
मेरो जीवनमा क्रिकेटको कुनै विशेष स्थान थिएन । मैले यसलाई कहिलेकसो केवल टिभीमा हेरेकी थिएँ र कहिलेकाहीं साथीहरूसँग टाइम पासको रुपमा कुरा गर्थे । न मैले क्रिकेट हेर्थे न बुझ्थे तर सुनेकी भने थिएँ । मलाई नेपाली क्रिकेटसँग परिचित बनाउने नाम पारस खड्का हो । उनको क्रिकेट किट लगाएको तस्विर अझै पनि याद छ । जुन नेपाली क्रिकेटप्रति उनको समर्पणको प्रतिकझैं लाग्छ ।
पारस केवल खेलाडी मात्र होइन, नेपाली क्रिकेटप्रति समर्पित एक आइकन हुन् । उनले नेपाली क्रिकेटप्रेमीहरूमा जुन गर्व र उत्साह भरेका छन्, त्यो अविस्मरणीय छ । पारस नेपाली क्रिकेटको महत्वपूर्ण नाम हो । उनी नेपालका लागि मात्र होइन, दक्षिण एशियाली क्रिकेटमा पनि प्रेरणादायी व्यक्तित्व मानिन्छन् ।
मलाई क्रिकेटप्रति रुचि त्यति बेला बढेको थियो, २०१८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजनमा नेपाल सहभागि भएर उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेको थियो । त्यसपछि नेपाली क्रिकेटसँगै नेपाली खेलाडिको चर्चा नेपालसँगै विश्वभर फैलिएको थियो । यस वर्ष नेपाली क्रिकेटका लागि महत्वपूर्ण थियो, नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआई मान्यता प्राप्त गर्यो ।
यो नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धि हो । नेपालले ओडीआई मान्यता प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा नयाँ यात्रा सुरु गर्यो । नेपालको क्रिकेटले छोटो समयमा धेरै प्रगति गर्दै विश्वमा आफ्नो पहिचान बनाएको छ । खेलाडीहरूको प्रदर्शन र बढ्दो अवसरले आगामी दिनमा थप ठूला कीर्तिमान बन्ने अपेक्षा छ ।
त्यसपछि नेपाली क्रिकेट र खेलाडीहरूका बारेमा सुन्न थालें साथै यसको महत्व र प्रभावबारे थाहा भयो । खेलको सुरुमा सिक्का उछाल्नको निर्णय र त्यसपछि टस जितेको टोलीले ब्याटिङ र बलिङको निर्णय गर्ने प्रक्रिया मेरो लागि नयाँ र रोचक थियो । जति बढी मैले क्रिकेट खेलको बारेमा अध्ययन गर्न थाले, त्यति बढी मलाई यसको गहिराइ र चुनौतीहरूको बारेमा थाहा भयो । एक खेलाडी केवल बल फ्याँक्ने र ब्याट हिर्काउने मात्रै गर्दैन, उसले आफ्नो मानसिकता, शरीरको गति र सोचलाई पनि खेलमा झल्काउनुपर्छ ।
यहाँ कयौं थरीका नियमहरू छन् जसले खेललाई रोचक र प्रतिस्पर्धी बनाउँछन् । चौका र छक्का जस्ता कुरालाई मैले धेरै पछि मात्र बुझ्न थालेँ । चौका भनेको जब बल सीमारेखाभित्र पुग्छ र छक्का भनेको जब बल सीमारेखा पार गरेर मैदान बाहिर जान्छ । यी सरल तरिकामा देखिने रमाइलोले मलाई क्रिकेटको स्वाद चाख्न थप प्रेरित गर्यो । क्रिकेट केवल बल र ब्याटको खेल होइन, यो मानसिकता र रणनीतिहरूको खेल हो । क्रिकेटमा सफलता प्राप्त गर्न मात्र शारीरिक दक्षता मात्र होइन, मानसिक तयारी पनि महत्वपूर्ण छ ।
मैले थाहा पाएको अर्को महत्वपूर्ण कुरा भनेको क्रिकेटको प्रतिस्पर्धा र टीमवर्क हो । जब एक टोलीलाई एकजुट भएर काम गर्न थाल्छ, तब केवल व्यक्ति होइन, टोलीको सफलता महत्वपूर्ण हुन्छ । खेलको परिणाम केवल एक ब्याट्सम्यानको प्रदर्शनमा निर्भर हुँदैन, त्यो बलरको महत्वपूर्ण भूमिका, फील्डरको चतुराईं र कप्तानको रणनीतिमा निर्भर गर्दछ । यस खेलले मलाई सहकार्य र एकता सिकाएको छ ।
एक खेलाडी केवल बल फ्याँक्ने र ब्याट हिर्काउने मात्रै गर्दैन, उसले आफ्नो मानसिकता, शरीरको गति र सोचलाई पनि खेलमा झल्काउनुपर्छ ।
मैले व्यक्तिगत रूपमा सोच्दा, क्रिकेटको बारेमा मेरो रुचि अझै बढ्दै छ । म अझै सिख्दै र बुझ्दै छु । खेलको गहिराईलाई बुझ्नका लागि समय लिँदै छु । मैले क्रिकेटको बारेमा बुझ्नका लागि समय लिएर विभिन्न खेल हेरेर अध्ययन गर्न थालेकी छु तर, क्रिकेटलाई अझै पनि पूर्ण रूपमा बुझ्न सकेकी छैन । क्रिकेटको प्रमुख नियमहरू जस्तै एलबीडब्लु, नो बल, वाइड बल, पावरप्ले र सुपर ओभर भने अझै बुझ्न सकेकी छैन ।
मैले पहिलो पटक क्रिकेट हेर्दा सन्दीप लामिछानेको बलिङले मलाई तानेको थियो । बललाई घुमाएर बलिङ गर्ने तरिका अद्भुत लाग्यो । आईसीसी विश्व क्रिकेट लिग डिभिजनमा नेपालले सफलता हासिल गर्न सन्दीप लामिछाने को महत्वपूर्ण भूमिका थियो । विशेषगरी बलिङमा उनले विपक्षी टोलीलाई दबाबमा राख्दै विकेट लिने क्षमताले नेपालको लागि धेरै महत्वपूर्ण योगदान दिए । सन्दीप प्रतियोगितामा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी थिए ।
सन्दीप लामिछानेको बलिङ प्रभाव र आत्मविश्वासले नेपाललाई विश्व क्रिकेटमा एक बलियो टोलीको रूपमा उभ्यायो । अन्तर्राष्ट्रिय क्रिकेट करियरको सुरुवातसँगै सन्दीप लामिछानको चर्चा चुलिएको थियो । नेपाली क्रिकेटलाई उचाईंमा पुर्याउन सन्दिप लामिछानेको महत्वपूर्ण योगदान छ । सन्दीप भारतको आईपीएल (इन्डियन प्रिमियर लिग) खेल्ने पहिलो नेपाली खेलाडी बने जुन नेपालमा निकै ठूलो उत्साह र गर्वको कुरा बन्यो ।
सन्दीपले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि आफ्नो उत्कृष्ट प्रदर्शनको माध्यमले नेपाली क्रिकेटलाई विश्वमञ्चमा चिनाएका छन् । उनको प्रदर्शन नेपाली क्रिकेट प्रेमीहरूका लागि प्रेरणादायक छ ।
२०१८ पछि नेपाली क्रिकेटको इतिहास धेरै उपलब्धि र चुनौतीहरूले भरिएको छ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान अझ बलियो बनाएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले २०१८ पछि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । २०१८ मा नेपालले नेदरल्यान्ड्स विरुद्ध १ रनले आफ्नो पहिलो एकदिवसीय रोमाञ्चक जित निकालेको थियो ।
२०१९ मा नेपालले टिट्वन्टी अन्तर्राष्ट्रियमा २३८/३ को उच्च स्कोर बनायो, जहाँ दीपेन्द्रसिंह ऐरी र पारस खड्काले उत्कृष्ट प्रदर्शन गरे । ऐतिहासिक बलिङ प्रदर्शनको रूपमा, दीपेन्द्रसिंह ऐरीले मलेसियाविरुद्ध ३.१ ओभरमा ३ रन दिएर ४ विकेट लिए । २०२३ मा नेपालले पहिलो पटक एशिया कपमा छनोट गरेर भारत र पाकिस्तानजस्ता ठूला टोलीहरूसँग खेल्ने अवसर प्राप्त गर्यो । नेपालको सबैभन्दा ठूलो जित २००६ को एसीसी ट्रफीमा म्यानमारविरुद्ध २७३ रनले भएको थियो ।
२०२३ मा नेपालले लगातार टिट्वन्टी अन्तर्राष्ट्रियमा सिरिजहरू जित्दै आफ्नो प्रभाव कायम राख्यो । २०२४ मा नामिबियाविरुद्ध ३३०/६ को उच्च स्कोर बनायो । जसमा पारस खड्का, रोहित पौडेल, र कुशल भुर्तेलजस्ता खेलाडीहरूको शानदार प्रदर्शन थियो । नेपालले आफ्नो एकदिवसीय क्रिकेटमा नयाँ माइलस्टोन पार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा थप सम्मान प्राप्त गरेको छ । साथै, नेपालले २०२४ टि ट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार सिरिज जितेको छ, जुन नेपाली क्रिकेटको विकास र उच्च स्तरमा प्रदर्शनको संकेत हो । यी सबै उपलब्धिहरूले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण स्थान दिलाएको छ र आगामी दिनमा थप ठूला कीर्तिमानहरूको अपेक्षासमेत बढाएको छ ।
नेपालको महिला क्रिकेट टोली पनि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्थान बनाउन कडा संघर्ष गरिरहेको छ । महिला टोलीका लागि स्रोत र सुविधाहरू सीमित छन्, तर क्रिकेटको विकासमा निरन्तर प्रयास गरिरहेका छन् ।
नेपालले पहिलोपटक २००३ मा महिला क्रिकेट विश्व कप क्वालिफायरमा भाग लिएको थियो । यस प्रतियोगितामा नेपालको टोलीले केही महत्वपूर्ण अनुभवहरु प्राप्त गरे । नेपालले एसिया क्षेत्रका महिला क्रिकेट टोलीहरूसँग प्रतिस्पर्धा गर्दै, महिला क्रिकेट च्याम्पियनशिपको अवसर पायो ।
नेपालले पहिलोपटक महिला एशिया कप टी२०आई खेल्नको लागि स्थान बनाए पनि, यसले अपेक्षित सफलता प्राप्त गर्न सकेन । २०१९ मा नेपालले आईसीसी महिला टी२० विश्व कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै मुख्य प्रतियोगितामा स्थान बनाउनको लागि संघर्ष गर्यो । यो प्रतियोगिता नेपालका लागि महत्वपूर्ण कदम थियो ।
नेपालका प्रमुख महिला क्रिकेट खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान दिएका छन् । नेपालको महिला क्रिकेटमा विकास भइरहेको छ, विश्व क्रिकेटमा थप प्रतिस्पर्धात्मक बनाउनु र ओडीआई, टी२० स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न उद्देश्य छ । नेपालको महिला क्रिकेट टोलीले चुनौतीपूर्ण यात्रा तय गर्दै आफ्नो स्थान बनाउँदै गएको छ । महिला खेलाडीहरूको प्रतिबद्धता र मेहनतका कारण, नेपाली महिला क्रिकेट भविष्यमा अझ राम्रो र प्रतिस्पर्धात्मक बन्ने सम्भावना छ ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया