बेनी–जोमसोम सडक अवरुद्ध

समाधान संवाददाता २०७६ भदौ २३ गते १४:१६

समाधान संवाददाता, म्याग्दी

बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेको छ । सडक खण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि यातायातका साधानको आउजाउ अवरुद्ध भएको हो ।

पहिरोले सडकको करिब १३ मिटर आधार नै भत्काएकाले डोजरको सहायताले मर्मतको तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिए । पहिरोकै कारण पैदलयात्रु आउजाउ गर्न पनि कठिन भएको छ ।

Advertisement

भत्किएको सडक सोमबारसम्ममा सुचारु गराउने गरी मर्मतको काम अघि बढाइएको शेरचनले जनाए । सडक अवरुद्ध बनेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा आवतजावत गर्ने सवारी साधन बीच बाटैमा रोकिएका छन् । मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणलाई सास्ती भएको छ ।

भिरालो जमिन, भूमिगत पानी, कमजोर भू–बनावटका कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत विभिन्न समयमा खसेको पहिरोले समस्या सडक अवरुद्ध हुँदै आएको छ । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नतिमा डोजर, स्काभेटर, ब्रेकर प्रयोग गरिएका स्थानमा ढुंगा खस्दा यात्रामा समस्या समेत हुने गरेको छ । हिलाम्मे सडक, सडकमाथिको भीरबाट खस्ने ढुंगा र पहिरोले यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्ने गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया