तोकेको संख्या भन्दा बढि राखिएका सिट निकालेपछि जीप चालककाे विरोध

समाधान संवाददाता २०७६ भदौ २३ गते १४:३६

समाधान संवाददाता, दुलेगौंडा

ट्राफिक प्रहरीले तोकिएको सिट संख्या भन्दा बढि राखिएका सिट निकालेपछि जीप चालकले विरोध गरेका छन् । उनीहरुले आइतबार शुक्लागण्डकी नगरपालिकामा सवारी लगेर विरोध जनाएका हुन् । नगर प्रमुखको ध्यानाकर्षण गराउन जीपसहित डेलिगेसन गएका हुन् ।

दुलेगौंडाहुँदै विभिन्न क्षेत्रमा चल्ने करिव ४० वटा जीप नगर पसिसरमा लगेका हुन् । सिट क्षमता अनुसार राखेर सञ्चालन गर्दा जीप चलाउन नसकिने बताउँदै उनीहरुले व्यवसायबाटै विस्थापित हुने बताए । दुलेगौंडाबाट दैनिक ७०÷८० वटा भाडा तथा निजी सवारीसाधन ढोरफिर्दी हुँदै स्याङ्जाका विभिन्न स्थानमा आवत जावत गर्ने गर्दछन् । यसमध्य करिव ४५ वटा जीप मात्रै छन् ।

Advertisement

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङको कार्यकक्षमै चालक तथा व्यवसायीको समस्या बुझिदिन आग्रह गरेका थिए । मेयर गुरुङले कानुन विपरितका कार्यलाई स्थानीय तहले प्रोत्साहन गर्न नसक्ने बताए । उनले चालक तथा व्यवसायीलाई सम्बन्धित निकायबाट सिट क्षमता बढाउनतर्फ लाग्नुपर्ने उल्लेख गरे ।

इलाका प्रहरी कार्यालय बेलचौतारा अन्तर्गत रहेको ट्राफिक पोस्टका प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक प्यामनारायण पौडेलले सवारी ऐन विपरित कार्य गर्ने सबैलाई कार्वाही गरिने प्रष्ट पारे । उनका अनुसार ८ वटा जीपमा सिट संख्या बढि रहेका सिट निकालिएको छ । साथै ती साधनको छतसमेत निकालिएको छ । ‘अहिले करिव ७५ प्रतिशत जीपको तोकिए भन्दा बढि रहेका सिट चालक आफै निकालेका छन्,’ उनले थपे, ‘हामीले यातायात कार्यालयबाट जारी भएको बील बुकमा उल्लेख भएको सिट संख्यालाई कार्यान्वयन गरेका हौं ।’

Advertisement

ट्राफिक प्रहरीले यस क्षेत्रमा भाडा र निजी सवारी साधनमाथि पछिल्लो समयमा निगरानी बढाएको छ । ढोरफिर्दी हुँदै तनहुँ र स्याङ्जाका विभिन्न क्षेत्रमा यात्रुहरु छतमा बस्ने गरेका, क्षमता भन्दा बढि यात्रु र तीव्र गतिका कारण दुर्घटनाको जोखिम बढेकाले कार्वाही गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक पौडेलले जानकारी दिए । प्रहरीले यात्रु ओसार्ने रातो प्लेटका सवारीलाई समेत कार्वाही गरेको छ ।

तपाईको प्रतिक्रिया