
जोमसोम । बर्सेनि ५ लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने मुस्ताङको मुक्तिनाथ मन्दिरको मुक्तिनाथ विकास समितिको कोषमा ९ करोड ११ लाख मौज्यात छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय छलफलमा समितिका सदस्यसमेत रहेका मुस्ताङका सिडिओ विष्णुप्रसाद भुसालले यस्तो जानकारी दिएका हुन् ।
मुक्तिनाथ मन्दिरमा समितिका ५ चन्दा बाकस राखिएको छ । दर्शन गर्न जाने भक्तजनले सयभन्दा कम चन्दा दिने चाहे चन्दा बाकसमा खसाल्छन् । सयभन्दा बढी चन्दा, दान दिनेको समितिले खटाएको कर्मचारीले रसिद काटेर चन्दा भेटी संकलन गर्छन् । मुक्तिनाथमा मुक्तिनाथ विकास समितिलाई डिजिटर भुक्तानी गरी चन्दा दिन चाहेमा प्रभु बैंकको क्युआर कार्डसमेत राखिएको छ ।
यी तीनै वटै माध्यमबाट संकलन भएको रकम मुक्तिनाथ विकास समितिको खातामा जम्मा हुन्छ । समितिका अध्यक्ष भुसालले गत आर्थिक वर्ष २०८०र०८१ को असार मसान्तसम्ममा मुक्तिनाथ विकास समितिका नेपाल बैंक, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, साग्रिला बैंक र प्रभु बैंक गरी ५ वटा वित्तीय संस्थामा मौज्दात राखिएको बताए ।
समितको नाममा रहेको भेटी बाकस बर्सेनि २ पटक गणना गर्ने गरिएको छ । बर्सेनि जेठ र मंसिर महिनामा मुक्तिनाथ विकास समिति, सुरक्षा निकाय, पुजारी, आनी झुमा, वडाका जनप्रतिनिधि, सुरक्षा निकाय लगायतको रोहबरमा भेटी गणना गर्ने गरिएको छ ।
मुक्तिनाथ विकास समिति निस्क्रिय हुँदा दान मुक्तिनाथ मन्दिरको विकासमा खर्च हुन सकेको छैन
मंगलबार मुक्तिनाथको चन्दा बाकसमा रहेको भेटी रकम गणना गरिएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए । सदस्य सचिव अर्यालका अनुसार जेठदेखि मंसिरसम्म ६ महिनाको अवधिमा ५ चन्दा भेटी बाकस गणना गर्दा २२ लाख ४२ हजार ८२२ रुपैयाँ संकलन भएको हो । नेपाली भेटी चन्दा रकम ९ लाख २१ हजार ८ सय ३० र भारतीय रुपैयाँ ८ लाख २५ हजार ६ सय २० संकलन भएको हो ।
भारतीय रुपैया सटही गर्दा नेपाली रुपैयाँ १३ लाख २० हजार ९ सय ९२ हुन्छ । अमेरिकी ५ सय ७४, मेलेसियन ५५, क्योनेडियन २० र पाउन्डस्ट्रेलिङ ३० जम्मा भएको सदस्य सचिव अर्यालले जनाए ।
समितिले मन्दिर व्यवस्थापन तथा सरसफाइका लागि ५ कर्मचारी राखेको छ । समितिले एक पुजारी र एक रसिद काटेर चन्दा संकलन गर्ने कर्मचारीसहित ३ सरसफाइकर्मी खटाएको छ । खटाइएका कर्मचारीलाई तलब, भत्ता स्वरुप समितिले करिव वार्षिक ७० लाखभन्दा बढी रुपैयाँ खर्च गर्छ ।
मुक्तिनाथ विकास समिति निस्क्रिय रहँदा भक्तजनले दान गरेको समितिको खातामा रहेको रकम मुक्तिनाथ मन्दिरको बृहत्तर विकासमा खर्च हुन सकेको छैन । मुक्तिनाथमा रसिद, क्युआरकोर्ड र चन्दा बाँकसमा उठेको रकम वार्षिक कति संकलन हुन्छ भन्ने तथ्यांक निकाल्नसमेत प्राविधिक समस्या देखिएको छ । स्थानीय स्तरमा मुक्तिनाथ विकास समिति निस्क्रिय रहेको र मुक्तिनाथको विकास समितिले मुक्तिनाथको विकासमा कुनै योगदान दिन नसकेको भन्दै समितिको चर्को आलोचना हुन गरेको छ ।
मुक्तिनाथ विकास समिति पुनर्गठन हुने
मुक्तिनाथ विकास समितिको पुनर्गठन मस्यौदा पारित गरिएको छ । मुक्तिनाथ विकास समिति चलायमान हुन नसक्दा समितिका कार्य प्रभावित भएको भन्दै पुनर्गठनको तयारी गरिएको मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रजिअ विष्णुप्रसाद भुसालले जानकारी दिए ।
मुस्ताङका वर्तमान तथा पूर्व प्रतिनिधि एवं प्रदेश सभा सदस्य, ५ वटै स्थानीय तहका जनप्रतिनिधि, जिसस, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, जिल्ला सरकारी वकिलको कार्यालय, नागरिक समाज र पत्रकारहरु सम्मिलित बैठकले प्रस्तावित समिति पुर्नगठनको खाका मस्यौदालाई सुझावसहित पारित गरेको हो ।
समितिको साधारण सभा मंसिर १६ गते हुँदै छ । मुक्तिनाथ विकास समिति संस्थागत रुपले २०६० सालमा दर्ता भएको हो । मुक्तिनाथ क्षेत्रकै बाहुल्य रहने गरी गठन भएको उक्त समिति निस्क्रिय हुँदा समितिको कार्यसम्पादन प्रभावित बनेको छ । मुक्तिनाथ विकास समितिको पछिल्लो ३ आर्थिक वर्षदेखि नविकरण भएको छैन ।
संस्थाको साधारण सभा, आर्थिक प्रतिवेदन तथा लेखा परीक्षणका कामसमेत हुन सकेका छैनन् । मुक्तिनाथ आध्यामिक धार्मिक क्षेत्र भए पनि उक्त संस्थाको नामबाट आन्तरिक राजस्व कार्यालयबाट कर छुटको प्रमाणपत्र लिने पहल नहुदा मुक्तिनाथ विकास समिति अनुमानित २ करोड राजस्व नेपाल सरकारलाई बुझाउनु पर्ने देखिएको समितिका अध्यक्ष एवं प्रजिअ भुसालले बताए । धार्मिक संस्था भएकाले कर छुटका लागि नयाँ पुनर्गठित हुने समितिले पहल गर्नुपर्ने देखिएको छ ।
भुसालको प्रस्तावित पुनर्गठन खाकामा यसअघिको सिडिओकै अध्यक्षमा समिति गठन हुनेछ । मुक्तिनाथ विकास समिति रहेको पालिका अध्यक्ष समितिको उपाध्यक्ष, सदस्य सचिवमा मालपोत कार्यालय प्रमुख, सहसचिव सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत र कोषाध्यक्ष सम्वन्धित वडाका वडाध्यक्ष रहने छन् । समितिमा अन्य पालिकाका अध्यक्ष सदस्य, सरकारी वकिलको कार्यालय, कोलेनिका कार्यालय प्रमुख, मुक्तिनाथका पुजारी, मुक्तिनाथका प्रमुख लामा, मुक्तिनाथको विकासमा योगदान पुर्याउने २ महिलासहित ७ जना, कागबेनी, झोङ र छुसाङका वडा सदस्य, प्रदेश कार्यालयका प्रतिनिधि लगायत सदस्यमा राख्ने प्रस्ताव छ ।
बैठकमा मुक्तिनाथ विकास समितलाई गतिशील बनाएर मुक्तिनाथ क्षेत्रको विकासमा सक्रियता बढाउन सल्लाहकार समिति र सचिवालय गठन गर्ने प्रस्तावसमेत सर्वदलीय बैठकले पारित गरेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया