पुस १८ बाट लेखनाथमा महोत्सव

पोखरा ।
लेखनाथ उद्योग वाणिज्य संघले २०५९ मा सुन्तला प्रदर्शनी आयोजना गर्यो लेखनाथ क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन तथा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न भएको प्रदर्शनीले ६० सालसम्म निरन्तरता पायो ।
२०६१ मा प्रदर्शनीलाई परिस्कृत बनाउँदै सुपथ मूल्य बजारसँगै लेखनाथ महोत्सव दिइयो । यसरी भएको लेखनाथ महोत्सव निरन्तरता छ । यो वर्ष पुस १८ देखि माघ १ गतेसम्म २० औं लेखनाथ महोत्सव हुँदै छ । संघले यो वर्ष उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीलाई सहआयोजक बनाएको छ ।
महोत्सव पोखरा २७ डाँडाको नाक, तालचोकमा सञ्चालन हुने संघकी महासचिव तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् । सोमबारदेखि मंसिर १७ गतेदेखि स्टल बुकिङ खुला गरिएको छ । स्टल बुकिङका लागि सदस्यहरुलाई प्राथमिकता दिइएको छ ।
अन्य व्यवसायीका लागि मंसिर २४ गतेदेखि बुकिङ खोलिनेछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास समृद्धि’ भन्ने नारासहित सञ्चालन हुने महोत्सवका लागि विभिन्न समिति उपसमिति बनेका छ । ९ सदस्सीय निर्देशक समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ४७ उपसमिति र १ सय १७ सदस्यीय कार्यसम्पादन समिति गठन भएका छन् ।
महोत्सवमा ३ सय ३६ स्टल राखिनेछ । अटो प्रदर्शनीका ६, शैक्षिक÷ग्रामीण प्रविधि प्रदर्शनीका १२, कृषि प्रदर्शनीका ३६, किचन सामग्रीका २५, मेसिनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १०८, जनरल २६, फुड एन्ड बेभरज १६, डेरी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खाना १७ र बैंक तथा वित्तीय संघसंस्था तथा प्रायोजक अन्तर्गतका ३३स्टल रहने संयोजक अधिकारीले बताइन् ।
संघका सदस्यले स्टल राखेमा २० प्रतिशत छुट र ढुवानीका लागि थप २ हजार रुपैयाँ उपलब्ध गराइने संघले जनाएको छ । यसपालि महोत्सवमा पहिलो पटक महिलाको क्षमता अभिवृद्धिका लागि महिला समूहबीच हाजिरीजवाफ प्रतियोगिता हुने संघ अध्यक्ष विनोद श्रेष्ठले बताए । नव प्रतिभा खोजी अन्तर्गत खुला युगल जोडी नृत्य प्रतियोगिता र यस वर्ष एसियाका ज्योतिको रुपमा चिनिने शान्तिका दूत गौतम बुद्धको प्रतिमा राख्ने योजनासमेत छ ।
स्थानीय कृषि तथा औद्योगिक उत्पादनमा प्रर्वद्धन, हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सृजनशीलतामा जोड दिनु महोत्सवको मुख्य उद्देश्य रहेको संघ अध्यक्ष श्रेष्ठले बताए । महोत्सवका मुख्य आर्कषणमा सुगम संगीत, पप कन्सर्ट र लाइभ ब्यान्डको प्रस्तुति तथा राष्ट्रिय चर्चित कलाकारहरुको लोकदोहोरी तथा हास्यव्यंग्य प्रस्तुति रहनेछ ।
तपाईको प्रतिक्रिया