साहित्यकार समीपलाई ‘प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’

समाधान संवाददाता २०८१ मंसिर ९ गते १२:०८

पोखरा । लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई ‘प्रेम शान्ति आख्यान पुरस्कार २०८१’ अर्पण गर्ने निर्णय गरेको छ । नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पुर्‍याए वापत लमजुङे स्रष्टा दीपक समीपलाई यो पुरस्कार समर्पण गर्न लागिएको हो ।

Advertisement

लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आइरहेका साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन्। हालसम्म उनको भूगोलभित्र नकोरिएको देश (गजल संग्रह), अक्षर अक्षरमा देश (मुक्तक संग्रह), नदीको राजमार्ग (लघुकथा संग्रह ) कृतिहरु प्रकाशित छन् । उनले विभिन्न साहित्यिक पत्रिकाहरु पनि सम्पादन गरिसकेका छन् । मूलत गजलकारका रुपमा परिचित उनी, कविता, गीत, गजल, मुक्तक सँगसँगै कथा र लघुकथा लेखनमा पनि उनको कलम उतिकै चलिरहेको हुन्छ ।

साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरीको छनौट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको हो ।

साहित्यकार दीपक समीपले यस अघि राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार २०५४, राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार २०५५, खुल्ला मुक्तक प्रतियोगिता २०५५ प्रथम, गजल साधना सम्मान २०६३, (भूगोलभित्र नकोरिएको देश,गजल संग्रहका लागि), समता काव्य सम्मान २०६६, शिल्पी साहित्य सम्मान २०६६, स्रष्टा साहित्य चौतारी पुरस्कार २०६८, गजल प्रतिभा पुरस्कार २०६९, अक्षरयात्रा सम्मान २०७०, गजल सन्ध्या सम्मान २०७०, मुक्तक मन्च पोखरा सम्मान २०७३, गजल मञ्च मकवानपुर सम्मान २०७४, लेखक कृति पुरस्कार २०७९, (अक्षर अक्षरमा देश मुक्तक संग्रहकालागि), बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०, अभिलेख सम्मान २०८१ प्राप्त गरिसकेका छन् ।

लमजुङ पोखरा सम्पर्क समितिकी संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थपित सो पुरस्कारको राशि दश हजार रुपैंयाँ र सम्मान पत्र रहेको छ । हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यस अघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो । यहि मंसिर १५ गते शनिबार एक भव्य समारोहको आयोजना गरि साहित्यकार समीपलाई पुरस्कार प्रदान गरिने लमजुङ पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी गराएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया