हतियार देखाएर बेगनासमा वृद्धवृद्धा लुटपाट गर्ने पक्राउ

पोखरा
पोखरामा हतियार देखाएर सुनका गहना लुट्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ३१, बेगनास गैह्राघरका ७९ वर्षीय वेदनाथ अधिकारीको घरमा गत २३ मंसिरमा लुटपाटमा संलग्न मधुसिंह थापामगर, प्रकाश थापा र गोपाल नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तनहुँको रिसिङ २ घर भई हाल पोखरा रामबजार बस्ने ३७ वर्षीय मधुसिंह, बागलुङ बाङ्गादोभान ३, तमान घर भई हाल पोखरा ६ लेकसाइड बस्ने ३८ वर्षीय प्रकाश र रोल्पाको थवाङ घर भइ हाल पोखराको मालेपाटन निवासी ३२ वर्षीय गोपाललाई घटना भएको करिब १० दिनपछि प्रहरीले पक्राउ गरेको हो ।
तीन जना नकावधारीले रातको समयमा खुकुरी देखाएर वेदनाथकी श्रीमतीलाई कुटपिट तथा लछारपछार गरी एउटा सुनको औंठी र कानमा लगाएको २ वटा रिङ चोरी गरी फरार भएका थिए । उनीहरुको प्रहरीले खोजतलास गरिरहेको थियो । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया