पोखरामा किसुनजीको स्मरण

पोखरा । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री नेता किष्णप्रसाद भट्टराई (किसुनजी)को १०१ औं जन्मजयन्तीको अवसरमा विचार गोष्ठी आयोजना गरिएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजनामा भएको गोष्ठीमा पूर्वमन्त्री दीपकुमार उपाध्यायले किसुनजीको जीवनीबारे प्रकाश पारे ।
आध्यात्मिक व्यक्तिसमेत रहेका किसुनजीमा स्वार्थको भाव नरहेको र आफू हारेर पनि पार्टी र देशको फाइदाका लागि सधै लडेको उनको भनाइ छ, राजनीतिमा हार र जितले कुनै प्रभाव नपार्ने बताउँदै उनले किसुनजीले आफूलाई जित र हारभन्दा माथि राख्नुपर्ने पाठ सिकाएको टिप्पणी गरे ।
‘अहिलेको राजनीति अनैतिक, छलछाम, स्वार्थमा बगेको देखिएको छ । डन र धनको संस्कृति मौलाएर गम्भीर रोगको शिकार बन्न पुगेको छ,’ उनले भने, ‘अब रोग लाग्यो, यसलाई सर्जरी नै गर्नुपर्ने अवस्था आएको छ, अरुलाई दोष दिने होइन, सत्यको खोजी गरेर असत्यलाई चिर्ने प्रयास गरिएन भने पार्टी खतराको अवस्थामा आइपुगेको छ ।’
पूर्वमन्त्री उपाध्यायले किसुनजीले सत्ता प्राप्तिभन्दा मोक्षलाई लक्ष्य बनाएको सुनाए । किसुनजीले अवसर आएपछि अन्तरिम संविधान र निर्वाचन समयमा नै गरी साहस देखाएको जनाउँदै उनले भाषणमा नभई व्यवहारमा देखाएका कामले उनलाई सदा अमर राखेको तर्क गरे ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले किसुनजी लगायतका नेताको त्याग, तपस्या आज पनि अनुकरणीय भएको औंल्याए । सभापति शर्माले राज्यको जिम्मेवार पदमा हुँदा वा नहुँदा पनि आफूलाई नचुकाएका आदर्श पुरुषका रुपमा उनले चित्रण गरे ।
शर्माले सत्य र निष्ठाको राजनीति गरेमा कहिल्यै पनि शिर झुकाउनु नपर्ने र पार्टी र संगठन बलियो हुने उल्लेख गरे । शर्माले ‘प्रजातन्त्र विना जनता र राज्यको जीवनस्तर सकारात्मक परिवर्तन असम्भव भएकोमा जोड दिए । उनले भने, ‘प्रजातन्त्रमा जनता मालिक, कार्यकर्ता पार्षद र नेताहरु सेवक हुन्छन् । आज ठीक उल्टो भएको छ ।’ सबै विरासत छोडेर म नै सर्वव्यापी हो भनेर आउँदा आज पार्टी र देशको अवस्था नाजुक बन्न पुगेको उनको भनाइ छ ।
किसुनजी लगायतका अग्रज नेताहरुको योगदान कार्यक्रममा होइन, व्यवहारमा उतार्ने बेला आएको उनले जनाए । शर्माले जनता र राज्यको हितमा काम गरे पहिलाको विरासतमा कांग्रेसलाई लैजानुपर्नेमा जोड दिए ।
प्रजातन्त्र स्थापनाका लागि कृष्णप्रसाद भट्टराईले १८ वर्ष जेल जीवन बिताएको र सदैव नेपाली जनताको जीवनस्तर उकास्न चिन्तित रहने गरेको उनी बताउँछन् । किसुनजी जस्तो नेता संसारमा बिरलैमात्र पाउन सकिने दाबी गर्दै शर्माले गिरिजाबाबु, गणेशमान, सुवर्णशमशेर सहित नेताहरुलाई मिलाएर कांग्रेसलाइ बलियो बनाउन किसुनजीको योगदान महत्वपूर्ण रहेको सम्झना गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले गण्डकी प्रदेशले गरेको गोष्ठीले किसुनजीको जीवनीलाई कार्यकर्तामाझ लैजान महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका थिए । भट्टराईले कांग्रेसमा गिरिजाबाबु र किसुनजीको बीचमा द्वन्द बढाउन खोज्ने केही नेतासमेत रहेको बताउँदै आफू किसुनजीको प्रेरणाबाट राजनीतिमा सक्रिय बनेकोसमेत स्पष्ट पारे ।
भट्टराईले घर, परिवारको माया मोह र सबै दबाब र प्रभावबाट मुक्त भएर देश र जनताका लागि सदैब क्रियाशील रहने प्रेरणा किसुनजीबाट नै मिल्ने भएकाले कांग्रेसजनले किसुनजीको इतिहास पढ्नुपर्नेमा जोड दिए । कांग्रेसका पूर्व सभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले किसुनजीले सिकाएको निष्ठा र त्याग सदा अमर रहने विचार राखे ।
उनले कांग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुपर्छ भनेर सदैब लागिपर्ने नेताको रुपमा किसुनजी रहेको स्पष्ट पारे । नेपाली कांग्रेस सभापति अध्यक्ष किशोरदत्त बरालले पार्टीलाई उत्पादन जोड्नुपर्ने विचार राखे । कार्यक्रममा प्राडा कुशुमाकर न्यौपाने, नेपाली कांग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछाने, सहमहामन्त्री कोपिला रानाभाट, प्रवक्ता माधव बास्तोला (मधु), प्रचार विभाग उपप्रमुख शिरोमणि बराल लगायतले बोलेका थिए ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया