्दै भन्नुभयो, ‘म शिरढी साई बाबाको अवतार हुँ । म सार्ई बाबा हुँ । म मेरो परिवारबाट बिदा लिँदै छु । मलाई मेरा भक्तहरूले बोलाइरहेका छन् । जुन कार्यका निम्ति मेरो उदय भएको हो, त्यसको प्रारम्भ गर्नु छ । त्यसैले यस घरबाट म आजैबाट निस्कदै छु ।’
प्रारम्भिक जीवनमा ‘सत्यनारायण राजु’को ‘असामान्य प्रतिभा’ थियो र उहाँलाई परोपकारी बालकको संज्ञा पनि दिइयो । पछि सत्यनारायण राजु ‘श्री सत्य साई बाबा’ का नामले चिनिन थाल्नु भयो । उहाँले ‘मानस भजरे गुरु चरणम् दुस्तर भवसागर तरण’ गाउँदै मानव कल्याणका लागि पहिलो आशिर्वचन प्रदान गर्नुभयो ।
‘म सनातन धर्मको रक्षा र विश्वलाई वेदको सारतत्वको ज्ञान बोध गराउन आएको हुँ” भन्नु भयो । श्री सत्य साईं बाबाका अनुयायीहरूले सन् १९४४ मा पुट्टपर्तीमा एक सानो मन्दिर बनाए र सन् १९५० मा एक विशाल आश्रम बनाए जो अहिले पनि ‘प्रशान्ति निलयम’ को नामले प्रसिद्ध छ ।
श्री सत्य साईं बाबा आफ्नो चमत्कारका लागि पनि प्रसिद्ध हुनु हुन्थ्यो । उहाँले हावामा हात घुमाइ अनेक प्रकारमा वस्तु प्रकट गर्नु हुन्थ्यो । यस कार्यका लागि उहाँको धेरै आलोचना पनि हुने गरेको थियो । तर पनि देश विदेशमा उहाँका अनुयायी दिन प्रति दिन बढ्दै गए । उहाँले विद्यालय, कलेजहरू र विश्वविद्यालय खोल्नु भयो; गरीबका लागि निःशुल्क स्वास्थ्य उपचार दिन आधुनिक अस्पताल बनाउनु भयो ।
सबैभन्दा ठूलो काम उहाँले दुई खर्ब भारतीय रूपैयाँ खर्च गरी सुख्खाले प्रभावित अनन्तपुर जिल्लाका करिब ७ सय ५० गाउँका लागि पानीको व्यवस्था गर्नु भयो । नेपाल, भारत लगायत विश्वका १ सय ३० देशमा श्री सत्य साई केन्द्र मार्फत् अनेकौं सामाजिक काम भएका र अझै हुँदै गरेका छन् । लामो बिमारीपछि ८५ वर्षको उमेरमा सन् २०११ अप्रिल २४ तारिख आइतबारका दिन बिहान ७ बजेर ४० मिनेटमा उहाँले पुट्टपर्तिमा नै चिरसमाधि लिनु भयो ।
विश्वका १ सय ३० देशमा श्री सत्य साई केन्द्रमार्फत् अनेकौं सामाजिक कामहरू भएका र अझै हुँदै गरेका छन्
आफ्नो जीवन कालमा श्री सत्य साई बाबाले अनेकौं आद्यात्मिक प्रवचन दिनु भयो । सर्वधर्मलाई महत्व दिंदै वैदिक सनातन धर्मको प्रचारप्रसार र प्रवर्धन गर्नु भयो । उहाँले दिनु भएको प्रवचन शृृंखलाको संगालो विभिन्न पुस्तकका रूपमा प्रकाशित भएका छन् । उहाँ प्रकृतिका एक पुजारी र साधक हुनुहुन्थ्यो ।
उहाँलाई स्मरण गर्दै यस लेखमा उहाँले आफ्ना प्रवचनहरूमा दिनु भएका प्रकृति र वातावरणसम्बन्धी सन्देशहरू र तिनका महत्वबारे छोटकरीमा प्रकाश पार्ने प्रयास गरिएको छ ।
ईश्वर, प्रकृति र मानिस
श्री सत्य साई बाबाका अनुसार ब्रह्माण्डमा तीन वटा निकाय छन्, जससँग मानिसले असल व्यवहार गर्नुपर्छः ईश्वर, प्रकृति र सम्पूर्ण जीव । निःसन्देह मानिसले प्रकृतिको माध्यमद्वारा भगवान प्राप्त गर्न सक्छन् । प्रकृतिले परमेश्वरको महिमालाई उजागर गर्छ (सत्य साई प्रवचन सृंखला ७ः१२, २३ मार्च १९६७)।
बाबा भन्नुहुन्छ, ‘प्रकृति हाम्रो पाठशाला हो, मुक्तिको प्रवेशद्वार हो र भगवानको अनेकौं महिमाको दृश्य हो । तसर्थ, कुनै पनि प्रकृतिसँगका कर्म ईश्वरीय हुन्, यो सब ब्रह्म हो भन्ने विश्वासको बलियो आधारमा आफ्नो जीवनको महल निर्माण गर्नु पर्दछ’ (सत्य साई प्रवचन शृंखला १०ः२३, ४ अक्टोबर १९७०)।
श्री सत्य साई बाबाले पृथ्वी, प्रकृति र वातावरणमा मानवजातिले सामना गरिरहेका खतराबारे चेतावनी दिनु भएकोमात्र छैन, मानव जातिको प्रकृतिसँग सुमधुर सम्बन्ध पुनस्र्थापित गर्न र संरक्षण गर्न हाम्रो व्यवहार र मनोवृत्तिलाई सुधार्ने तरिकाबारे पनि बताउनु भएको छ । साई बाबाले भन्नु भएको छ, ‘प्रकृति ईश्वरको प्रतिविम्ब’ हो । बाहिर प्रदूषण गर्नु भनेको हाम्रो मनभित्रको प्रदूषणको प्रतिविम्ब हो ।
पृथ्वीमा वातावरणीय समस्याको मूल कारण मानिसको लोभ, स्वार्थ र प्रकृतिका नियमहरूको अवहेलना गर्नु हो । यस्तो अवहेलना र अत्यधिक भौतिक चाहनाका कारण सत्य, सही आचरण, शान्ति, प्रेम र अहिंसा जस्ता मानवीय मूल्यहरूको उपेक्षा गर्नु हो । यस समस्यालाई सम्बोधन गर्ने उत्तम तरिका भनेको हामीले बहुमूल्य प्राकृतिक स्रोतहरूको अनावश्यक रूपमा दुरूपयोग, बर्बाद र बिनास नगर्नु नै हो ।
प्रकृतिको संरक्षणका साथसाथै पेट्रोलियम पदार्थको प्रयोग, प्लास्टिकजन्य सामानको प्रयोगमा रोक वा अति न्यून प्रयोग र अनावश्यक तवरले पानीको प्रयोग घटाउने कार्य गर्नु प्रकृति संरक्षणका लागि ठूलो योगदान गर्नु हो । हामीले सम्पूर्ण सृष्टि र सृष्टिकर्ताप्रति प्रेम प्रकट गर्नु पर्छ र प्रकृति संरक्षणका निम्ति आधारभूत मानवीय मूल्य मान्यताहरूको पनि अभ्यास गर्नुपर्छ । हाम्रो प्रेमले सबै प्राणी र सृष्टिलाई समेट्नुपर्छ र हाम्रो विचार, शब्द र कर्ममा व्यक्त हुनुपर्दछ ।
श्री सत्य साई बाबा ‘प्रकृतिलाई भगवानको वस्त्रको रूपमा देखिने र मानिसले प्रकृतिमार्फत् भगवान देख्न सकिन्छ’ भन्नु हुन्छ । ‘प्रकृति भनेको ऐना हो जसमा भगवानको छवि देख्न सकिन्छ । जसरी ऐनामा कुनै वस्तु प्रतिविम्बित हुन पाराको कोटिंग (लेप) चाहिन्छ, त्यसरी नै प्रकृतिमा भगवान देख्नका लागि प्रकृति रूपी ऐनालाई मायाको पाराले लेपन गर्नु पर्दछ । सम्पूर्ण ब्रह्माण्डमा प्रकृति परमात्माको स्थिर विम्ब हो, यसलाई चिन्न सक्नु पर्दछ । त्यसैले प्रकृतिलाई बेवास्ता गर्नु हुँदैन (सत्य साई प्रवचन सृंखला २९ः२२, २० जुन १९९६) । ‘प्रकृतिलाई जित्न वा प्रकृतिको शक्तिको शोषण गर्न मानिसलाई अधिकार छैन । मानिसले प्रकृतिलाई आदरपूर्वक व्यवहार गर्नु पर्दछ’ (सत्यम् शिवम् सुन्दरम्, खण्ड ४, पृष्ठ ५५) ।
प्रकृति र पृथ्वीका सबै प्राणीप्रति प्रेम, करुणा, नम्रता र श्रद्धा दर्शाएमा आफैंमा भगवानको कृपा प्राप्त गर्न सकिन्छ
यद्यपि मानिसले जे हासिल गर्न खोज्छ, उसले प्रकृतिमा भर पर्नु पर्छ । मानिसले प्रकृतिको स्रोतको उपभोग गर्नमा कुनै आपत्ति हुन सक्दैन । तर अनियन्त्रित चाहना र प्राकृतिक स्रोतहरूको लापरवाही तरिकाले शोषण गर्ने कार्यको परिणाम स्वरूप प्रकृतिले डरलाग्दो विकारहरू प्रदर्शन गरिरहेको छ । तर प्रकृति कसैको निजी सम्पत्ति होइन । यो भगवानको रूप हो । भगवानको कृपा बिना कोही पनि प्रकृतिबाट लाभको उपभोग गर्न सक्दैन । यो सत्यतालाई नबुझेर मानिसहरु प्रकृतिको शोषणमा लागेका छन्, अहंकारी बनेका छन् । यो अत्यधिक गलत धारणा हो । जन्मदेखि मृत्युसम्म, बिहानदेखि रातीसम्म मानिसले शोषण, लुटपाट, प्रकृतिको दुरूपयोग र अपमान गर्छन् ।
‘पृथ्वी र प्रकृति सृष्टिकर्ताको सम्पत्ति हो’ भन्ने सत्यलाई बेवास्ता गर्दै क्षणिक सुखको खोजी गर्छन् । यस्तो व्यवहारलाई कडा सजाय हुन्छ (सत्य साई प्रवचन सृंखला १८ः१६, ११ जुलाई १९८५; २ः१७, २५ जुन १९८९) । मानिसले प्रकृतिको शक्तिलाई नियन्त्रण गर्दा सन्तुलन बिग्रन्छ भन्ने कुरा बुझ्नुपर्छ । प्रकृतिसँग व्यवहार गर्दा तीन कुराको आवश्यकता पर्दछन् ।
पहिलो, प्रकृतिको नियम बारे ‘ज्ञान’ हुनु पर्ने; दोस्रो, प्रकृतिको शक्तिलाई मानव आवश्यकताको लागि प्रयोग गर्ने ‘सीप’ हुनु पर्ने; र तेस्रो प्राकृतिक शक्तिहरू बीच ‘सन्तुलन’ कायम राख्न सक्नुपर्ने । मानवीय गतिविधिका कारण प्रकृतिको सन्तुलन बिग्रन गएको छ, वायुमण्डलमा प्रदूषण भएको छ, जसका कारण नकारात्मक परिणामहरू देखापरेका छन् । बाबा भन्नु हुन्छ, ‘जसले परमात्माको पूजा गर्छ, उसले प्रकृतिलाई पनि प्रेम र पूजा गर्नुपर्छ किनभने प्रकृति परमात्माभन्दा भिन्न छैन’ (सत्य साई प्रवचन सृंखला २८.८, ९ अप्रिल,१९९५)।
उहाँका सन्देशलाई हामीले कसरी बुझ्ने ?
श्री सत्य साई बाबाका माथिका सन्देशलाई आत्मासाथ गर्दै प्रकृतिलाई हामीले निम्नानुसार बुझ्न सक्नु पर्दछः प्रकृतिमा असन्तुलन र पृथ्वीको पारिस्थितिक प्रणालीमा पर्न गएको समस्या वैज्ञानिकमात्र होइन र वैज्ञानिक उपाय वा हस्तक्षेपबाट मात्रै समाधान गर्न सकिँदैन । यो मानिस र तिनका अनियन्त्रित इच्छाहरूबाट उत्पन्न असंतुलनको सामूहिक परिणाम हो, तिनीहरूको आवश्यकताहरू भन्दा चाहना र लोभ पूरा गर्न खोज्ने कारण नै मुख्य हो ।
सत्य साई बाबाले जोड दिनुभए झैं, प्रकृति प्रतिको व्यबहारमा मानिसमा परिवर्तन आउनु जरूरी छ । व्यक्तिगत परिवर्तनले अन्ततः सामाजिक परिवर्तनको परिणाम दिन्छ । तसर्थ, प्राकृतिक स्रोतको समुचित उपयोग गर्दै प्रकृतिको सम्मान र कल्याण गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । पृथ्वीका सबै मानिसले आ–आफ्नो स्तरबाट योगदान नगरेसम्म अपेक्षित परिणाम ल्याउन सकिँदैन ।
वर्तमानमा पृथ्वीको तापक्रम बढ्दै छ, जलवायु परिवर्तनको असरको अनुभव हुँदै छ । पृथ्वीमा माटो, वायु र पानीमा विषाक्त प्रदुषकहरू जम्मा भइरहेका छन् । यसबाट मानव जातिले उच्च मूल्य चुकाउन अब धेरै समय नलाग्न सक्छ । यदि पारिस्थितिक प्रणालीहरू नष्ट हुन्छन् र पृथ्वीका धेरै प्रजाति लोप हुन्छन्, वा यदि चरम मौसमी घटनाहरू हुन्छन् भने अनिकाल, गरिबी, रोगहरू व्यापक रूपमा बढ्ने सम्भावना छ । मानव जाति र सभ्यता अहिले गम्भीर जोखिममा छ ।
त्यसैले श्री सत्य साई बाबाले दिनु भएको सन्देश अनुसार मानवजातिले अब प्रकृतिमार्फत् परमेश्वरको प्रकटीकरणलाई प्रेम गर्नु पर्दछ र प्रकृतिको अति दोहन र वातावरण प्रदूषण रोक्नु पर्दछ । हामीले यो बुझ्न आवश्यक छ कि यो केवल आध्यामिक वा धार्मिक आचरणका लागि मात्र होइन । यो अब आउने अनादि कालका लागि पृथ्वी, प्रकृति र सम्पूर्ण चराचर जगतको संरक्षण र कल्याणकारी कार्य हो । हामी प्रत्येकले आ–आफ्नो विशिष्टता, क्षमता, ज्ञान र प्रतिबद्धताका साथ प्रकृतिको सेवा गर्नु पर्दछ । पृथ्वी माताका लागि यो अति आवश्यक सेवाबाट हामी आफैं र अरू सबैलाई लाभ प्राप्त हुनेछ । साथै, यसले हामीलाई परमेश्वरको नजिक पुर्याउन पनि योगदान गर्ने छ ।
ॐ साई राम ! श्री सत्य साई बाबा, २२ नोभेम्बर १९७८
डा सुवेदी कृषि, जैविक विविधता र वातावरण विषयसँग सम्बन्धित छन् ।
तपाईको प्रतिक्रिया