मुस्ताङमा १६ दिने अभियान जारी

जोमसोम ।
हिमाल पारीको जिल्ला मुस्ताङमा सोमबार सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सामाजिक विकास कार्यालय मुस्ताङको संयुक्त आयोजनामा जोमसोममा सोमबार प्रभातफेरीसहित कोणसभा आयोजना गरी अभियान आरम्भ गरिएको हो ।
लैंगिक हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विश्वका २३ देशका उत्साहित महिला अधिकारकर्मीको समूहले यस प्रकारको अभियान थालेको थियो । त्यसपछि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा यसलाई मनाउने गरिएको छ ।
‘हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता’ भन्ने नाराका साथ मुस्ताङमा अभियान शुभारम्भ गरिएको हो । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सामाजिक विकास कार्यालय, घरपझोङ गाउँपालिका, नागरिक समाज, महिला अधिकारकर्मी संघ, संस्था, शिक्षक, विद्यार्थी, कर्मचारी,प र्यटन व्यवसायी, यातायात व्यवसायी एवं पत्रकार प्रभातफेरीमा सहभागी थिए ।
प्रभातफेरी मुस्ताङको जोमसोम बजार, पुथाङ एअरपोर्ट हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले सामाजिक न्यायका लागि लैंंगिक हिंसालाई अन्त्य गर्नतर्फ सबै निकाय सचेत हुनुपर्ने धारणा राखे । महिला, पुरुष र तेस्रो लिंगीका आधारमा कसैले पनि सामाजिक तथा व्यक्तिगत विभेद गर्न नपाइने उनले बताए ।
समाजमा कुनै पनि हिंसा भएमा त्यसको उपचारका लागि स्थानीय तहको न्यायिक समिति वा कानुन कार्यान्वयन गर्ने निकायमा जानुपर्ने घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थकालीले उल्लेख गरिन् । ‘हिंसा सहेर बस्नु हुँदैन, हिंसा सहेर बस्नु अर्को अपराध हो,’ उपाध्यक्ष थकालीले भनिन्, ‘समाजमा हिंसामूलक सबै खाले वेथिति परास्त गर्न हिंसाका घटना बाहिर ल्याउन अपरिहार्य छ ।’
उपाध्यक्ष थकालीले लैंगिक हिंसा अन्त्यको सुरुवात आफैंबाट हुनुपर्नेमा जोड दिइन् । मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले समाजमा देखिने कुनै पनि हिंसाका घटना क्षम्य नहुने बताए । समाजमा जाति, धर्म, भाषा, संस्कृति, लिंग, शारीरिक अवस्था, भौगोलिक अवस्था, आर्थिक अवस्था र पेशागत अवस्थाको कारण देखाएर हुने सबै खाले हिंसाले भेदभाव र विभेद सृजना गर्ने उनको भनाइ छ ।
अभियानमा मुस्ताङका महिलाले ऐक्यवद्धता जनाएका छन् । हिउँद यामको चिसोको परवाह नगरी महिला अधिकर्मी तथा सरोकारवाला ३ किलोमिटरसम्म प्रभातफेरीमा सहभागी बने । मुस्ताङमा अन्य जिल्लामा जस्तो लैंगिक हिंसाका घटना हुने गरेको प्रहरीको रेकर्ड छैन । मुखिया प्रणाली रहेको मुस्ताङमा यस प्रकारका हिंसा समाजमै सुषुप्त रहेको हुन सक्ने बताइन्छ ।
तपाईको प्रतिक्रिया