
पोखरा । कोदो ढिलो, रोटी चलनचल्तीकै परिकार हो । तीन पाने र जाँड वर्षौं अघिबाट नै चर्चामा थिए । पछिल्ला केही वर्ष यता निमकिन, सेलरोटी अनि मःम बनिरहकै छन् । अहिले कोदोको विस्कुट नै बजारमा पाइन थालको छ, त्यो पनि प्याकिङका साथमा । स्वास्थ्यवद्र्धन भएका कारण बिस्कुटको माग बढिरहेको छ ।
कोदोको बिस्कुटको उत्पादन गरिरहेका छन्, बागलुङका चानसिंह श्रीसमगरले । साथीसँगी भविष्य खोज्दै बिदेशिएका बेला काठेखोला गाउँपालिका–८ का ३४ वर्षीय श्रीसले गाउँमै बसेर कोदोमा भविष्य खोजिरहेका छन् । उनले गाउँका ७ जनालाई विदेश जान रोकेका छन् । उनी अहिले कोदोको बिस्कुट उत्पादनसँगै बजारीकरणमा तल्लिन छन् ।
कोरोनाले कोदाको बिस्कुट उत्पादनमा लाग्ने बाटो खोलिदिएको उनी सुनाउँछन् । अध्ययनको क्रममा काठमाडौंमा व्यावसायतर्फ लागेका उनलाई कोरोनाले गाउँ फर्कायो । गाउँ फर्केर उनी बिस्कुट उत्पादनमा तल्लिन छन् । गाउँकै विद्यालयबाट १२ कक्षासम्मको अध्ययनपछि थप अध्ययनका लागि गाउँकै एक साथीको लहैलहैमा काठमाडौं पुगे । ‘गाउकै एक जना साथीले प्लस टु पास गरेपछि उसले मलाई सीए पढ्न काठमाडौं जाउँ भन्यो,’ चानसिंह सम्झन्छन्, ‘साथीले भनेपछि हार्न नसक्ने स्वभावको मान्छे म, लौ त भनेर गएँ ।’
कोदोको बिस्कुटबाट चानसिंहले मासिक ३० देखि ५० हजार रुपैयाँसम्म बचत गरिरहेका छन्
काठमाडौंमा सीएको पढाईसँगै शंकरदेव क्याम्पसमा बीबीएसमा पनि भर्ना भए । विविध कारणले उनले सीए पास गर्न सकेनन् तर, बीबीए राम्रैसँग सकाए । ‘व्यवस्थापन संकाय पढेको भएर होला जागिर हैन व्यावसाय गर्नुपर्छ भन्ने छाप बस्यो,’ उनी सुनाउँछन् । सोही कारण काठमाडौंमै खाजा घर चलाएको उनले बताए । २०७३ सालमा टुकुचा गल्लीमा खाजाघर खोलेको दुई वर्षमा चानसिंहको व्यवसाय विस्तार भइसकेको थियो । २०७५ मा डिल्लीबजार हाइटमा भोजनालय खोले ।
खाजा घर राम्रै चलेको थियो । त्यही बेला कोरोनाले उनको व्यावसाय तहसनहस बनायो । खाजाघरमा घाटा हुने शंका लागेर बेचेर झिटीगुन्टा बोकेर गाउँ फर्किए । त्योभन्दा अघि नै उनले गाजा इन्टरनेशनल इनभेष्टमेन्ट एण्ड रिसर्च सेन्टर प्रालि दर्ता गरेका थिए । गाउँ जानु अघि त्यही कम्पनीबाट केही गर्छु भन्ने सोंचिसकेका थिए ।
खाजाघर चलाउँदै गर्दा गण्डकी प्रदेश सरकारले उद्योग व्यवसाय गर्नेलाई अनुदान दिने भन्दै योजना ल्याएको थियो । त्यो थाहा पाएपछि उनले पनि त्यसका लागि आवेदन दिए । आवेदन दिएको केही समयमा पनि उनलाई गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ दिने भयो । प्रदेश सरकारको १० लाख रुपैयाँ अनुदानका लागि स्वीकृत गर्नु र कोरोनाले गाउँ लखेटिनुपर्ने बाध्यताले कोदोका बिस्कुटको उत्पादन संयोग मिलेको उनको भनाइ थियो ।
उद्योग सञ्चालन गर्न पाएको अनुदान सदुपयोग गर्न उनले कोदोलाई नै प्राथमिकतामा राखेको उनले बताए । कोदो नै रोज्नुको कारण भने सीए पढ्दा गरिएको भारतको तालिम भ्रमण रहेको उनले सुनाए । ‘सीए दोस्रो सेमेस्टर पढ्दा ट्रेनिङका लागि भनेर भारत गएको थिए । त्यहाँ मैले केही बिस्कुट उद्योगको समेत अवलोकन गर्ने मौका पाएको थिए,’ उनले भने, ‘आफ्नै गाउँमा पाइने कच्चा पदार्थ प्रयोग भएको समेत देखें । त्यसपछि कोदोलाई नयाँ उत्पादनमा जोड्नपर्छ भन्ने प्रेरणा मिल्यो ।’
उद्योगका लागि चाहिने कुटानी पिसानी गर्ने मेसिन र पकाउने मेसिन ओभन लगायतका आधारभूत सामानहरू पोखरा, बागलुङ र बुटवलबाट ल्याए भने घरेलु सामानको प्रयोग गर्न मिल्ने ठाउँमा घरेलु नै प्रयोग गरे । सबै जोरजाम गरेर २०७८ असार २३ गते गाजा इन्टरनेशनल इनभेष्टमेन्ट एण्ड रिसर्च सेन्टर प्रालिद्वा।ा सञ्चालित बिस्कुट उद्योग उद्घाटन गरे । ‘प्रदेशको कृषि मन्त्री लेखबहादुर थापा हुने बेलामा अनुदान पाएको हुँ । उद्घाटन गर्ने बेलामा चन्द्रबहादुर बुढा मन्त्री हुनुहुन्थ्यो उहाँलाई नै ल्याएर उद्घाट गरेका हुँ,’ उनले भने, ‘त्यो बेलासम्म पनि कसरी बनाउने भन्ने थाहा थिएन् एउटामा मात्र उद्देश्य भनेको कोदोको बिस्कुट बनाउने भन्ने थियो ।’
सुरुमा बिस्कुट उत्पादन गरेर परिक्षणका लागि सरकारी कार्यालय र गाउँलेलाई चखाएको उनी सम्झन्छन् । बिस्कुट बनाउन प्रयोग गरिने कोदो, गहुँ, दूध, घ्यू, चिनी, तेलको मात्रा कति राख्ने भन्ने उनीहरुको प्रतिक्रियापछि निर्धारण गरिएको उनी सम्झन्छन् । धेरै लामो प्रयासपछि गएको डेढ वर्षदेखि प्याकिङ गरेर बजारीकरण गर्न लागिएको उनले बताए । ‘बजारमा गहुँ, जी र मकैको बिस्कुट आए पनि कोदोको बिस्कुट आएको थिएन । मैले कोदोलाई ब्रान्डिङ गर्नुपर्छ भन्ने सोचका साथ यता लागें। सायद देशमै कोदोको बिस्कुट उत्पादन गर्ने हाम्रो उद्योग पहिलो हो,’ उनले भने । गाउँमा रहेको कच्चा पदार्थ कोदोलाई ब्रान्ड बनाउन सके कोदोको उत्पादन बढ्ने उनको सोच छ ।
सुरुमा प्रदेश सरकारले दिएको १० लाख रुपैयाँमा आफ्नो तर्फबाट १२ लाख ५० हजार थपेर व्यावसाय सुरुवात गर्दा गाउँलेले बौलाहाको उपमा दिएको पनि उनी सम्झन्छन् । ‘यत्रो पैसामा त घर घरेडी बन्थ्यो, यसले के गर्न लाग्यो भनेर यो बौलायो क्यो भनेर पनि भने,’ उनले विगत सम्झिए । अहिले उनको लागनी बढेर १ करोड रुपैयाँभन्दा बढि पुगेको उनले बताए ।
व्यावसायिक तरिकाले उत्पादन थालेको पहिलो दिन चानसिंहको उद्योगबाट ७० ग्रामको ६२ प्याकेट उत्पादन बिस्कुट उत्पादन भएको थियो । समयसँगै उद्योगलाई अद्यावधिक र क्षमता विस्तार गर्दै जाँदा केही अहिले प्रतिदिन ६ हजार प्याकेटसम्म उत्पादन भइरहेको उनले बताए । बजारमा अहिले २० र ३० रुपैयाँका प्याकेट उपलब्ध छन् ।

श्रीसले अहिले कोदोको बिस्कुट उत्पादन गरेर मासिक ३० देखि ५० हजार रुपैयाँसम्म बचत गरिरहेका छन् । यसमा धेरै फाइदा नभएपनि स्थानीय उत्पादनलाई प्रशय दिन लागिपरिहेको उनले सुनाए । ‘अहिले दैनिक ५/६ हजार प्याकेट बिस्कुट उत्पादन त हुन्छ तर, यसमा मार्जिन नै हुदैन्,’ उनले भने, ‘एउटा किन्नेलाई २०/३० रुपैयाँ रेट भयो त नि । सुरुमा डिलरलाई दिन्छौं अनि रिटेललाई दिएर मार्केटमा जान्छ । त्यसैले फाइदा छैन्, रैथाने बालीको प्रवद्र्धन गरौं भनेर यता लागेको छु ।’
कोदोको विस्कुटको बजारीकरणको काम पोखराको मन्त्रश्री ट्रेडर्सले गरिरहेको उनले बताए । चितवन, बुटवल र काठमाडौंमा यसको रिटेल रहेका छन् । उनले उत्पादन गरेको कोदोको बिस्कुट अष्ट्रेलिया र क्यानेडा पनि निर्यात भइरहेको उनले सुनाए । यि सबै कारण कोदो बिस्कुट उत्पादनबाट उनी सन्तुष्ट छन् । ‘यसबाट बजारमा कोदोका बिस्कुट बनाउने मान्छे यो हो भनेर चिनारी दिएको यसैमा सन्तुष्ट छु,’ उनले भने, ‘यसैका कारण विभिन्न ठाउँमा सम्मान पाएको छु, मेरो गुडविल नै यही हो भन्ने लाग्छ ।’

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया