माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस खेल्न जापानदेखि हङकङसम्मका खेलाडी पोखरा

समाधान संवाददाता २०८१ पुष १० गते १३:१२

पोखरा ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ। आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ ।

Advertisement


बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि भेट्रान्स उमेर समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नवीन चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए ।


आयोजक समितिका उपाध्यक्षसमेत रहेका चालिसेका अनुसार प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरूसहित मित्रराष्ट्र भारत, भुटान, बेलायत, जापान, हङकङ लगायत मुलुकबाट खेलाडीहरू पोखरा आउने छन् ।


ओपनतर्फ नेपालका शीर्ष वरीयताका प्रदीप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा, र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङ लगायत खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जनाए। मेन्स सिंगल्समा ३१ खेलाडी, उमन्स सिंगल्समा ११ खेलाडी, ३५ वर्षमाथि ३२ खेलाडी, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना गरी सयभन्दा बढी खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनले बताए ।


पत्रकार सम्मेलनमा बोल्दै कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले यो प्रतियोगिताले पोखराको खेल पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। प्रतियोगिता सम्पन्न गर्न २१ लाखभन्दा बढी खर्च हुने कुरा कास्की टेनिस संघका कोषाध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिए । पुरस्कारमा मात्रै करिब ८ लाख खर्च हुने थापाले बताए ।

Advertisement


ओपनतर्फ मेन्स तथा उमेन्स सिंगल्स विजेताले नगद ८० हजार, उपविजेताले ४० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद २० हजारसहित मेडल पुरस्कार प्राप्त गर्ने छन् । मेन्स तथा वुमेन्स डबल्सतर्फ विजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्ने छन् ।


३५ वर्षमाथिको सिंगल्स विजेताले नगद ६० हजार, उपविजेताले ३० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १५ हजारसहित मेडल पुरस्कार प्राप्त गर्ने छन् । ३५ वर्षमाथिको डबल्स विजेताले नगद २० हजार, उपविजेताले १० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्ने छन् ।


४५ वर्षमाथिको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्ने छन् । ४५ वर्षमाथिको डबल्स विजेताले नगद २० हजार, उपविजेताले १० हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने थापाले बताए ।


कार्यक्रम सञ्चालन गर्दै समितिका सचिव भीष्मराज पौडेलले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे । सो अवसरमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालकै टेनिस इतिहासमा सबैभन्दा लामो समयसम्म निरन्तर रूपमा आयोजना भएको बताए ।

तपाईको प्रतिक्रिया