प्रदीप मेमोरियल बास्केटबल सुरु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ । चैँपर लेम भाइखलक घान्द्रुकको आयोजनामा पोखरा १० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा बुधबारदेखि प्रतियोगिता सुरु भएको हो ।
पहिलो दिन खुला पुरुषतर्फ ६ खेल भएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए । पहिलो खेलमा छोम्रोङ रातोले एमवाइसी घान्द्रुकलाई ५८–४० अंकले पराजित ग¥यो । दोस्रो खेलमा मर्दी खोलाले छोम्रोङ सेतोलाई ४१–२१ अंकले हरायो ।
तेस्रो खेलमा टिम ख्याङले रामघाट बीलाई ७०–२३ अंकले पराजित ग¥यो । चौथो खेलमा कास्की बास्केटबल एकेडेमीको अनुपस्थितिमा वाकओभरमार्फत बेगा गाउँ विजयी बन्यो । पाँचौ खेलमा पुन युनाटेड नदीपुरले अघौँ पुनमगर समाजलाई ७२–३५ अंकले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो ।
छैटौं खेलमा छोम्रोङ रातोले मनकामना क्लब दीपलाई ७०–३७ अंकले पराजित गर्दै छोम्रोङ रातो क्वाटर फाइनलमा प्रवेश गरेको अर्जुन गुरुङले जानकारी दिए । बिहीबार पनि पुरुषतर्फकै खेलहरु हुनेछन् । प्रतियोगितामा खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ५ टिमको सहभागिता छ ।
यसअघि प्रतियोगिताको उद्घाटन अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले गरे । प्रदीपको स्मृतिमा सञ्चालित प्रतियोगिताले उनको आत्मालाई शान्ति मिल्ने हिमबहादुरले विश्वास व्यक्त गरे ।
प्रतियोगिताले प्रतिभावान तथा उदीयमान खेलाडीलाई अवसर मिल्ने र बास्केटबल खेलको विकासमेत हुने उनको धारणा छ । वडाध्यक्ष गुरुङ आगामी दिनमासमेत सो प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
सो प्रतियोगिताको पुरुषतर्फको विजेता टोलीले नगद ८० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भने उपविजता बन्ने टोलीले नगद ५० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछ ।
महिलातर्फका विजेतालाई नगद २० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेतालाई नगद १० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागततर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया