चुनौतीको चंगुलमा उद्योगधन्दा

समाधान संवाददाता २०८१ मंसिर १० गते १०:४१

पोखरा ।
गण्डकी प्रदेशमा रहेका उद्योगधन्दा चुनौतीको चाङका बिच चलिरहेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । १० औं राष्ट्रिय उद्योग दिवसका अवसरमा आइतबार पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले उद्योगका समस्या र चुनौती सामना गर्नसरकारले साथ दिनुपर्ने औंल्याए ।

Advertisement


कार्यक्रममा निर्देशनालयका महाशाखा प्रमुख महराज ढकालले प्रदेशमा उद्योग सञ्चालनका लागि राजनीतिक अस्थिरता, औधोगिक असुरक्षा, असहज श्रम सम्बन्ध, कमजोर औधोगिक पूर्वाधार सुविधा, दक्ष जनशक्ति अभाव र प्रविधि ग्रहण गर्न सक्ने क्षमता कमी रहेको बताए ।

न्यून उत्पादत्व, निर्यातयोग्य वस्तुहरुको विविधिकरणमा कमी, कमजोर आपूर्ति व्यवस्थापन, जनमानसमा उद्योग, व्यावसायलाई जीविकोपार्जनको माध्यम बनाउने मनस्थिति र वातावरण नदेखिनुलाई निर्देशनालयले यस क्षेत्रको मुख्य समस्याका रुपमा पहिचान गरेको छ ।


‘स्वदेशमै लगानी गर्ने र मुलुकमै स्वरोजगारका अवसर बढाउने तथा विश्वासिलो औद्योगिक वातावरण गर्नु हाम्रो साझा राष्ट्रिय चुनौति रहेको छ,’ महाशाखा प्रमुख ढकालले भने । यसले गर्दा नेपाली श्रम विदेशी बजारमा अकर्षित भइरहेको उनले बताए ।

‘औद्योगिक र व्यापारिक प्रक्रियाहरु सहज, सरल र पारदर्शी एवं वैज्ञानिक बनाउनका साथै देशको वृहत्तर विकासमा औद्योगिक क्षेत्रको भूमिका बढाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘साथै, निर्यातयोग्य वस्तुहरुको प्रतिष्पर्धात्मक क्षमता विविधिकरण, उत्पादकत्व अभिवृद्धि गर्नु पनि उद्योग क्षेत्रका चुनौती छन् ।’

Advertisement


उद्योग परिसंघ गण्डकी अध्यक्ष विनोद शर्मा न्यौपानेले सरकारले नारा अनुसारको काम गर्न नसक्दा चुनौती झनै थपिएको दाबी गरे । सरकारले दशौं राष्ट्रिय उद्योग दिवसको नारा ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ तय गरेको छ । बर्सेनि नारा परिवर्तन गरिए पनि त्यो अनुसारको सरकारले काम गर्न नसकेको उनले टिप्पणी गरे ।


संघ, प्रदेश र स्थानीय सरकारको टकरावको मार उद्योगी व्यावसायीले पनि भोग्नुपरेको उनको गुनासो छ । कार्यक्रममा उद्योग परिसंघ गण्डकी प्रदेशका सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख हिमालयन भण्डारी, पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठ, महिला उद्यमी चिनु गुरुङ लगायतले प्रदेश सरकारले उद्योगी, व्यावसायीको मर्मलाई ध्यानमा राखी नयाँ स्थापना गर्ने भनिएका उद्योग यथाशक्य चाँडो सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल प्राकृतिक प्रकोप, कोरोना महामारी जस्ता विविध कारणले प्रदेशका उद्योगी, व्यवसायीलाई उचित वतावरण प्रदान गर्न नसकिएको स्वीकार गर्छन् । उनले उद्योग, धन्दाको विकास नगरी देश समृद्ध नहुने भएकाले औद्योगिक सम्भावना पहिचान गरी उद्योगी र व्यवसायी सँगसँगै हिड्न आवश्यक भएकोमा जोड दिए ।


मन्त्रालयका सचिव कुमानसिंह गुरुङले छिट्टै प्रदेश औद्योगिक क्षेत्र बनाउने योजना सुनाए । प्रदेश स्थापनापछिको सरकारले प्रस्ताव गरेको पुँडीटार औद्योगिक क्षेत्र र लौकाहा खोला औद्योगिक क्षेत्र निर्माण प्रक्रियामा रहेको उनको भनाइ छ । सचिव गुरुङले मन्त्रालयको तर्फबाट ५ वर्षे उद्यमशील विकास रणनीति बनिरहेको उल्लेख गरे ।


१० उद्यमी सम्मानित
निर्देशनालयले १० औं राष्ट्रिय उद्योग दिवसको अवसरमा प्रदेशका १० विधामा उत्कृष्ट ठूला उद्यमीदेखि स्टाटप व्यवसायीसम्मलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा युवा व्यवसायी विधातर्फ पोखरा नुडल्स/पोखरा फुड्स प्रालिका श्रीराम पाण्डे, ठूला उद्योग, अधिक उत्पादन तथा रोजगार विधातर्फ सुजल फुड्स प्रालिका सुनिल श्रेष्ठ, पुस्तान्तरण पुराना व्यवसाय निरन्तरता विधातर्फ गण्डकी ह्युम पाइप/गण्डकी जीआइ वायर इन्डस्ट्रिज प्रालिका प्रतीक अधिकारी छन् ।


पर्यटन क्षेत्र विधाबाट रुपाकोट रिसोर्टका पुष्पराज अधिकारी, नवीनतम प्रविधि विधाबाट गोसली प्रिन्टिङ प्याक प्रालिका सुनील गोशली, वातावरण संरक्षण विधाबाट हिमालयन लाइफ प्लास्टिक उद्योगका प्रकाश भारती, हस्तकला विधाबाट जय सन्तोषी माताकी पम्फा थापा, कृषि विधाबाट कृषि पालुङ पोल्ट्री एन्ड फिसरीका डा आशेष भट्टराई र स्टार्ट अप व्यवसायी विधाबाट गाजा बेकरी तथा बिस्कुट उद्योगका चानसिंह श्रीस सम्मानित बने ।

तपाईको प्रतिक्रिया