आदर्श कप फुटबल प्रतियोगितामा कास्की फुटबल फाइनलमा

समाधान संवाददाता २०८१ मंसिर २६ गते २०:४८

लेखनाथ । कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगितामा कास्की फुटबल संघ आयोजक आदर्श युवा क्लबलाई ४–३ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ । लेखनाथको भण्डारढीक स्थित लेखनाथ रंगशालामा बुधबार भएको खेलको निर्धारित समयामा दुबै पक्षबाट गोल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थपिएको थियो ।

Advertisement


अतिरिक्त समयमा समेत दुबै पक्षबाट गोल नभएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा कास्कीले आयोजक आदर्शलाई ४–३ ले पराजित गरेको हो । कास्कीलाई जिताउन हेमन्त तामाङ, संगम ठकुरी, आशीष गुरुङ र युनिक तामाङले गोल गरे ।

कास्कीका खेलाडी सरोज तितुङको बल गोलमा परिणत हुन सकेन । यता, आयोजक क्लबको तर्फबाट सुमित श्रेष्ठ, भीषण गुरुङ र राहुल गुरुङले गोल गरे । कास्कीविरुद्ध दीपक कार्की र दीपेश आलेमगरले हानेको बल रोकिएकोे थियो । आयोजक आदर्श युवा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । बुधबारको खेलमा म्यान अफ द म्याच कास्कीका आयुसमान गुरुङ बने । उनले नगद ५ हजारसहित मेडल हात पारेका छन् ।

बिहीबार दोस्रो सेमिफाइनल खेल गोर्खा फुटवल क्लब र सशस्त्र प्रहरी बल गण्डकीबिच हुने खेल संयोजक ओमप्रकाश गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेतालाई नगद २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, सिल्ड, मेडल तथा प्रमाणपत्र दिइनेछ ।

विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीलाई नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही १५ हजारसहित ट्रफी मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजक आदर्श युवा क्लब अध्यक्ष पदम गुरुङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया