
जोमसोम ।
मुस्ताङका कृषि उत्पादन र यहाँको प्राकृति सौन्दर्यका पारखी बढ्दै छन् । राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक आयोजना सहज हँुदै जान थालेपछि मुस्ताङको आर्थिक समृद्धिको मुख्य आधार कृषि र पर्यटन बन्न थालेको हो ।
जिल्लामा बर्सेनि लाखौं पर्यटक भित्रिदै गर्दा यहाँको पर्यटन व्यवसायले मात्रै होइन, कृषि उत्पादनले पनि राम्रो बजार पाएको छ । मुस्ताङ भन्नेबित्तिकै पर्यटकले यहाँका स्याउ, खुर्पानी, ओखर आखि सम्झने गर्छन् । त्यसो मुस्ताङमा स्याउ तथा अन्य शितोष्ण हावापानीमा उत्पादन हुने फलफूलले बनेका विभिन्न परिकार निर्माण हुन्छन् ।
मुक्तिनाथ दर्शनका साथै मुस्ताङ भ्रमण गर्ने पर्यटकले फर्किदा यहाँको कृषि उत्पादन कोसेलीको रुपमा लैजाने गर्छन् । स्याउ लगायतका फलफूलबाट जिल्लाका कृषकको प्रत्यक्ष आम्दानी त छँदै छ, त्यसका अलावा यहाँको कृषि उत्पादन बिक्री गर्न बसेका कोसेली घरले पनि गतिलो आम्दानी गर्न थालेका छन् ।
मुस्ताङको सदरमुकाम जोमसोम, पुथाङ एयरपोर्ट, मुक्तिनाथ, मार्फा, कागबेनी लगायतका स्थानमा बग्रेल्ती कोसेली घर सञ्चालनमा छन् । यसका अलावा राष्ट्रिय राजमार्ग सडकको फुटपाथमा समेत कतिपयले मुस्ताङका उत्पादन बिक्री गर्छन् ।
मुस्ताङका कोसेलीघरमा पर्यटकको क्रेज बर्सेनि वृद्धि हुँदै जान थालेको छ । हिमाली जिल्लाको शितोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारी र याक, च्याग्राको सुकुटी स्वादिलो र पोषिलो हुन्छ । यसै भएर पनि मुस्ताङका उत्पादनमा पर्यटकको आर्कषण बढेको हो । मुस्ताङ भ्रमण गरेका पर्यटकले यहाँबाट केही न केही स्थानीय उत्पादन कोसेलीका रुपमा लैजाने गरेको पुथाङ एअरपोर्टमा मुस्ताङ कोशेली घर एन्ड सप्लायर्स चलाएर बसेका स्थानीय रामलाल विकले जानकारी दिए ।
पर्यटकले स्याउ र स्याउबाट बनेका परिकारसहित टिमुरको छोप, फापरको पिठो, सिमीको दाल, बोडीको दाल र जिम्मु किन्छन्
विक आन्तरिक पर्यटकलाई स्याउ तौलदै थिए । उनको कोसेली घरमा नेपाली पर्यटक स्थानीय उत्पादन खरित्न झुम्मिएका थिए । कोसेली घरका सञ्चालक विक भन्छन्, ‘मुस्ताङ आउने पर्यटकले यहाँको उत्पादन किनेर लैजान्छन्, कोसेली घर चलाएर राम्रै आम्दानी भएको छ । हामीले प्रायगरी यहाँकै उत्पादनलाई प्राथमिकता दिएर कोसेली घर चलाएका छौं ।’
उनले मुस्ताङका कृषकको बगैचामा पुगेर फलफूल र अन्य सामग्री खरिद गर्ने गरेको बताए । कृषि उत्पादन जुटाउन भने निकै गाह्रो हुने सञ्चालक विकको भनाइ छ । मुस्ताङको जोमसोम, पुथाङ एरपोर्ट र मार्फामा दर्जनौ कोसेली घर खोलिएका छन् । यहाँका कोसेली घरहरुले स्याउ, स्याउको सुकुटी, स्याउको जुस, जाम, ब्रान्डी, ओखर, खुर्पानी, वाइन, साइडर लगायतका बिक्री गर्ने गरेको पुथाङ एअरपोर्ट स्थित सरोज फलफूल तथा किराना पसल चलाएकी बलदेवी फगामीले उल्लेख गरिन् ।
उनले सिजनको समय दसैं, तिहार र चैते दसैंको समयमा पर्यटकको बढी भिड हुने जनाइन् । यहाँका कोसेली घरमा मुख्य रुपमा बिक्री हुने यहाँको स्याउ नै हो । मुस्ताङमा उत्पादित स्याउमध्ये करिब २० प्रतिशत स्याउ जिल्लामै खपत हुन्छ । यस वर्ष मुस्ताङमा ७ हजार ३ सय ३० मेट्रिक टन स्याउ उत्पादन हुँदा ९२ करोडको स्याउ आम्दानी भएको प्रक्षेपण कृषि ज्ञान केन्द्रले गरेको छ ।
यो वर्ष स्थानीय जातका लोकल स्याउ ६ हजार ८० टन र इटालीबाट आयात गरिएको उच्च घनत्वको हाइब्रिड स्याउ १ हजार २ सय ५० टन फलेको थियो । सडक सहज भएसँगै यहाँ उत्पादित कृषि उत्पादनको बजारिकणमा समस्या कुनै समस्या छैन । यसैका कारण कृषि क्षेत्रमा यहाँका कृषकको आर्कषण बढेको छ ।
मुस्ताङका कोसेली घरहरुमा मुख्यतः स्याउ र स्याउबाट बनेका विभिन्न परिकार बिक्री गर्न राखिने गरिएको छ । यसका अलावा टिमुरको छोप, याकको पुच्छर, छुर्पी, फापरको पिठो, सिमीको दाल, बोडीको दाल र जिम्मु राखिन्छन् । कतिपय कोसेली घरमा याकचौरीको सुकुटी र मासुसमेत बिक्री गर्न राखिएको छ । मुस्ताङमा एक दर्जन बढी फलफूल प्रशोधन केन्द्र (डिस्टिलरी) सञ्चालनमा छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया