दीपशिखा पुस्तकालयमा कृष्णहरि

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको सत्रौं साधारण सभा तथा आठौं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले कृष्णहरि भण्डारीको अध्यक्षतामा ११ सदस्यहरू निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्ष निर्मला पौडेल, सचिवमा पदमप्रसाद अधिकारी, कोषाध्यक्षमा माधव भण्डारी, सहसचिवमा मीनकुमारी डल्लाकोटी निर्वाचित भएका छन् ।
सदस्यहरुमा विश्वराज पौडेल, चन्द्रबहादुर गुरुङ, बिष्णुहरि पौडेल,कमला भण्डारी, एलिसा केसी र शान्ता पौडेल छन् । निर्वाचन समिति संयोजक बाबुराम सुवेदी सदस्यहरु दीपकमणि भण्डारी र नवराज तिवारीसहित स्थापनाकालका अध्यक्ष ईश्वरबहादुर हमालले सपथ ग्रहण गराएका थिए ।
साधारण सभा उद्घाटन गर्दै नेपाल सरकारका पूर्व गृह, स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुस्तकालय ज्ञानको भण्डार भएकाले पाठकहरु निरन्तर पुस्तकालय आउने वातावरणका लागि लागिरहन निर्वाचित हुने कार्यसमितिलाई आग्रह गरे । उनले नमुना पुस्तकालयको रुपमा अगाडि बढ्न शुभकामना दिएका थिए ।
साधारणसभामा पुस्तकालयका कार्यसमितिका सचिव पदमप्रसाद अधिकारीका नीति नियमहरु, प्रगति प्रतिवेदनसहित भावी योजना, कोषाध्यक्ष माधव भण्डारीको आर्थिक प्रतिवेदन पारित भएका थिए । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा नम्बर २९ की वडा सदस्य समेत रहेकी पुस्तकालयकी उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेकी थिइन् ।
पोखरा महानगरपालिका वडा नम्बर २९ का निवर्तमान वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा नम्बर ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । पुस्तकालयमा सञ्चालन भएको टेक एज गल्स परियोजना रुपा नेपाली, जेनिसा नेपाली, सचिना तिवारी लगायतले बोलेका थिए । पाठक सदस्य सम्मान अन्तर्गत विशेष ढकाल, वेदप्रसाद शर्मा, कविता परियारलाई सम्मान गरिएको थियो ।
२०५९ मा कास्की जिल्ला प्रशाशन कार्यालयमा दर्ता भई दीपशिखा वाचनालयको नामबाट सञ्चालन हँुदै आएको दीपशिखा सामुदायिक पुस्तकालय शिक्षा तथा प्रविधि मन्त्रालयबाट उत्कृष्ट पुस्तकालयको पुरस्कार पाउन सफल पुस्तकालय लेखनाथ क्षेत्रकै नमुना पुस्तकालयको रुपमा २०६९ सालदेखि नियमित सञ्चालन भइरहेको छ । यो पुस्तकालयले समाज कल्याण परिषद र नेपाल सामुदायिक पुस्तकालय संघबाट समेत सम्वन्धन प्राप्त गरिसकेको छ ।
१५३ आजीवन सदस्यहरु रहेको यो पुस्तकालयमा पुस्तक तथा पत्रपत्रिका प्रयोगकर्ताहरुको संख्या वार्षिक १५ हजारभन्दा बढी छ । सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र समुदायकै पहल कदमीमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरी विगत १० वर्षदेखि निशुल्क विभिन्न किसिमका सेवाहरु जस्तै शिक्षा, कम्प्युटर तालिम, स्वास्थ्य, कृषि, पशु स्वास्थ्य, महिला सशक्तीकरण, जलवायु परिर्वतन, विपद व्यवस्थापनका साथै विभिन्न सिपमूलक तालिमहरु प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया