कोल्मा क्रस कन्ट्रीमा आर्मीको बर्चस्व

पोखरा । स्याङ्जाको कोल्मामा आयोजित क्रस कन्ट्री दौड प्रतियोगितामा आर्मीले बर्चस्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको दौडको उपाधि नेपाली सेनाका धावक करण रावलले जितेका हुन् ।
‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने नाराका साथ आयोजना गरेको राष्ट्रिय स्तरको क्रस कन्ट्रीमा रावलले २५ किलोमिटर१ घण्टा २७ मिनेट ५२ सेकेन्डमा पार गर्दै उपाधिसहित नगद ५० हजार, ट्रफी र मेडल हात पारे ।
नेपाली सेनाकै टंकबहादुर कार्कीले १ घन्टा ३२ मिनेट ९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो हुँदा १ घन्टा ३२ मिनेट ५६ सेकेन्डमा पार गर्दै रमेश लिम्बुले तेस्रो बने । कार्कीले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने लिम्बुले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
पुतलीबजार ९ कोल्मा बराहचौरबाट सुरु भएको दौड सतीडाँडा, काउले, थुम्कीडाँडा, जिमिरे मन्दिर हुँदै पुन बराहचौरमा आएर टुंगिएको हो । २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर क्रस कन्ट्री दौडको उपाधि सनम गुरुङले हात पारे । ४६ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै गुरुङले उपाधिसहित नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता बनेका सल्यानका रुद्र बुढाथोकीले ५० मिनेट १४ सेकेन्डमा दूरी पार गरे ।
बुढाथोकीले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा गोर्खाका अशोक बरामले निर्धारित दूरी ५१ मिनेट ५१ सेकेन्डमा पार गर्दै तेस्रो स्थानसहित नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
खुला महिलातर्फ १० किलोमिटर क्रस कन्ट्री दौड रविना बुढामगरले १ घन्टा १२ मिनेट २६ सेकेन्डमा पूरा गरिन् । बुढामगरले उपाधिसहित नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् भने उपविजेता विमला मानन्धर ठहरिइन् । मानन्धरले १ घण्टा १५ मिनेट २८ सेकेन्डमा दूरी पूरा गरी नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएकी छन् ।
विद्यार्थीतर्फ पाँच किलोमिटर दौडमा कोल्मा बराहचौरका विद्यार्थीको समूह विजेता र उपविजेता बन्दा जनजागृति माध्यमिक विद्यालयको समूहले तेस्रो स्थान प्राप्त ग¥यो । रिले दौडको विजेताले नगद १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ८ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो स्थान हाँसिल गर्नेले नगद ४ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, सात सय कोल्मा सम्पर्क मञ्च अध्यक्ष सुवेदार मेजर दुतप्रसाद गुरुङ, गण्डकी प्रदेशका पूर्व मन्त्रीद्वय दीपक चर्ती मगर र मेखलाल श्रेष्ठ, पुतली बजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल लगायतले पुरस्कार वितरण गरे ।
मुख्यमन्त्री पाण्डेले पर्यटकीय सम्भावना बोकेको कोल्मामा खेलकुदको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रातो किताबमै समेटेर बजेट निकासा गर्ने प्रतिवद्धता जनाए ।
तपाईको प्रतिक्रिया