स्याङ्जा कोल्मामा क्रस कन्ट्री दौड

पोखरा ।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना हुँदै आएको क्रस कन्ट्री दौड प्रतियोगिताले यो वर्ष पनि निरन्तरता पाउने भएको छ । मञ्चले पुसको ८ गते प्रतियोगिताको मिति तय गरेर पाचौं संस्करणको तयारीअघि बढाएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
खेलकुदमार्फत आन्तरिक र बाह्य पर्यटनलाई अघि बढाउन ५ वर्षअघि सुरु भएको क्रस कन्ट्रीमा यो वर्ष ४ वटा विधामा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष दुतप्रसाद गुरूङले जानकारी दिए । प्रतियोगिता अन्तर्गत २५ किमी पुरुष, १० किमी महिला, १० किलोमिटर (२१ वर्ष मुनिका खेलाडीमात्र) र ५ किलोमिटरको विद्यार्थी दौड हुनेछ ।
२५ किलोमिटर पुरुषको मुख्य इभेन्टतर्फ प्रथमलाई नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । सोही विधामा दोस्रो र तेस्रो हुने धावकले क्रमश नगद ४० र ३० हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र पाउनेछन् ।
१० किमी महिला र २१ वर्ष मुनिका खेलाडीको प्रतिस्पर्धाका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५, १० र ५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । विद्यार्थी दौड समुहमा प्रथमलाई १२ हजार, द्वितीयलाई ८ हजार र तृतीयलाई ४ हजार रुपैयाँको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा दशौं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
१२ लाखभन्दा बढी खर्च अनुमान गरिएको प्रतियोगितामा ३ सयभन्दा बढी धावकको सहभागिता हुने अपेक्षा गरिएको मञ्चका सचिव जीवन थापाले बताए । स्याङ्जा पुतलीबजार वडा नं ९ सात सय कोल्मा बहाकोटलाई खेलकुदमार्फत अघि बढाउन सुरु गरिएको क्रस कन्ट्रीले गाउलेहरुको सोच परिवर्तन गराएको मञ्चका अध्यक्ष गुरुङले बताए ।
सहर पसेका गाउँलेहरुले गाउँमा पर्यटकीय सम्भावना खोजी गर्न थालेको उनले सुनाए । पर्यटन राम्रो सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभाव भोगिरहेको कोल्मा र आसपासका गाउँमा ५ वर्षअघि प्रतियोगिता सञ्चालन गरेपछि पर्यटकको संख्या बढिरहेको उनले बताए ।
प्रतियोगितामा सहभागी खेलाडी र दर्शकका लागि स्थानीय कला, संस्कृति पनि प्रस्तुति रहने सचिव जीवन थापाले जानकारी दिए । सात सय कोल्मा बहाकोटका रुपमा परापूर्व कालदेखि नै परिचित त्यस क्षेत्रका गाउँहरुमा सोरठी, घाटु, झोरा, भजनकीर्तन, पञ्चेबाजामा रमाउन पाइने उनले बताए ।
तपाईको प्रतिक्रिया