सिन्फ—ए—आहनः वुमन अफ स्टिल

प्रमिला कुँवर २०८१ मंसिर ११ गते १३:०३

सिन्फ—ए—आहन एक पाकिस्तानी ड्रामा हो जसले महिलाहरुको सशक्तिकरण र सेनामा महिलाहरूको भूमिकालाई प्रस्तुत गरेको छ । यसको निर्देशन नादिम बागले गरेका हुन् भने लेखन उमेरा अहमदले गरेका हुन् । सन् २०२१ मा आएको ड्रामामा ७ वटा फरक पृष्ठभूमिबाट आएकी महिलाहरुको यात्रा देखाइएको छ, जो पाकिस्तानी सेनामा सामेल भएर आफ्नो जीवनलाई सुदृढ र स्वावलम्बी बनाउन चाहन्छन् ।

Advertisement


मुख्य पात्रहरुः यस ड्रामामा कुबरा खान, सजल अली, युमना जैदी, रम्सा खान, सायरा युसुफ, दनानिर मुविन, येहाली ताशिया कालनद्रन जस्ता प्रमुख कलाकारहरुले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । हरेक पात्रसँग आफ्नो संघर्ष र चुनौतीहरु छन्, र उनीहरू आफ्नो साहस र आत्मविश्वासले ती चुनौतीहरुलाई पार गर्छन् । उनीहरुको आ—आफ्नै कथाहरु रहेका छन् ।


कथाको विशेषताः सिन्फ—ए—आहनको कथा रूढीवादी धारणालाई चुनौती दिन्छ, जसमा महिलाहरूलाई कमजोर र घरायसी काममा मात्र सीमित मानिन्छ । ड्रामाले महिलाहरू कसरी आफ्नो सपना पूरा गर्न र देशको सेवा गर्न कठिन परिश्रम गर्छन् भनेर देखाएको छ । यसले दर्शकलाई महिलामा पनि बल र आत्मविश्वास हुन्छ, जसले उनीहरुलाई हरेक चुनौती सामना गर्न सक्षम बनाउँछ भन्ने प्रेरणा दिएको छ ।


समाजमा प्रभावः यस ड्रामाले महिलाहरुको प्रति सकारात्मक सोचलाई प्रोत्साहित गरेको छ र महिलाहरुलाई विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउन प्रेरित गरेको छ । पाकिस्तानी रुढीवादी परम्परालाई केहि हदसम्म चिर्ने प्रयास गरेको छ । दर्शकले पाकिस्तानी महिला तथा समाजका ती समस्याहरुलाई बुझ्न सक्छन्, जसले महिलाहरुलाई सेना वा अन्य क्षेत्रमा काम गर्न रोक्छ ।


ड्रामाको सिनेमाटोग्राफी उच्चस्तरीय छ । हरेक दृश्यलाई सूक्ष्मताका साथ खिचिएको छ, जसले ड्रामाको वास्तविकतालाई थप जीवन्त बनाएको छ । संगीत र ब्याकग्राउन्ड स्कोरले कथाको भावनात्मक पक्षलाई अझ प्रभावशाली बनाएको छ । यसकाे आइएमडिबी रेटिङ १० मा ८ छ जुन ड्रामाकाे गुणस्तरका हिसाबले धेरै राम्राे हाे । यसलाई युटुबमा हेर्न सकिन्छ ।

Advertisement


सिन्फ—ए—आहनको अर्थ बहादुर महिला (वुमन अफ स्टिल) भन्ने हुन्छ । यसको अर्थ साहसी, बलियो, र अडिग महिलाहरुको समूह हो । यो नामले ड्रामाका पात्रहरुको शक्तिशाली र साहसी चरित्रलाई संकेत गर्दछ, जसले सेनामा प्रवेश गरेर सबै चुनौतीहरुको सामना गर्छन् र आफ्नो आत्मविश्वासलाई पुनः स्थापित गर्छन् । नामले महिलाहरूको बलियोपन, साहस, र दृढताको प्रतीक जनाउँछ जसले यो शीर्षकलाई अझ गहिरो अर्थ दिएको छ ।

सिन्फ—ए—आहनमा मुख्य भूमिकामा रहेका ७ महिलाहरुको जीवन र व्यक्तित्व फरक—फरक छ, प्रत्येक पात्रको कथा प्रेरणादायी छ ।

ड्रामाले महिलाहरु कसरी आफ्नो सपना पूरा गर्न र देशको सेवा गर्न कठिन परिश्रम गर्छन् भनेर देखाएको छ । यसले दर्शकलाई महिलाहरुमा पनि बल र आत्मविश्वास हुन्छ, जसले उनीहरुलाई हरेक चुनौती सामना गर्न सक्षम बनाउँछ भन्ने प्रेरणा दिएको छ ।


१. महजबीन मस्तान (कुबरा खान): महजबीन एक उच्च वर्गीय परिवारबाट आएकी, ठूला सपना देख्ने महिला हुन् । उनको जीवन विलासी र सहजता बाँचिरहेकी हुन्छिन्, तर सेनामा गएपछि उनलाई कठिनाइहरूको सामना गर्नुपर्छ । सैनिक तालिमले उनलाई मानसिक र शारीरिक रूपमा बलियो बनाउँछ, र आफ्नो जिम्मेवारीलाई गहिरो रूपमा बुझ्न प्रेरित गर्छ । उनलाई श्रृंगारको रुचि हुन्छ, सेनामा गएपछि उनले सुन्दरता भनेकाे देश प्रेम तथा जिम्मेवारी हाे भन्ने बुझ्छिन् ।


२. रबिया सफीर (सजल अलि): रबिया एक अनुशासित र मेहनती महिला हुन् जसले सानैदेखि सेना प्रवेश गर्ने सपना देखिकी छन् । उनी सैनिक परिवारबाट आएकी छन्, जसले उनलाई सेनामा योगदान दिने उद्देश्यले प्रेरित गरेको छ । उनले आफ्नो लक्ष्य प्राप्त गर्न दृढ संकल्प र कडा मेहनत गर्छिन् । रबियालाई हाई फोविया हुन्छ तर उनले त्यसलाई पराजित गर्दै सेनामा भर्ति हुन सफल हुन्छिन् ।


३. साहिस्ता खानजादा (यमुना जैडी): साहिस्ता धार्मिक र परम्परागत परिवारबाट आएकी, स्वाभिमानी र अनुशासनप्रिय महिला हुन् । उनले आफ्नो आत्मविश्वास र इच्छाशक्तिका कारण हरेक चुनौतीको सामना गर्छिन् । सेनामा उनले आफ्नो क्षमतालाई प्रमाणित गर्छिन् र परम्परागत सोचलाई चुनौती दिन्छिन् । उनका परिवार सेनामा जाने उनको इच्छाको विरोधी भएपनि उनी भर्ती हुन सफल हुन्छिन् ।


४. परिवेश जमल (रम्सा खान): ड्रामाकी एक महत्वपूर्ण पात्र हुन् । उनी बलुच समुदायकी महिला हुन्, जो कठोर सामाजिक र सांस्कृतिक सीमाहरूका बाबजुद आफ्नो सपनाहरू पछ्याउँछिन् । परिवेशले आफ्नो बलियो इच्छाशक्ति र हिम्मतले समाजका परम्परागत मान्यताहरू तोड्दै सेनामा सामेल हुने निर्णय गर्छिन् ।


उनको पात्रले बलुचिस्तानको ग्रामीण क्षेत्रका मानिसहरूको जीवनशैली, चुनौतीहरू, र त्यहाँका महिलाहरूको संघर्षलाई झल्काउँछ । परिवेश साहसी, मेहनती, र आफ्नो लक्ष्यप्रति दृढ छिन् । उनको यात्राले विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूले पनि आफ्नो चाहना पूरा गर्न संघर्ष गर्न सक्छन् भन्ने प्रेरणा दिन्छ ।


५. आर्जु (सायरा युसुफ): आर्जु आधुनिक सोच भएकी युवा हुन् जसलाई आफ्नो विचार व्यक्त गर्न मनपर्छ । उनलाई चुनौतीहरू सामना गर्न रुचि छ र सेनामा गएर राष्ट्रसेवा गर्ने भावना छ । उनका विचारहरू परिवर्तन भएर उनी जिम्मेवारीप्रति सजग हुन्छिन् ।


६. सिदा सिद्रा (दनानिर मुविन): सिद्रा सरल र विनम्र पृष्ठभूमिबाट आएकी छन् । उनलाई सेनाको कडा प्रशिक्षणमा प्रवेश गर्न गाह्रो हुन्छ, तर उनको दृढता र इच्छाशक्तिले उनलाई नयाँ परिस्थितिहरुसँग अभ्यस्त बनाउँछ । उनी आफ्नो जीवनलाई सही दिशा दिन चाहन्छिन् र सेनामा आफ्नो स्थान बनाउन संघर्ष गर्छिन् ।


७. नाथमी परेरा (येहाली ताशिया कालनद्रन): नाथमी परेरा श्रीलंकाबाट पाकिस्तान आर्मीमा आएकी हुन्छिन् । उनी श्रीलंकन कलाकार हुन् । नाथमीको पात्रले अन्तर्राष्ट्रिय मित्रताको महत्वको, सम्बन्ध र संस्कृतिको विविधतालाई दर्शाउँछ । नाथमीले सांस्कृतिक, भाषिक भिन्नताका वावजुद साथीहरुसँग राम्रो सम्बन्ध बनाउँछिन् । नाथमीले पाकिस्तानलाई दोस्रो घर मान्छिन् साथै राम्रो सैनिक बन्ने उनको लक्ष्य छ ।


समीक्षाः सिन्फ—ए—आहनले महिलाहरुको कथालाई संवेदनशीलता र गम्भीरताका साथ प्रस्तुत गरेको छ, जसको प्रशंसा गरिनु पर्छ । केहीले यसलाई प्रचारात्मक सामग्री भनेका छन्, तर यसको बाबजुद पनि यसले समाजमा आफ्नो अलग स्थान बनाएको छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया