
जोमसोम ।
हिमाली जिल्ला मुस्ताङमा ७१ वटा कृषि फारम, समूह र सहकारी संस्था आलु जोन विकास कार्यक्रममा सूचकृत भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मुस्ताङले चालु आर्थिक वर्षदेखि सुरु भएको आलु जोन विकास कार्यक्रममा मुस्ताङका ४ पालिकाका ७१ वटा कृषि समूह, फारम र सहकारी संस्था अनुदान कार्यक्रममा समेटिएका हुन् ।
हिमाली जिल्ला मुस्ताङमा स्याउ जोन र च्यांग्रा जोन कार्यक्रमपछि आलु जोन विकास कार्यक्रम कार्यान्वयनमा आएको हो । आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने र खाद्य सुरक्षामा समेत टेवा पर्याउने उद्देश्यले नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी मुस्ताङमा आलु जोन विकास कार्यक्रम ल्याएको कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिए ।
उनका अनुसार मुस्ताङको घरपझोङमा ३२ वटा, बारागुङ मुक्तिक्षेत्रमा ३३ वटा, थासाङ गाउँपालिमा ४ वटा र उपल्लो मुस्ताङको लोमान्थाङबाट २ वटा कृषि समूह, फारम र सहकारी संस्था आलु जोन विकास कार्यक्रममा आवद्ध भएका हुन् ।
मुस्ताङका ५ पालिकाका २५ वटै वडाहरु आलु जोन विकास कार्यक्रममा समेट्ने लक्ष्य रहे पनि सम्वन्धित पालिकाका धरैजसो वडाहरु यस कार्यक्रममा प्रस्ताव नआएकाकारण आवद्ध हुन नसकेको कार्यालय प्रमुख गौतमको भनाइ छ ।
मुस्ताङमा सञ्चालित आलु जोन विकास कार्यक्रमका लागि कुल ५ सय हेक्टर क्षेत्रफल निर्धारण गरिएको छ
मुस्ताङमा चालु वर्षदेखि कार्यान्वयनमा आएको आलु जोन विकास कार्यक्रमका लागि १ करोड २७ लाख बजेट विनियोजन भएको छ । आलु जोन विकास अन्तर्गत १ करोड १७ लाख बजेट आलु जोनका लागि अनुदान शीर्षकमा खर्च हुनेछ । बाँकी १३ लाख बजेट आलु जोन विकास अन्तर्गत तालिम, प्रविधि प्रर्दशनी, क्रप कटिङ र तथ्यांक संकलन लगायतका सेवामूलक कार्यक्रममा खर्च हुने कार्यालय प्रमुख गौतमले जनाए ।
मुस्ताङमा सञ्चालित आलु जोन विकास कार्यक्रमका लागि कुल ५ सय हेक्टर क्षेत्रफल निर्धारण गरिएको छ । परियोजना कार्यान्वयन इकाईबाट सूचीकृत कषि समूह, फारम र सहकारीहरुले आलु जोनको पूर्वाधार विकासतर्फ ८५ प्रतिशत अनुदान सहुलियत पाउने छन् । बाँकी १५ प्रतिशत भने सम्बन्धित कृषि समूह, फारम र सहकारीको स्वलगानी रहने कार्यालय प्रमुख गौतमले जानकारी दिए ।
यसैगरी कार्यक्रम अन्तर्गत आलु उत्पादनका लागि यन्त्र उपरकण, बिउ तथा अन्य उत्पादन तथा प्रशोधन लगायतका सामग्री खरिदमा ५० प्रतिशत अनुदान सहुलियत उपलब्ध हुने उनले बताए ।
मुस्ताङमा आर्थिक वर्ष २०७९/०८० मा ४ सय ५९ हेक्टर क्षेत्रफलमा आलु खेती गर्दा ७ हजार ३१ टन आलु उत्पादन भएको थियो । मुस्ताङमा स्थानीय जातको सेतो आलु र विकासे रातो आलुको खेती गर्ने गरिएको छ । हिमाली क्षेत्रको उच्च उचाइको शीतोष्ण हावापानी उत्पादन हुने आलु स्वादिलो र पोषिलो हुने गर्छ । सहरबजारका उपभोक्ता मुस्ताङी आलु भनेपछि हुरुक्कै हुने गर्छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









गण्डकको सेयर पुँजी पौने ३ करोड
हिउँ चितुवाको सर्वेक्षण सुरु
पोखरा–२१ मा सुन्तला महोत्सव गते
सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया