सम्पादकीय—पृथ्वी राजमार्ग स्तरोन्नतिको ढिलाइ

समाधान संवाददाता २०८१ पुष ७ गते ११:०८

सम्झौता अनुसार काम भएको भए अहिलेसम्म पृथ्वी राजमार्गको स्तरोन्नति पूरा भइसक्थ्यो । गण्डकी प्रदेशको राजधानीलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने यो एकमात्रै स्थलमार्ग हो । बाँकी देशसँग पनि पोखरालाई यही राजमार्गले जोड्छ । सिद्धार्थ राजमार्ग पश्चिम नेपालसँग पोखरा जोड्ने वैकल्पिकमार्गमात्रै भएको छ । जुन धेरै साँघुरो छ । घुम्तीहरु धेरै छन् । तसर्थ पश्चिम आउजाउ गर्न पनि पृथ्वीराजमार्गकै भर पर्नुपरेको छ । पृथ्वी राजमार्ग ३१ सालमा निर्माण पूरा भएको थियो । यसले धेरै वर्ष यातायात सेवालाई धानेको मान्नुपर्छ । तर सवारी चाप वृद्धि भएसँगै यसलाई स्तरोन्नति गर्नुपर्ने देखिएकाले त्यसको सुरुआत २०७८ साल भदौबाट भएको थियो । सरकारले यो राजमार्ग स्तरोन्नतिका लागि चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनलाई जिम्मेवारी दिएको छ ।

Advertisement


चिनिया कम्पनीले २०८१ भदौभित्र सक्नुपर्ने काम नसकेपछि पहिलोपटक सय दिनको म्याद थपिएको थियो । तर त्यस अवधिमा पनि काम सकिएन । र, दोस्रोपटक म्याद थप भएको छ । पृथ्वी राजमार्ग भने पनि स्तरोन्नतिको मुख्य कामचाहिँ मुग्लिनदेखि पोखरासम्म भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा ७ अर्ब रुपैयाँमा यो खण्डमा काम भइरहेको छ । र मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रोपटक थप गरिएको हो ।

तनहुँको जामुनेदेखि पोखरासम्मको खण्डमा दोस्रोपटक म्याद थप गरिएको हो । २०८२ पुस १६ गतेसम्मका लागि थपिएको म्यादमा पनि काम भइदिए धन्य भन्नुपर्ने अवस्था छ । किनभने अहिलेसम्मको प्रगति हेर्दा त्यो समयमा पनि काम पूरा हुने संकेत छैन । यो खण्डमा अहिलेसम्म ३४ दशमलव ९४ प्रतिशत भौतिक प्रगति भएको छ । आधाभन्दा धेरै काम बाँकी छ । ३ वर्ष पनि पूरा नभएको कामको आधाभन्दा धेरै वर्ष दिनमा कसरी पूरा होला ?


नेपालीहरुले सुन्दै आएको चिनिया कामको नमुनाचाहिँ यो राजमार्गमा अनुभव गर्न पाएका छैनन् । चिनमा त रातारात कैयौ किलोमिटर सडक बन्छ भन्ने सुनिएकोमा चिनिया ठेकेदारको ताल नेपालमा चाहिँ ठिक विपरीत छ । त्यसो त नारायणगढ—बुटवल खण्डमा पनि चिनिया ठेकेदारले ६ वर्षमा पनि काम पूरा गरेको छैन । यी कामहरु नहुनु र ढिला हुनुलाई सामान्य मान्न मिल्दैन । देशका प्रमुख राजमार्गमै र त्यो पनि अन्तर्राष्ट्रिय निर्माण कम्पनीको शैली यति विधि ढिला हुन्छ भने नेपालीले चाहेको समृद्धिको सपना साकार हुन धेरै समय लाग्छ ।

Advertisement

तपाईको प्रतिक्रिया