लमजुङको सुन्दरबजारमा सहकारी सम्बन्धी अभिमुखीकरण

समाधान संवाददाता २०८१ मंसिर १३ गते ५:५०

पोखरा । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयक एकदिने अभिमुखीकरण अन्तर्क्रिया गोष्ठी मंगलबार भएको छ।

Advertisement

कार्यक्रममा सहकारी रजिष्ट्रार भेषराज रिजालले सहकारी कानुन तथा सहकारी संस्था र सञ्चालकले निर्वाह गर्नुपर्ने भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। शाखा अधिकृत चोलाकान्त वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण, गण्डकी प्रदेशमा सहकारीको अवस्था तथा कोपोमिस प्रणाली सम्बन्धी कार्यपत्र र प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सुन्दरबजार नगरपालिकामा सहकारी सम्बन्धी अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद कोइराला, जिल्ला सहकारी संघ लि., लमजुङका अध्यक्ष विजय गुरुङ र बचत तथा ऋण संघ लि., लमजुङका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन सहकारी रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत ईश्वरी ढकालले गरेकी थिइन् भने व्यवस्थापन सहजीकरण अधिकृत (छैठौँ) महेश पौडेलले गरेका थिए।

नगरप्रमुख कृष्ण प्रसाद कोइरालाले सहकारी संघ संस्थाले आफ्ना कार्यको समीक्षा गर्दै ऋण उठाउन सकिने गरी लगानी गर्नुपर्ने धारणा राखेका थिए। उनले सहकारीको रकम अपचलनका कार्यले देशै हल्लिरहेको चर्चा गर्दै सहकारिताको मर्म अनुरूप सहकारी संस्था सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए।  

कार्यक्रममा जिल्ला सहकारी संघ लि., लमजुङका लेखा सुपरीवेक्षण समितिका संयोजक नारायण प्रसाद घिमिरे, बचत तथा ऋण संघ लि., लमजुङका सचिव रामजी कडेँल, सहकारीकर्मी सूर्यकान्त अधिकारी समेतले सहकारीको जगेडा कोष, सहकारी संस्थाको अद्यावधिक/नवीकरण, ऋण असुली प्रक्रियामा स्थानीय तहले गर्नसक्ने सहयोग आदि विषयमा जिज्ञासा, सुझाव र प्रतिक्रिया राखेका थिए।  

कार्यपत्रमा सहकारी संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी, व्यवस्थापक समेतका जिम्मेवार पदाधिकारी र शेयर सदस्यका काम, कर्तव्य र दायित्व बारे चर्चा गर्दै सहकारीको विधायिकी अङ्ग साधारणसभाको उद्घाटन कार्यक्रममा मन्तव्य लगायतको औपचारिक कार्यक्रम सङ्क्षिप्त रूपमा गरी सहकारीका शेयर सदस्यहरूसँग प्रस्तावका विषयहरूमा प्रभावकारी छलफल गर्नुपर्ने, साधारणसभामा आयव्यय, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, भाखा नाघेका ऋण, आगामी दिनमा गर्नुपर्ने कार्यक्रम लगायतका विषयहरूउपर अनिवार्य रूपमा छलफल गरी साधारण सभालाई नाम मात्रको हुन नदिई प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिइएको थियो। सहकारी संस्थाले बचत सङ्कलन, ऋण लगानी, ऋण र बक्यौता असुली, लाभांश वितरण, व्याजदर निर्धारण, सदस्यता प्रदान जस्ता क्रियाकलापहरूमा सहकारीका प्रचलित कानुनको परिपालना गरी सदस्य हित र संस्थागत उन्नयनमा केन्द्रित हुनुपर्ने विषयमा छलफल गरिएको थियो।

Advertisement

सो कार्यक्रममा निष्क्रिय रूपमा रहेका सहकारी संस्था रजिष्ट्रारको कार्यालयमा अद्यावधिक गरी सक्रिय रूपमा सञ्चालन गर्नुपर्ने नभए दायित्व फरफारक गरी खारेजी गर्नुपर्ने बारे चर्चा गरिएको थियो। कार्यक्रममा कालो धन सेतो बनाई सम्पत्ति शुद्धीकरण गर्ने जस्तो सामाजिक अपराध हुन नदिन सहकारी संघ संस्थाहरू सचेत हुनुपर्ने बारे विचार विमर्श भएको थियो। सम्पत्ति शुद्धीकरणका चरण, निवारण गर्न अपनाउनुपर्ने प्रक्रिया र सम्पत्ति शुद्धीकरणका कसूरउपर हुने दण्ड सजाय बारे पनि छलफल गरिएको थियो।

कार्यक्रम जिल्ला सहकारी संघ, लमजुङ र सुन्दरबजार नगरपालिकाको समन्वयमा भएको थियो। कार्यक्रम सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता एवं सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता भएको थियो।

कार्यक्रममा सुन्दरबजार नगरपालिकाका उपप्रमुख भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, जिल्ला सहकारी संघ, लमजुङका अध्यक्ष विजय गुरुङ, जिल्ला बचत तथा ऋण सहकारी संघ, लमजुङका अध्यक्ष महेन्द्रलाल श्रेष्ठ समेतको उपस्थिति थियो। कार्यक्रममा लमजुङ जिल्लाका विभिन्न स्थानीय तहका विभिन्न सहकारी संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति सदस्य र व्यवस्थापक गरी ११५ जनाको सहभागिता थियो।     

चालु आर्थिक वर्षमा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराबाट यस अघि गरिएका यस्तो प्रकृतिका एकदिने अभिमुखीकरण अन्तर्क्रिया गोष्ठी नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका, बागलुङ जिल्लाको गलकोट नगरपालिका, स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका र गोरखा जिल्लाको आरुघाट गाउँपालिकामा सञ्चालन भइसकेका छन्। 

तपाईको प्रतिक्रिया