आमा सम्झाउने ‘मातृचक्र’

सुन्दरकुमार थकाली २०८१ पुष ९ गते ११:०३

जोमसोम ।
घुमघाम र पितृउद्धारका भीड लाग्ने मुस्ताङमा अनेक पर्यटकीय स्थल छन् । जोमसोममा आमाको याद ताजा गराउने ढुंगै ढुंगाले बनाइएको मातृचक्र छ । २००८ मा अस्ट्रेलियाका मूर्तीकार एन्ड्रयु राजर्सले निर्माण गरेको ‘रिदम अफ लाइफ’ अर्थात भुलभुलैया (जीवन रेखा) विन्डिङ पाथलाई घरपझोङ गाउँपालिकाले केही महिनाअघि मात्रै आमा सम्झाउने मातृचक्रको नामाकरण गरिएको हो ।

Advertisement


जोमसोम स्थित सशस्त्र प्रहरी बल ३३ नं. गुल्मनजिकै दक्षिणतर्फ सख्खर माटोको ढिस्काको फेंदमा त्यस समय रोजर्सले २ रिदम अफ लाइफ नामका विन्डिङ पाथ ल्यान्ड आर्ट निर्माण गरेका थिए । जोमसोम स्थित जनहित युवा क्लबको समन्वयमा सयौं स्थानीय परिचालन गरी रोजर्सले उक्त ल्यान्ड आर्ट बनाएका थिए ।


रोजर्सले विश्वका धेरैजसो राष्ट्रका यस प्रकारका मौलिक कलात्मक विन्डिङ ल्यान्ड आर्ट निर्माण गरिसकेका छन् । जोमसोममा झन्डै २ महिना खर्चिएर रोजर्सले २ पृथक प्रकारका विन्डिङ पाथ बनाएका थिए । रोजर्सले हेलिकोप्टरबाट समेत त्यसको फोटो तथा भिडियो कैंद गरेका थिए ।


रोजर्सले जोमसोममा उक्त पूर्वाधार निर्माण गरेपछि कुनै पनि निकायलाई हस्तान्तरण नगरी त्यसै छाडेका थिए । रिदम अफ लाइफ एउटा गोलाकार र अर्को केही भिन्न प्रकारको ल्यान्ड आर्ट थियो । सन् २००८ मा निर्माण गरिएको रिदम अफ लाइफ संरक्षण अभावमा जीर्ण बनेर मासिएको छ । अर्को गोलाकार ढुंगैढुंगाले बनेको रिदम अफ लाइफ पनि भग्नावशेष बनेको छ ।


जोमसोम बजारबाट अवलोकन गर्दा निकै आर्कषक र मनमोहक देखिने रिदम अफ लाइफ भूकला वाल सरक्षण अभाव बनेपछि त्यसको संरक्षण, सम्वद्धन र प्रर्वद्धनमा घरपझोङ गाउँपालिका जुटेको छ । रोजर्सले निर्माण गरेको जोमसोममा अवस्थित भूकलात्मक पर्खाललाई १६ वर्षपछि स्थानीय तहले संरक्षणको पहल गरेको हो ।

Advertisement


लाखौं खर्चिएर विदेशी कलाकारले निर्माण गरेको भूकला रिदम अफ लाइफको वाल मर्मत, स्तरोन्नति र आवश्यक रंगरोगनका लागि घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले तलब भत्ता खर्चिएका हुन् । गाउँपालिका अध्यक्षले लालचनले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले बताए ।


पालिका प्रमुख लालचनले आफ्नै खर्चले ढुंगैढुंगाको चक्रलाई मर्मत सम्भार गरी चिटिक्क बनाएका छन् । रोजर्सले निर्माण गरेको रिदम अफ लाइफलाई घरपझोङ गाउँपालिकाले आमा सम्झाउने ‘मातृचक्र’का नामले पर्यटकमाझ परिचित गराउन खोजेको छ ।


घरपझोङ गाउँपालिका अध्यक्ष लालचनले पर्यटन प्रर्वद्धनका लागि आमा सम्झाउने मातृचक्रले महत्वपूर्ण योगदान दिने दाबी गरे । ‘वर्षौसम्म संरक्षण नहुँदा जीर्ण बनेको सम्पती संरक्षणको प्रयास गरेका हौं, कसले बनायो, किन बनायो भन्नुभन्दा पनि यसको दीगो व्यवस्थापन र संरक्षण महत्वपूर्ण पाटो हो,’ अध्यक्ष लालचनले भने, ‘सार्वजनिक सम्पत्ति रक्षा गर्ने दायित्व स्थानीय तहको हो, हामीले यसलाई नयाँ नाम दिएर पर्यटनसँग जोड्ने प्रयास गरेका हौं ।’


मातृचक्रमा एक फन्को परिक्रमा लगाउन करिब आधा घन्टा लाग्छ । सुरुमा जुन स्थानबाट चक्रभित्र प्रवेश गरिन्छ, चक्र परिक्रमापछि सोही स्थानबाट बाहिरिनुपर्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया