लैंगिक हिंसा विरुद्धको अभियानको औचित्य

उषा बरुवाल २०८१ मंसिर १० गते १२:२२

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २५ नोभेम्बरदेखि १० डिसेम्बर २०२४ तदनुसार २०८१ मंसिर १० देखि मंसिर २५ गतेसम्म सरकारी तथा गैर सरकारी संघ, संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएका छन् ।

Advertisement


‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारा र Towards 30 Years of the Beijing Declaraction and Plateform for Action UNITE to end Violence Against Women भन्ने अन्तर्राष्ट्रिय नाराका साथ २०८१ को लैङ्गिक हिंसा विरुद्धको अभियानलाई निरन्तरता दिँदै छौ । लैङ्गिक हिंसा विश्वमा नै एउटा समस्याको रुपमा देखिएको छ । अविकसित मुलुकमा मात्र नभएर विकसित मुलुकमा पनि विभिन्न स्वरुपमा लैङ्गिक हिंसाका रुप देखिन्छन् । समानता, विकास र शान्तिको लक्ष्य प्राप्त गर्ने उद्देश्यमा लैङ्गिक हिंसा बाधक बनेको छ ।


सभ्य समाज निर्माणमा यो एउटा कलंकको रुपमा रहेको छ । समान्यतया लैङ्गिक हिंसा भन्ने शब्दले कुनै पनि व्यक्तिलाई लिङ्गको आधार उनीहरुको इच्छा विपरीत गरिने कुनै पनि कार्यलाई बुझाउछ । संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संस्थाको परिभाषामा शारीरिक, यौनिक तथा मानसिक रुपमा कुनै पनि व्यक्तिलाई लिङ्गको आधारमा दिइने यातना वा विभेदलाई लैङ्गिक हिंसा भनिन्छ ।


यसरी १६ दिनसम्म लैङ्गिक हिंसा बिरुद्धको अभियानमा लागि रहँदा यस अभियान अन्तर्गत जातजाति वर्ग सबै पक्षलाई यस अभियानले समेटेको छ । आ–आफ्ना पहिचान समेटेर सम्बोधन हुने १६ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । मानव अधिकारवादीहरुले यसलाई मानव अधिकार महाभेला वा पर्वको रुपमा मनाउँदै आएका छन् ।


यसै सन्दर्भमा संख्याको आधारमा ५० प्रतिशतभन्दा बढी रहेको महिला वर्गको पक्षमा यसको ऐतिहासिक पृष्ठभूमिलाई नियाल्दा प्रत्येक वर्षको नोभेम्बर २५ अर्थात मंसिर १० लाई महिला माथि हुने हिंसा विरुद्धको दिवसको रुपमा मनाउँदै आएको छ । यो दिवसको सुरुवात सर्वप्रथम ल्याटिन अमेरिकाबाट भएको भन्ने तथ्य भेटिन्छ । सन् १८८१ को नोभेम्बर २५ तारिखको दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउँदा निकै अनौठो मानिएको थियो ।

Advertisement


त्यही दिवसको शुरुवातपछि ल्याटिन अमेरिकाका महिलाहरु कस्ता कस्ता हिंसाबाट पीडित भएका छन् भन्ने कुरा पनि पहिचान भएको थियो । त्यति बेला महिलामाथि हुने घरेलु हिंसा देखि लिएर राजनीतिक बन्दी र राजनीतिक हिंसा शब्दले बहसको स्थान पाएको थियो ।


यो दिवसको सन्दर्भ डेमिनिकन गणराज्यको एकै परिवारका तीन दिदीबहिनीको हत्यासँग जोडिएको छ । मिरावल परिवारमा जन्मिएका यी दिदीबहिनी राजनीतिक कार्यकर्ता थिए । तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा उनीहरुको निर्मम हत्या गरेको थियो । जसलाई लिंगको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । पेट्रीया, मिनर्भा र मारिया नाम गरेका यी तीन दिदीबहिनी इनरिक रिमवल र मारीया मार्सडीज रेजको सन्तानका रुपमा डोमेनीका गणतन्त्रको सिवास भन्ने ठाउँमा जन्मिएका थिए ।

डेमिनिकन गणराज्यका एकै परिवारका तीन दिदीबहिनीको हत्यासँग जोडिएको यो अभियान नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइन्छ


विद्रोही स्वभावका यी दिदीबहिनीले तत्कालीन त्रुजिलो तानाशाहीको बिरुद्धमा लड्ने क्रममा आफूजस्तै लडाकूहरुसँग विवाह गरेका थिए । तत्कालीन सरकारले यी तीनै जनालाई राजद्रोहको आरोप लगाएको थियो र पटक पटक जेल हालेको थियो । तर पनि उनीहरुले तानाशाही सरकारको विरोध गर्न छाडेनन् । सन् १९६० मा निरंकुश सरकारको बिरुद्ध सशक्त आन्दोलनमा उत्रिने घोषणा गर्दै डोमेनिकाको एउटा सहरमा ठूलो सभा आयोजना गरियो ।


सो सभामा तिनै जना दिदीबहिनीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो तर राज्यको हस्तक्षेपको कारण यो सभा हुन सकेन र तीनै जना पक्राउ परे । निरंकुश राज्यले उनीहरुलाई राज्यको सबैभन्दा ठूलो समस्याको रुपमा घोषणा गरी पक्राउ गरेपछि २५ नोभेम्बर १९६० मा हत्या ग¥यो । यि मिराबल दिदीबहिनीहरुको हत्याले त्रुजिलो सरकार बिरुद्धको आन्दोलन अझ सशक्त बन्यो । यो हत्याकाण्डको एक वर्षभित्रै डोमोनिकनमा निरंकुश त्रुजिलो सरकारको अन्त्य भयो । यी दिदिबहिनीको हत्यालाई महिला बिरुद्धको चरम हिंसाको रुपमा लिइयो र उनीहरुको सम्झनामा बिभिन्न कार्यक्रम आयोजना गर्न थालियो ।


डोमेनिकन गणराज्यमा अहिले पनि थुप्रै गीत, कविता र पुस्तकहरु यी दिदीबहिनीहरुको बारेमा लेखिएका छन् । मुलुकप्रति यिनीहरुको योगदानको चर्चा मुक्तकण्ठले गरिन्छ । उनीहरुको प्रसंग चल्दा पनि त्यहाँ मानिसहरु रोमाञ्चित र भावुक हुन्छन् । उनीहरुको हत्या प्रसङ्ग विभिन्न मुलुक हुँदै संयुक्त राष्ट्र संघसम्म आइपुग्यो । सन् १९९९ मा डोमनिकन गणतन्त्र तथा अन्य ७४ वटा सदस्य राष्ट्रहरुले नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा उन्मूलन दिवसको रुपमा मनाउने प्रस्ताव राष्ट्रसंघमा पेश गरे ।


राष्ट्रसंघको महासभाले यसलाई छलफलमा ल्याई सन् १९९९ को १७ तारिखका दिन सर्वसम्मत रुपमा पारित गर्‍यो र संसारभर महिला हिंसा बिरुद्धको अभियान, दिवसको रुपमा मनाउन सुरु गरिएको हो । यसै अनुरुप नेपालमा पनि केही वर्ष अगाडिदेखि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मानवअधिकार हनन भएका मुद्धाहरुसँग जोडी विभिन्न अभियान सञ्चालन गर्ने गरिएको छ । यस पृष्ठभूमिबाट सुरु भएको अभियानलाई केहि समयदेखि हाम्रो सामाजिक संरचनाको विविधतालाई मध्यनजर राख्दै लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियानको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।


बरुवाल बियोन्ड बेइजिङ कमिटी गण्डकी प्रदेश अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया