राष्ट्रिय माविको हीरक महोत्सव
जसले पोखरेलीलाई शैक्षिक ऋण लगाए


कसैले आफ्नो निजी ईच्छा र रहरलाई तिलाञ्जली दिएर समाजका लागि महत्वपूर्ण योगदान दिएको हुन्छ । इतिहासले त्यस्ता पात्रको खोजी गर्छ । अनि ती महापुरुषहरु अजर, अमर भई युगयुग बाचिरहन्छन् । यस्तै पोखराको शैक्षिक उत्थानमा महत्वपूर्ण भूमिका खेलेका पात्र हुन् शिक्षासेवी श्यामप्रसाद पन्त । संयोग थियो पोखरामा पहिलोपल्ट खुलेको आधुनिक स्कुल पोखरा पब्लिक स्कुल (हाल राष्ट्रिय माध्यमिक विद्यालय) २००६ साल मंसिर २० गते खुलेता पनि पोखरामा शिक्षक पाइन्न थियो । शिक्षक लिन राजधानी काठमाडौँ पुग्नुपर्दथ्यो । त्यसबेला पोखरामा यातायातको सुविधा थिएन पैदल यात्रा गर्नुपर्दथ्यो । राजधानीका मान्छे पोखरा आउन मान्दैनथे । आइहाले पनि पोखरा बस्न चाहदैन । किनकी पोखरा त्यसबेला अति दुर्गम मानिन्थ्यो ।
यही क्रममा २००६ साल मंसिर २० गते राजधानीबाट पोखरा भित्रिएका हेडमास्टर कृष्णबहादुर श्रेष्ठ, सहायक हेडमास्टर रत्नबहादुर श्रेष्ठलाई लिएर नारायणस्थान नदीपुरमा उक्त विद्यालयको शुभारम्भ भयो । २००८ सालमा नन्दलाल पाण्डे हेडमास्टर बने । उनले विद्यालयको नाम फेरेर नेसनल हाईस्कुल नाम राखे । त्यसपछि हर्ष स्याम्पोसँग विवाद हुदा विद्यालयमा फुट सिर्जना भयो । उनले छुट्टै विद्यालय खोले । विद्यालयमा असहज वातावरण बनेपछि तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर गुरुङले काठमाडौँमा अध्ययन गरिरहेका वीरेन्द्रकुमार बाटाुजूलाई कायममुकायम हेडमास्टर बन्न आग्रह गरे ।
गुरुङको आग्रह टार्न नसकेपछि उनी पोखरा आइ विद्यालयमा शैक्षिक वातावरण तयार पारे । केही समयपछि उनी वायुसेवा निगममा जागिरे भएपछि विद्यालयमा अध्यक्ष पद रिक्त भयो । त्यसपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेका समाजसेवी अमृतप्रसाद शेरचन काठमाडौँ पुगेर शिक्षक खोज्ने काम गरे । उनले भैरवप्रसाद भट्टराई श्यामप्रसाद पन्तलाई कुनै दुःख नपाउने शर्तमा मनाएर पोखरा ल्याउने काम गरे ।
त्यसबेला पोखरा आउन पैदल यात्रा गर्नुपर्दथ्यो, खोलानाला तर्नु पर्दथ्यो । राजधानीवासीका लागि खोला तर्नु कठिनकार्य हुन्थ्यो । कतिपय ठाउँमा खोला तर्न नसकेर पन्त सर काठमाडौँ फर्कन खोजे पनि । समाजसेवी शेरचनले पन्त सरलाई बोकेर खोला तारेको घटना बेलाबेला शेरचनले हामीलाई सुनाउनु हुन्थ्यो । ६ महिना पछि हेरसर बनेका भैरवप्रसाद भट्टराई पोखरा बस्न चाहेनन् । उनले पन्त सरलाई पनि काठमाडौँ फिर्ता जान निकै जोडबल गरे । तर किन हो कुन्नि पन्त सरलाई पोखराले मोहनी लगाइसकेको थियो । पोखराका विद्यार्थीहरू मन परिसकेको थियो । पन्त सर जे जस्तो दुःख कष्ट सहेर पनि म पोखराकै सेवा गर्छु भन्ने अडान लिए ।
त्यसपछि नारायणस्थानले विद्यार्थीको चाप थेग्न नसकेर बगरको टुँडिखेलमा विद्यालय सार्ने योजना बनाए । विद्यालय भवन बनाउने कुनै आधार नभएको बेलामा २०१३ सालमा अमेरिकी सरकार विद्यालयको भवन बनाउन तयार भयो ।
२०१६ साल चैत १३ गते पोखराको रामघाटमा तत्कालीन सोल्जर्सबोड स्कुल (हाल अमरसिंह स्कुल) खुलेपछि विद्यालय विच प्रतिष्पर्धा चल्यो । अधिकांश शिक्षकलाई राम्रा तलब सुविधा दिएकाले त्यहाँ गए । शिवहरिसिंह प्रधान पागल, दमयन्ती प्रधान, देविरमण शास्त्री लगायतका शिक्षक त्यहाँ पुगे । पन्तसरले वडो बुद्धिमत्तापूर्वक विद्यालयलाई जोगाए ।
पन्त सरले २०१२ सालदेखि २०४१ सालसम्म लगातार ३० वर्ष प्रधानाध्यापकको भूमिकामा रहेर पोखराका अधिकांश छात्रछात्रालाई ज्ञान दिने कार्य गर्नुभएको थियो
यता विद्यालयबाट एसएलसी दिनेहरूको सङ्ख्या बढ्दै गएपछि पन्त सरले पोखरामा कलेज खुल्नुपर्ने आवश्यकता महसुस गरे । त्यस बेला उच्चशिक्षा हासिल गर्न कि त काठमाडौँ जानुपर्दथ्यो या भारतको बनारस । पन्तसरले आफ्ना छात्रछात्रालाई बजारमा कलेजको माग गर्दै जुलुस निकाले । यसको प्रभावस्वरूप ०१७ भाद्र १७ गते पोखरामा पृथ्वीनारायण क्याम्पसको विधिवत सुरु भयो । यसरी पोखराको शिक्षाक्षेत्रमा पन्त सरको महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।
पन्त सरले २०१२ सालदेखि २०४१ सालसम्म लगातार ३० वर्ष प्रधानाध्यापकको भूमिकामा रहेर पोखराका अधिकांश छात्रछात्रालाई ज्ञान दिने कार्य गर्नुभएको थियो । उनले विद्यालयमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्न लगाएर विद्यार्थीहरूको प्रतिभा प्रष्फुटन गराउने कार्य गर्नुहुन्थ्यो । उनी अमेरिका गएको वखत त्यहाँको सरकारलाई व्यावसायिक शिक्षा प्रदान गर्ने ध्येयले सहयोग लिएर आएका थिए ।
पन्त सरको मित्रता पूर्व प्रधानमन्त्री किर्तिनिधि विष्टसँग थियो । उनी २०२५ सालतिर भूमिसुधार मन्त्री हुँदा पन्त सरलाई भूमिसुधार अधिकारी बनाइदिन्छु भन्दा पन्तसरले मलाई स्कुल नै ठिक छ भनेर जान मानेनन् ।
अत्यन्तै विषम परिस्थितिमा पोखराको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका पन्तसरले २०४९ चैत्र १७ गते यस धर्तीबाट विदा लिए । आज उनका हजारौ शिष्यहरु जीवन्त छन् । उनको शैक्षिक योगदानस्वरूप शिक्षाप्रेमी श्यामप्रसाद पन्त पुस्तक प्रकाशित छन् भने उनको सम्झनामा गुठी पनि निर्माण गरिएको छ जसले अमृतप्रसाद शेरचन, जर्जजोन, प्रेमबहादुर श्रेष्ठ, प्रदीपशंकर पालिखे जस्ता शिक्षाप्रेमीलाई पुरस्कार प्रदान गरेको छ । अहिले राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५ वर्ष पुरा गरेको छ ।
विद्यालयलाई हालको शिखर अवस्थासम्म ल्याउन अहोरात्र खटेका श्यामप्रसाद पन्त सरको एउटा प्रतिमा राख्न केही शिष्यहरु तम्सेका थिए उनको सम्मानस्वरूप । तर अहिले मान्छेसँग बढी पैसा भएर होला सबैले विद्यालय परिसरमा हामी सालिक बनाउँछांै भनेर आए ककस्को प्रतिमा बनाउन दिने ? भन्ने प्रश्न गर्नाले पन्त सर जस्ता शिक्षासेवीको प्रतिमा बन्न रोकिएको छ । जसले पोख्रेलीलाई शैक्षिक ऋण लगाए उनी प्रति हामीले उचित सम्मान नगरेर न्याय गरेका छौँ र ?

रवीन्द्र माकाजु
(माकाजु स्वतन्त्र लेखक हुन् )
तपाईको प्रतिक्रिया