म्याग्दीको दोसल्ले गाउँबाट साढे १ करोड बढीको सुन्तला बिक्री

म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन् । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनले बताए ।
दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् । सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् ।
समूहका अध्यक्षसमेत रहेका पाइजाले गत वर्ष गाउँबाट रु ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष रु एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिए । “यस वर्ष सुन्तलाको उत्पादन अति नै राम्रो छ, अधिकांश किसानको सुन्तला बोटबोटै बिक्री भएको छ, व्यवसायीले पेस्की रकम किसानलाई उपलब्ध गराइसकेका छन्”, पाइजाले भने ।
दोसल्ले गाउँमा करिब १० हजार सुन्तलाका बोट छन् । दोसल्ले गाउँमा मात्रै होइन, जिल्लाभरमै सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन् । सुन्तला बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनको कारण सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरुको भनाइ छ ।
बेनी नगरपालिका–३ राखुका किसान डेकबहादुर घर्तीले गाउँबाट गत वर्ष रु एक करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष रु एक करोड ६० लाख बढी आम्दानी हुने अनुमान गरिएको बताए । “सुन्तला टिप्न व्यवसायी बगैँचामा आइसकेका छन्, उत्पादन राम्रो छ, गत वर्षको तुलनामा दोब्बरजस्तै फल लागेको छ, उत्पादन भएको सुन्तलाको बजारको अभाव छैन”, उनले भने ।
उनका अनुसार ६२ घरधुरीको बसोबास रहेको राखुका सबैले सुन्तलाखेतीलाई व्यावसायिक बनाएका छन् । यहाँका अगुवा किसान रामबहादुर घर्तीले रु सात लाख ५० हजार, जीतबहादुर आलेले रु सात लाखमा आफ्नो बगैँचाको सुन्तला ठेक्कामा बिक्री गरिसकेका छन् । जिल्लाको राखु, मरेक, बास्कुना, सुर्केमेला, बरङ्गजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना, नारच्याङलगायतका क्षेत्रमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।
बेनी –४ बास्कुना गाउँमा मात्रै यस वर्ष सुन्तला बिक्रीबाट रु एक करोड भित्रिएको छ । यहाँका १६ घरधुरीले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । अगुवा किसान रहेका वडासदस्य सन्दीप खत्रीले गत वर्ष बास्कुनाबाट रु ८० लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन बढेको कारण किसानको आम्दानी बढेको बताए ।
जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढलगायतका बजारमा निकासी हुने थालेको छ । गत वर्षको तुलनामा डेढ गुणाले सुन्तलाको उत्पादन बढेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
जिल्लामा यस वर्ष सुन्तला उत्पादन बढेको र क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरी विवरण सङ्कलन भइरहेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए । म्याग्दीमा आठ सय १० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएकोमा चार सय २० हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । गत वर्ष जिल्लाबाट तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया