पोखरामा कराँते च्याम्पियनसिप सम्पन्न, हिमाली बाल कल्याण संरक्षण मञ्च विजेता

पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ भकुण्डेमा आयोजित तेस्रो जुनियर जिल्ला स्तरीय एफ.डब्लु.एच.सी. कराँते च्याम्पियनसिप भएको छ ।
हिमाली स्काउट ट्रुपद्वारा आयोजित यस प्रतियोगितामा ३६ विद्यालय र ११ कराँते डोजोका कुल २०७ खेलाडीहरूले उत्साहजनक प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा विभिन्न तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रदेश सभा सदस्य प्रकाश बरालले मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए।
पुरुषतर्फ हिमाली बाल कल्याण संरक्षण मञ्चका जिनेश गुरुङ र महिलातर्फ एसओएस बहिनीका एसिया नेपालीलाई उत्कृष्ट खेलाडी घोषित गरियो।
बाल कल्याण संस्थाका प्रबीण थापालाई सबैभन्दा अनुशासित खेलाडीको उपाधि प्रदान गरियो। हिमाली बाल कल्याण संरक्षण मञ्चले कुल ६ स्वर्ण, ४ रजत र १ कांस्य पदक जित्दै प्रथम स्थान हासिल गर्यो।
दोस्रो स्थानमा हिमाली विद्यालय पोखरा र तेस्रो स्थानमा लामाचौर डोजो र मालेपाटन डोजो रहे।
प्रतियोगिताले खेलाडीहरूमा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्य राखेको थियो।
समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूले खेलाडीहरूको मेहनतको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले खेलकुदको क्षेत्रमा सकारात्मक योगदान पुर्याउने बताएका थिए।
आयोजक संस्थाले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भविष्यमा अझ ठूलो स्तरमा यस्ता प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।
तपाईको प्रतिक्रिया