
एकै याममा पोखराको सेरोफेरोमा रहेका सबै डाँडा–काँडाबाट पोखरालाई नियाल्ने जोश चल्यो । साइकलको सारथी बन्ने आँट गरें । पुम्दीकोटमा भर्खरै स्थापित भूमेश्वर महादेवसँग आशीर्वाद लिइ थालें साइकल यात्रा । मलाई यो यात्राले पोखरा उपत्यकालाई चारै दिशाबाट अवलोकनमात्र गराएन कि पोखरा महानगरका ३३ वटै वडाहरु पुर्याउँदै कास्कीका ४ वटै गाउपालिकासम्म घुमायो ।
पेसाले कलेज शिक्षक म, यसपालिको दसैंतिहारको लामो छुट्टीको सदुपयोग गरें भन्ने लाग्छ । हरेक दिनका गन्तव्य आफैं तय गर्यो, बिहानी खाजा घरमै खायो, झोलामा केही बन्दोबस्तीका समान हाल्यो, कुदायो साइकल अनि पुग्यो गन्तव्यमा । क्या मनमौजी भई कुदें, एक महिना बढी दिन, घरपरिवारले जहिल्यै साथ दियो । थ्यांक यु नानु, थ्यांक य ब्योइज, लभ यु आमा !
खत्रै जोस्सिएछु क्यारे, पहिलो दिनमै पुम्दीकोट पुग्दा बाटोमा साइकल रोकी आरम गर्नु परेन । त्यहाँबाट तल फेदीमा रहेको फेवाताललाई साक्षी राखी ठ्याकै उत्तरमा भएको माछापुच्छ्रेलाई सोधें, ‘के म सक्छु पोखराका सबै डाँडाकाँडा साइकलमा घुम्न ?’
झट्ट माछापुच्छ्रेले मुस्कुराउँदै भन्यो, ‘कोसिस गर, म तिमीलले चाहेका सबै गन्तव्यमा पुग्न साथ दिने छु । तिमी जहाँ पुगौंला, म त्यहाँ आउँला ।’अर्काे दिनको गन्तव्य तय भयो धम्पुस । बाटो रोजें, हेम्जा मेलबोट झिझिर्काको । झिझिर्कासम्म बाटो कालोपत्र बनेको रहेछ । त्यहाँ बाट कच्ची बाटो, पूरै अस्तामको बाटो काटेर धिताल पुग्नु पर्यो फेरि कालोपत्रे बाटो भेट्न । फाट्टफुट्ट बाटोमा भेटिने स्थानीयसँग दाइभाइ, आमाबाबा, वा दिदीबहिनीको नाता लगाउँदै पुगें, ह्याम्जाकोट । ह्याम्जाकोटबाट माछापुच्छ्रे बेहत्तर देखिन्छ ।
माछापुच्छ्रेको टुप्पोदेखि तल फाँटसम्मको सग्लो डाँडा यहिँबाट देखिन्छ । ह्याम्जाकोटमा एउटा माछापुच्छ्रे भ्यु पोइन्ट राखे पनि हुने । ह्याम्जाकोटबाट फेरी जाँगर थपेर लागें सुनसान जंगलको बाटो, पुग्नु छ धम्पुस । ह्याम्जाकोटबाट धम्पुस नपुगिञ्जेलको जंगलको उकालो बाटोमा कोही कसैलाई भेटिन मैले । दुई/चार सर्पले बाटो काटे बरु, नत्र अरु कोही केही भेटिएनन्, लाग्छ त्यो बाटो मान्छे खुट्टाले हिँड्न छोडे, खुट्टाले हिँडेर नजाने बरु भरे गाडीमा (जिपमा) जाने पो भन्दा रैछन् जनताहरु ।
केही समयको जोडबलपछि गाउँको वासना आयो । उपल्लो धम्पुस (गुरुङ गाउँ भन्ने रैछन् ) मा पुगी खाजाघर चाहरें, कतै खाजा मिलेन, बरु तल्लो धम्पुस (बाहुन गाउँ भन्ने रैछन्) गएमा खाजा पाउला भनी सुझाए । त्यसै गरें, बाहुन गाउँ झरें, मोही÷मकै खाएँ, घट्टेखोलाको बाटो हुँदै घर आएँ ।
अब हरिपाऊ ढिकीडाँडा । पहाडै पहाड साइकल कुदाउने एक हिसाबले साहसिक क्रियाकलाप अन्तर्गत पर्दछ । तैपनि गन्तव्य पुग्न सजिलो बाटो कुन होला भनी सोधिहालिन्छ नै । लामाचौर पानी ट्यांकीको बाटो सजिलो छ भन्ने बुझ्नमा आयो र सोही बाटो पछ्याउदै अगाडि बढेँ । हरिपाउसम्मको बाटो राम्रो हो, घार्मी ढिकीडाँडाबाट उत्तर तर्फको माछापुच्छ«े सहितको हिमशृंखला काखैमा आए जस्तो । तल हेर्यो उत्तरी पोखरा उस्तै राम्रो । फर्किंदा गल्र्याङ गाउँतिरको बाटो रोजें । उफ् ! बाटो खत्तम बिग्रिएको, ओरालो बाटोमा पनि साइकल काधमा बोकेर हिँडेको सम्झिरहन्छु ।
घडीको सुई घुम्ने दिशामै अगाडि बढिरहेको म । अबको साइकल यात्राको गन्तव्य अर्मलाकोट बनाउँछु । भलाम हरिहर गुफाको बाटो सजिलो लाग्यो । अर्मलाकोटबाट पोखरा ठ्याकै दक्षिणी कोणमा देखिन्छ । कोट गाउँका धेरै घर रित्ता देखिए, डाँडामा भएको स्कुल कति राम्रो बनाएका, तर विद्यार्थी छैनन् रे । स्कुलसँगै जोडिएको घरको दिदीले त आफ्नो बच्चा पढाउने कोठा भाडामा लिएर तल जोगिमणिमा बस्नुहुन्छ रे । गाउँ रित्तिदै, स्कुल थोत्रिँदै । मन भारी बनाउँदै अर्मलाको बाटो कालिखोला झरी महेन्द्रगुफा हुँदै घर आएँ ।
अबको यात्रा आफ्नै जन्मथलो, भलाम–मौजाको सेरोफेरो । मणिपाल फूलबारीबाट सुरु भएको यात्रा ¥यालेचौरको एक्लेखेतबाट उँभो लागेको थियो । बिसौनी गाउँ उक्लेर लामो सुस्केरासँगै जन्मघर र कखरा सिकेको स्कुल नियाल्दा कहाँबाट कहाँ पुगें म । त्यसो त आफ्नो जन्मस्थान अनि आफ्नो देशको माया नहुने को पो होला र ?, म पनि ।
माछापुच्छ्रेले मसँग धर्म छाडेन, म जुनसुकै गन्तव्यमा पुग्दा पनि माछापुच्छ्रे हिमाल टुप्लुक्क समीपमै आइपुग्थ्यो
यो यात्राले आँटीघर, मौजा, मोहरिया, लाम्डाँडा अनी आर्बा कसेरी हुँदै घर ल्यायो । यो यात्राले काहुँडाँडालाई एक फन्को मार्यो । प्यारो काहुँडाँडा पनि भोलिपल्टै पुगेर काहुँकोटको देवी मातासँग थप आशीर्वाद लिएँ । लगत्तै आर्बा पनि पुग्न मन लाग्यो, अर्काे दिन आर्बा टप पुगें ।
अब ज्यान मादी गाउँपालिका पुग्छ, यानेकि याङ्जाकोटलाई चुम्छ । विजयपुरको पुल पार गरी चितेपानी डाँडाबाट हेर्दा ए त्यही पारि डाँडा त हो नि भन्ने लागेको थियो । भैंसेमा मादी खोला पुल तरी लागेको उकालो तारकाङ नपुगुञ्जेल खासै केही हो जस्तो लागेन पनि, जब माझडिही आयो, बाटो पनि कच्ची आयो, एकपाटे घामले पनि ठोक्नु ठोक्यो । कच्ची बाटोले धेरै ठाउँमा लढाउन खोजे पनि आफ्नो गन्तव्यमा पुगिछाड्यो ज्यान । याङ्जाकोट बडो व्यवस्थित गाउँ लाग्यो मलाई ।
याङ्जाकोटबाट सामुन्नेमै देखिने, देउमाडी ठूलाकोट, अबको गन्तव्य । लेखनाथ विजयपुरबाट टाइगर टप अर्घौं कालिका हुँदै देउमाडी पुग्नु अहिलेसम्मका यात्राहरुमा सबैभन्दा सजिलो लागेको यात्रा हो । ठूलाकोटसम्मै कहिं, कतै बाटो बिग्रिएको छैन । रुपा, बेगनाससँगै लेखनाथका अन्य ताल तलैयाहरु एकै ठाउँबाट देख्न सकिने रमणीय ठाउँ हो रहेछ, ठूलाकोट ।
यसपछिको अर्काे दिनको गन्तव्य बन्यो, बेगनासकोट । कोट पुग्न अर्घौंकालिका बाटै सौरे माझठाना हुँदै गएको थिएँ । यहाँ माझठानाको बाटोले अलि दुख पाएको रहेछ । म बेगनासकोट पुग्दा त्यहाका केही स्थानीय कोटको देवी मन्दिर सिँगार्दै र कोट वरपर सरसफाइ गर्दै थिए । यस्तो यात्रामा स्थानीयसँग गफिन पाउँदा छुट्टै आनन्दको महसुस हुन्छ मलाई । फर्किंदा बेगनास गाउँलाई एक फन्को मारेर तल भञ्ज्याङ अनि पचभैया हुँदै घर आइयो ।
बेगनासकोटबाट फर्कदा नै योजना बनाइसकेको थिएँ कि अब रुपाकोट जाने, त्यो पनि रुपाताल माथिको झोलुङे पुल तरेर । उसै गरेको, तर गल्ती भएछ । यो बाटो यसरी एक्लैदुक्लै हिँड्ने भइसकेको रहेनछ । पुल तरेर पारि खराबारीको बाटो मृग र चितुवाको पेलाइमा झन्डै परिनँ । चितुवाले मृगको शिकार गर्न लखेटेको हुनुपर्छ, दुबै मेरै आँखा अगाडिबाट हुत्तिए, म हेरेको हेर्यै ।
केही भएको भए, म कोसँग गुहार माग्थें होला त्यो सुनसान बाटोमो ? ज्यान हल्का चिसो भएको पाएँ र पनि अगाडि बढें, आफ्नै रफ्तारमा । अगाडि पिचबाटो पहिल्याई साइकलका पेडल घुमाउदै रुपाकोट पुगें । त्यहाँबाटै फर्किन मन मानेन र मियागाउँ भनि चिनिने भिर्चाेक, अझ पर मोहरिया र थुम्कीसम्म पुगी फर्कंदा अलि ढिलो भयो ।
एक पाखाका पोखरेली अग्ला डाँडाहरु भ्याइए । अब निर्मलपोखरी÷भरतपोखरी । एक दिनको बिहान, दोबिल्ला बागमाराको बाटो हुँदै गैह्रागाउँ उक्लें । त्यो दिन मलाई झरीले सकस दिन खोज्यो । झोलामा सधै बोकिरहेको रेनकोट आझ खास काम लाग्यो । गैह्रागाउँ, शिवालय, फोक्सिङ, दोपहरे हुँदै फुस्रेखोलाको बाटो घर फर्कें । त्यतिबेला दृश्यपानको मज्जा लिन पाइएन, पानी पनि पर्यो, मौसम पनि ढुस्सियो ।
पोखराको दक्षिण–पश्चिममा अझै एक डाँडा छ, मट्टीखान । मट्टीखानका लागि बाटो रोजें, फुस्रेखोला रामदी एकहाते तिरको । यो गन्तव्य पनि साइक्लिङका लागि औधी गज्जबको छ । मट्टीखानको शीरबाट पोखराको खास दृश्य देखिन्छ । म त भन्छु, मट्टीखान जहाँ मोबाइलको टावर राखिएको छ, त्यो ठाउँलाई पोखरा भ्यु पोइन्ट नै घोषणा गरिदिए हुन्छ सरकार । फर्किंदा, स्याङ्जा कुभिन्डे तिरबाट फर्कें, रामकोट मैदानमा थरिथरीका पिङ हाल्दा रहेछन्, दसैं तिहारमा ।
पुम्दीकोट यो यात्राको सुरुको गन्तव्य हो । उसो भए भुम्दीकोट किन नजाने ? अबको यात्रा भुम्दीकोटको । सिद्धार्थ राजमार्गको खाडेखोला नजिकैबाट उक्लिएर कालाबाङ, भुम्दी हुँदै भुम्दीकोट पुगें । फर्किँदा भने कालाबाङ शिरान, पुम्दीकोट, शान्ति स्तूप, छोरेपाटन । आहा डाँडडाँडै साइकल कुदाउनुको मज्जा शब्दमा के व्यक्त गर्न सकिन्थ्यो र ?
यसरी पोखरा उपत्यकालाई घेरा हालेका सबै डाँडामा एक सर्कल लगाएँ, साइकल चढी । अब मलाई यो यात्रा टुंग्याउनु छ, तर कुनै खास ठाउँ पुगेर । त्यो खास ठाउँ पञ्चासे (उचाइ २५१७ मिटर) हो । नेपालकै एक जैविक, ऐतिहासिक, तथा धार्मिक स्थल । पञ्चासे कास्की, स्याङ्जा, र पर्वत जिल्लाको संगमस्थल पनि हो । साथीभाइले पञ्चासे साइकल यात्रा दुई दिनको भनी सुझाउनु भएको थियो, म भने बिहान झिसमिसेमा निस्किएको साँझ गोधुली हुँदै गर्दा घर आइ पुगेको थिएँ ।
रोजेको बाटो हो पामे, घाटिछिना, दमदमे, कुद्बीडाँडा, सिधाने हुँदै डाँडाखर्क भञ्ज्याङ । भन्ज्याङबाट माथि साइकल चलाउने बाटो छैन । जंगलभित्रको सबै सिँडीको बाटो हो । यसलाई सुनाखरी पदमार्ग पनि भनिन्छ । अहिलेसम्मका सबै यात्राका गन्तव्यमा साइकल पुर्याएको यहाँ पञ्चासेसम्म नपुर्याउँ कसरी ? मनले मानेन ।
बोकें साइकल काँधमा, चढें उकालो, पुगें पञ्चासे सिद्धबाबा मन्दिर परिसरमा । न त्यत्रो उकालो उक्लिदा कोही भेटियो, न मन्दिरमा कोही भेटियो, न त ओरालो झर्दा नै । अचम्म, त्यत्रो जंगलको बाटो, एक्लै गएँ, घुमेँ र एक्लै फर्किएँ, त्यो पनि साइकल काँधमा बोकेर ।
यसपालिलाई आँटेको साइकल यात्रा सफलरुपमा टुंगियो तर मनमा केही कुरा खेलिरहेका छन् । रहरलाग्दो गरी विकास गाउँ छिर्दो छ, तर गाउँ रित्तिदै छन् । पोखरा महानगरको सडक सञ्जाल वरपरका लगभग सबै डाँडाकाँडाहरुमा पुगिसकेको रहेछ । गाउँपालिकाहरु भने आफ्नो सडकको स्तरान्नतिमा लागिरहेका भेटिए । एउटा कुरा, पोखरा महानगर पालिकाले आफ्ना छिमेकी पालिकाहरुसँग सुमधुर भातृत्व स्थापनार्थ परियोजनाहरु सञ्चालन गर्न सके कस्तो गज्जब हुन्थ्यो होला है ? जाने थियौं नि हामी, त्यस्ता परियोजना अवलोकन गर्न, साइकल चढी । आझै अर्को कुरा नढाँटी भनौं ? माछापुच्छ्रेले मसँग धर्म छाडेन, म जुनसुकै गन्तव्यमा पुग्दा पनि माछापुच्छ्रे हिमाल टुप्लुक्क समीपमै आइपुग्थ्यो ।

तपाईको प्रतिक्रिया