
जोमसोम । अत्यधिक चिसो बढे मुस्ताङमा सञ्चालित शैक्षिक धमाधम बन्द हुन थालेका छन् । हिउँद यामको अत्यधिक चिसो र सम्भावित हिमपातको जोखिमले मुस्ताङका शैक्षिक संस्थाले विद्यार्थीलाई २ महिना लामो हिउँदे बिदा दिन थालेका हुन् ।
मुस्ताङका ५ स्थानीय तहमा ३५ सामुदायिक विद्यालय छन् । संस्थागत, धार्मिक गुम्बा र आम्ची गरी थप १२ विद्यालय जिल्लामा छन् । लोमान्थाङमा सामुदायिक, संस्थागत र गुम्बा गरी ९ वटा, लोघेकर दामोदरकुण्डमा १० वटा, वारागुङ मुक्तिक्षेत्रमा ५ वटा, घरपझोङमा १० वटा र थासाङ गाउँपालिकामा १३ शैक्षिक संस्था सञ्चालनमा छन् ।
हिउँदमा मुस्ताङमा अत्यधिक चिसो र हिमपात हुन्छ । चिसोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर हुने भएकाले उपल्लो मुस्ताङका शिक्षण संस्थाहरु कात्तिकअगावै घुम्ती कक्षाका लागि बेंसी झार्ने परम्परा छ । तल्लो मुस्ताङका शिक्षण संस्थाहरु भने पुस र माघ महिनामा पूरै बन्द हुन्छन् ।
मुस्ताङका ३५ सामुदायिक विद्यालयमध्ये बेंसी नझरेका २४ स्कुल पुसको पहिलो सातादेखि २ महिनाका लागि बन्द
चिसोका कारण विद्यार्थीलाई रुघाखोकी, निमोनिया र अन्य स्वास्थ्य समस्याकोे जोखिम हुने भएकाले यहाँका स्कुलले सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको अनुमतिमा हिउँदे बिदा दिने गरेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सामुदायिक विद्यालयहरु पुसको १ गतेदेखि २ महिनाका लागि बन्द गरिएका छन् ।
घरपझोङ गाउँपालिकाका सामुदायिक तथा संस्थागत जिद्यालय पनि पुस ४ गतेदेखि २ महिनाका लागि बन्द भएका छन् । मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ गाउँपालिकामा पनि पुस ९ गते चालु शैक्षिक सत्रको त्रैमासिक परीक्षा सकेर हिउँदे बिदा दिने तयारी गरिएको छ । यसअघि उपल्लो मुस्ताङका सामुदायिक, अन्य विद्यालय र वारागुङ मुक्तिक्षेत्रका १ गुम्बा विद्यालय जाडो छल्न कात्तिकमै बेंसी झरिसकेका छन् ।
उपल्लो मुस्ताङ र वारागुङको १ विद्यालय गरी १२सामुदायिक र गुम्बा विद्यालय हिउँद यामको जाडो छल्न पोखराका विभिन्न स्थानमा स्थान्तरण भइसकेका छन् । मुस्ताङका ३५ सामुदायिक विद्यालयमध्ये घुम्तीका लागि बेंसी नझरेका २४ सामुदायिक विद्यालय पुसको पहिलो सातादेखि हिउँदे बिदास्वरुप २ महिनाका लागि बन्द हुने शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङका प्राविधिक सहायक चन्द्रसिंह विकले जानकारी दिए ।
प्राविधिक सहायक विकले जिल्लामा त्रैमासिक परीक्षा सकेर बन्द भएका विद्यालयले फागुनको पहिलो सातादेखि चालु शैक्षिक सत्रको शिक्षण सिकाइलाई निरन्तरता दिने सुनाए । सरकारले सामुदायिक शिक्षण संस्थाहरुलाई वार्षिक ४५ दिन बिदा दिने गरेको छ ।
मुस्ताङका शिक्षण संस्थाहरुले सरकारले दिने ४५ दिने बिदा हिउँद यामको पुस र माघ महिना विद्यालय बन्द गरी कटौती गर्ने गर्छन् । ४५ दिने नियमित बिदा र १५ दिनको सट्ट बिदा गरी यहाँका विद्यालयले हिउँदमा २ महिना स्कुल बन्द गर्ने गरेका छन् । मुस्ताङमा २ महिना हिउँदे बिदा दिएका विद्यालयले फागुनको पहिलो साता विद्यालयमा शैक्षिक क्रियाकलाप सुरु गर्छन् ।
उपल्लो मुस्ताङबाट बेंसीमा घुम्ती कक्षा चलाएका विद्यालयहरु गर्मी सुरु भएपछि वैशाख महिनामा साबिककै स्थानमा सर्छन् । विगता मुस्ताङका विद्यालयले पुसअगावै चालु शैक्षिक सकेर नतिजा प्रकाशित गरी फागुनमा नयाँ शैक्षिक सत्र सुरु गर्ने गथ्र्ये । तर, पछिल्लो समय सरकारले देशभरमा एउटै शैक्षिक सत्र कायम गर्ने नीति लिए पनि जाडोका कारण यहाँका विद्यालय बन्द गर्नुपर्ने अवस्था छ ।
चालु सत्र कायम रहने र हिउँदे २ महिना लामो बिदाले विद्यार्थीको सिकाइ प्रभाविता हुने अभिभावकहरुको गुनासो छ । हिमाली जिल्लामा विगतमा जस्तो शैक्षिक शत्र उपयुक्त हुने उनीहरु सुझाउँछन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया