सम्पादकीय—जीवनोपयोगी र व्यावहारिक शिक्षा जरुरी

समाधान संवाददाता २०८१ मंसिर १२ गते ११:५२

शिक्षा जीवनोपयोगी हुनुपर्छ भनेर हामीले प्राथमिक कक्षादेखि पढ्दै र सुन्दै आएको हो । गुरुहरु खुब मेहनत गरेर घाँटी सुक्नेगरी पढाउँछन् । विद्यार्थीले कति सिके कति बुझे भन्दा पनि कक्षा कोठा कति शान्त भयो भन्नेमा गुरुहरुको ध्यान केन्द्रित हुन्छ । सरकारले पनि जीवनोपयोगी शिक्षाका लागि निकै रटान लिइरहेको छ । त्यसका लागि अलग्गै संस्थाहरु पनि खुलेका छन् । तर मुलुकलाई सुहाउँदो जनशक्ति पर्याप्त मात्रामा उत्पादन हुन सकेको छैन । कक्षामा सिकेका विषयलाई व्यवहारमा कसरी उतार्ने भन्ने बारेमा न सिक्ने न सिकाउने तत्पर छन् । हातमा स्नातकोत्तर तहको प्रमाणपत्र छ, तर उसँग केही सीप छैन, त्यस्तो प्रमाणपत्रको के काम ? त्यसो त पछिल्ला दिनमा यसबारेमा सरकार र सरोकारवालाहरुले केही चासो भने देखाउन थालेका छन् ।

Advertisement


नर्वेको बर्गनस्थित असना लोक हाई स्कूलमा ३५ वर्षदेखि पढाइरहेकी सोलगन स्टाइभ मिलेसम्म नेपाल आउँछिन् त्यो पनि विद्यार्थीहरुलाई लिएर । जहाँ उनले विद्यार्थीहरुलाई जीवनोपयोगी विषयमा अभ्यास नै गराउँछिन् । नर्वेमा कक्षा १२ सकिएपछि विश्वविद्यालय जानुअघि १ वर्षको ‘लाइफस्किल’ (जीवनोपयोगी सिप) सिक्नुपर्ने व्यवस्था नर्वे सरकारले गरेको छ । लोक हाई स्कुलले ‘लाइफ स्किल’ मध्ये एड्भेन्चर रोज्नेहरुलाई विश्व भ्रमण गराएर कक्षा लिन्छ । त्यसैका लागि सोलगन नेपाल आइन् । अनि विद्यार्थीहरुलाई पहाडहरूमा माथिमाथि हिँड्ने अनि प्रकृतिसँग रमाउन उनले सिकाइन् । उनले रोजेको ठाउँ थियो मर्दी पदयात्रा ।

उनीहरुले नेपाल र नेपाली पढे । नेपालीहरुको सरलपनबाट उनीहरु पुलकित भए । विद्यार्थीहरु धेरै मिलनसार व्यक्तिहरु भेटेर आनन्दित भए । नेपाल आउनुअघि थाइल्यान्ड पुगेका उनीहरु फर्किएपछि कतारका केही ठाउँहरु घुम्ने कार्यतालिका छ ।
हो पढाइ भनेको यस्तो पो हुनुपर्छ । भनिन्छ नि पौडी खेलका बारेमा वर्णन गर्न सहज छ । अरु पौडी खेलेको देख्दा पनि ए सजिलो पो हुँदो रैछ भनिन्छ । साँच्चै खोलामा वा पोखरीमा पसेर पौडी खेल्नका लागि त सीप आवश्यक पर्छ नि । हो, ती नर्बेका विद्यार्थीलाई गुरुआमाले पदयात्राका बारेमा धेरै पढाइन् ।

पढ्दा र सुन्दा जति आनन्द आएको थियो, त्योभन्दा बढी आनन्द पदयात्रा गर्दाखेरि भयो । जुन अनूभूति ७ समुद्र पारिबाट नेपाल आएर ती विद्यार्थीले महसुस गर्न पाए । नेपालमा विद्यालयको आधारभूत तहदेखि विश्वविद्यालयमा जीवनोपयोगी शिक्षाका बारेमा पढाइ हुन्छ । तर त्यसलाई व्यवहारमा उतार्न सकिएको छैन । यसका लागि सरकार, सम्बन्धित संघसंस्था र सरोकारवालाहरु बेलैमा सचेत हुन जरुरी छ । सिप सिक्न सकेमा कोही बेरोजगार बस्नै पर्दैन । स्वरोजगार बनेर अरुलाई समेत रोजगारीको अवसर प्रदान गर्न सकिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया