हिसान कास्की स्पोर्टस मिट: पहिलो दिन बास्केटबलतर्फ १४ खेल

समाधान संवाददाता २०८१ मंसिर ११ गते १३:१३

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा सुरु भएको १७ औं हिसान कास्की स्पोर्टस मिटको पहिलो दिन छात्र बास्केटबलतर्फ १४ खेल भएका छन् ।

Advertisement


प्रतियोगिताको पहिलो दिन पोखरा रंगशालास्थित बास्केटबल कोर्ट र पुन समाज बास्केटबल कोर्टमा गरी प्लस टुतर्फ १४ खेल भएको बास्केटबल खेल संयोजक खिमबहादुर गुरुङले जानकारी दिए ।


खेलमा पोखरा आदर्शले रेन्बो एकेडेमीलाई ४४–६ ले, बाल कल्याणले सिर्जना माविलाई ४१–१३ ले, ग्लोबल कलेजियटले सगरमाथा माविलाई ३१–२५ ले, सोसल पब्लिकले बालोदय माविलाई २९–१० ले, पोखरा युनाइटेडले बेथानीलाई २२–१४ ले, पश्चिमाञ्चल माविले गुरूकुल माविलाई ३५–१२ ले र करुणानिधि एजुकेसन फाउन्डेसनले डायमन्ड माविलाई २१–८ स्कोरले पराजित गरेका छन् ।


पुन समाजको कोर्ट रामघाटमा भएको छात्रतर्फको खेलमा हिल पोइन्टले जुनिएर सिटिजन एकेडेमीलाई निकै प्रतिस्पर्धात्मक खेलमा ३२–३१ को स्कोरले पराजित गरेको छ । त्रिवेणी माविले साइनिङ स्टारलाई ३७–२१, मनकामनाले वेलननलाई ३३–१६, स्टेप वाई स्टेपले मदरल्यान्डलाई २७–२३, माउन्ट अन्नपूर्ण माविले ज्योतिकुञ्जलाई ३४–२२, मेरीगोल्डले लिटल फ्ल्वारलाई २०–१४ र शान्ति निकुञ्जले अक्सफोर्डलाई १४–७ ले पराजित गरेका छन् ।


यसपालिको स्पोर्टस मिट मंसिर १४ गतेसम्म सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडी विभिन्न ४ खेलका छुट्टाछुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्ने छन् ।

Advertisement


हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको हिसान कास्की सचिव किरण सापकोटाले जानकारी दिए । प्रतियोगितामा मावि तह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुनेछ ।


छात्र बास्केटबलमा सर्वाधिक ३९ विद्यालयको सहभागिता छ भने छात्रातर्फ ११ टिम भिड्नेछन् । टेबुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेल हुनेछन् भने विद्यालयका ब्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी १ सय २४ खेल हुने छन् ।


विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रासमेत ८ टिमले सहभागिता जनाएका छन् । हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगिताका संयोजक याम रोक्काले बताए ।


उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा ४ हजारभन्दा बढी विद्यार्थीको सहभागिता हुने तथा २५ हजारभन्दा बढी विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीले जनाएको छ ।


प्रतियोगिता गर्न करिब २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ सिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गर्ने भएको छ ।


हिसान कास्कीले पोखरा रंगशालामा आयोजना हुने १७ औं सस्करणको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरिने भएको छ । प्रतियोगिता आज गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्ने तय भएको हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले बताए ।

तपाईको प्रतिक्रिया