कीर्तिपुरमा कर्मा र कुटुम्ब गुञ्जिने

काठमाडौं । ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा कर्मा ब्यान्ड र कुटुम्ब सांगीतिक समूह मंसिर २२ गते शनिबार एक साथ गुञ्जिने भएका छन् । कीर्तिपुर नगरपालिकाको प्रवर्धन र आदि ग्रुप प्रालिको कार्यक्रम व्यवस्थापन तथा प्रवर्धन इकाई एएसक्युको आयोजनामा कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् कन्सर्टको अन्तिम तयारी पूरा भएको व्यवस्थापकीय समूह एएसक्युका प्रबन्ध निर्देशक आशीष पराजुलीले जानकारी दिएका छन् ।
कर्मा ब्यान्ड तीन दशकअघि कीर्तिपुरकै माटोमा जन्मिएको र कीर्तिपुरको साँगीतिक इतिहासलाई जीवन्त बनाएको ब्यान्ड हो । कर्माले नेपाली गीत, संगीतको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै नेपाली साँगीतिक परम्परालाई विश्वव्यापी बनाएको छ । कन्टर्समा कर्मा ब्यान्डका साँगीतिक यात्राका चर्चित गीतहरू ‘हुक्का मेरो डल्ले डल्ले…’, ‘मौनता…’, ‘को हौ तिमी…’ लयायतका दर्जन भाका गुञ्जिने छन् ।
कर्माका गायक सुरेन्द्रमान सिंहको गहिरो स्वर, फिरोज ब्रजाचार्य र रिग्जिन लामाको गिटार, अनिल शाक्यको ड्रम्स, ईश्वर घलेको बास, बिप्पु श्रेष्ठको परक्युसनले कन्सर्ट अनुकरणीय बन्नेछ ।
कुटुम्ब साँगीतिक समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको सांगीतिक सम्पदामा गर्विलो इतिहास कोरेको छ । समूहका अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन मार्फत दर्शकको मन मष्तिस्क कब्जा गर्ने छन् । कर्माको लोक र रकको सशक्त फ्युजन एवम् कुटुम्बको परम्परागत धुनको आधुनिक प्रस्तुति रहनेछ ।
कीर्तिपुरको स्थानीय संस्कृति र परम्परालाई उजागर गदै पारम्परिक नृत्य, लाखे, धिमे, झाँकी जस्ता साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने प्रवर्धक कीर्तिपुर नगरपालिकाले जनाएको छ । कन्टर्समा कर्मा ब्यान्डसँगै कुटुम्बको अभूतपूर्व साँगीतिक प्रस्तुतिले नयाँ अध्याय थप्दै ऐतिहासिक क्षण बनाउने छ । कीर्तिपुरको साँस्कृतिक, साँगीतिक माहोललाई पुनः जीवन्त बनाउँदै कला, संस्कृति र गीतसङ्गीतको प्रवर्धन गर्दै स्रोता दर्शकलाई अतीतको याद र वर्तमानको स्वाद दिई, भविष्यको लागि चहकिलो एवं आशावादी धुनले झङ्कृत गर्ने छ ।
कीर्तिपुर नगरको साँगीतिक र साँस्कृतिक धरोहरलाई थप प्रोत्साहन गर्ने, युवापुस्ताको ऊर्जा र साँगीतिक परम्परालाई एकीकृत गर्ने, दृष्टिविहीन एवं असाहय बालबालिकाको पढाइमा सघाउने उद्धेश्यसहित गैरनाफामूलक कार्यक्रम गरिएको हो ।
तपाईको प्रतिक्रिया