‘कामरेड जलजला’ सार्वजनिक

काठमाडौं ।
वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) सार्वजनिक गरिएको छ । जन शिक्षा गृहले आयोजना गरेको कार्यक्रममा वामपन्थी नेत्री स्व विद्या ढकाल (जलजल) की आमा ललितादेवी ढकाल (प्रभा) ले पुस्तक लोकार्पण गरिन् ।
उपन्यास २ खण्ड, ८ भाग, ७२ परिच्छेद र २ सय ७२ अंकमा विभाजन गरिएको छ । करिब ५ लाख शब्द, रोयल साइजमा १ हजार ३ सय २० पृष्ठ र करिब ५ सय पात्र छन् । उपन्यासमा सम्पूर्ण विश्व, धर्ती, मानव समाज र समाजको मनोविज्ञानको अध्ययन, विश्लेषण र विवेचना गर्ने प्रयत्न गरिएको छ । उपन्यासले संसारका सबै महाद्वीप र महासागर, सम्पूर्ण मानव समाज र सुदूर अन्तरिक्षसम्मको परिभ्रमण गर्ने प्रयत्न गरेको छ ।
प्राडा रामप्रसाद ज्ञवालीले उपन्यासबारे टिप्पणी गर्दै यसमा सम्पूर्ण संसार र नेपालका विभिन्न स्थानको इतिहास, संस्कृति र मानव जीवनको अध्ययन गर्ने प्रयत्न गरिएको बताए । ‘उपन्यासमा काठमाडौँ उपत्यका, नेपालको ढुङ्गेयुगीन सभ्यता, प्राचीन बौद्ध सभ्यता, कर्णाली प्रदेशको प्राग्ऐतिहासिक नदी र ताल, स्वयम्भूनाथ, पशुपतिनाथ र नेपालका प्राग्ऐतिहासिक जातिको समेत अध्ययन गर्ने प्रयत्न गरिएको छ,’ उनले भने ।
उपन्यासमा काठमाडौँ उपत्यकाका अष्टमातृकाको विस्तृत र गहन चर्चा गर्नाका साथै ‘हिन्दू पुराणले उनीहरूलाई देवीका रूपमा मान्दछन् तर मूल रूपमा उनीहरू हिन्दू देवी होइनन्’ भन्ने विषयलाई पनि समावेश गरिएको त्यस अवसरमा जानकारी दिइयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकासका निम्ति नेपालका वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लो समय नेपालका वामपन्थी नेताहरू जनताका निम्तिभन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित भएको धारणा राखे ।
साहित्यकार सिंह नेपालको वामपन्थी नेता हुन् । सैद्धान्तिक र राजनीतिक विषयमा उनले थुप्रै पुस्तक र लेखहरू लेख्नाका साथै नाटक, कविता, समालोचना आदि विभिन्न विधामा कृति पनि लेखेका छन् । २०१२ सालमा पाल्पा जेलमा उनले ‘बुढा बा’ र ‘झिलीमिली’ दुईओटा उपन्यास, २०१८ सालमा तौलिहवा जेलमा ‘ओखरकोट’ शीर्षकको उपन्यास, २०२६ सालमा काठमाडौँको हनुमानढोकास्थित जेलमा ‘बुढा बा’ शीर्षकको अर्को उपन्यास र २०४६ सालमा बनारसमा ‘तारा’ शीर्षकको उपन्यास लेखेका थिए ।
विसं २०१२ मा पाल्पा जेलमा छँदा उनले कैयौँ कथा पनि तयार गरेका थिए । वामपन्थी नेता सिंहले ‘कामरेड जलजला’ (उपन्यास) तयार पार्न करिब २३ वर्ष लागेको जानकारी दिए









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया