माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस सुरु

समाधान संवाददाता २०८१ पुष ११ गते २०:५७

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले एक समारोहबिच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारी र प्रतियोगिता संयोजक नवीन चालिसेलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरे ।

Advertisement

मन्त्री थापाले पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेको भन्दै यो खेलको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने आश्वासन दिए । मन्त्रालयले यसअघि ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको सुनाउँदै उनले थप ५ लाख रुपैयाँ सहयोग गर्ने वाचा गरे । खेलाडी राष्ट्रका गहना भएकाले राष्ट्रले खेलाडीको सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

प्रदेश खेलकुद परिषद् गण्डकी सदस्य सचिव श्रीधर शर्माले खेलाडीको सम्मानका लागि राष्ट्रले खेल क्षेत्रमा राम्रो बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालमा सञ्चालित विभिन्न प्रतियोगितामध्ये लामो समयसम्म निरन्तर आयोजित प्रतियोगिता मध्य एक भएको र आगामी दिनमा निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि सहयोगीबाट संघले यस्तै अपेक्षा राखेको सुनाए । आयोजक संघका उपाध्यक्ष नवीन चालिसेले पोखरामा टेनिस खेलको विकासमा निजी क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त भएको बताउँदै यो खेललाई अगाडि बढाउन अब सरकारी सहयोगको पनि खाँचो औंल्याए ।

हालै बहराइनमा भएको डेभिज कपमा नेपाललाई एसिया ओसियाना क्षेत्रमा डिभिजन ५ बाट ४ मा पुर्‍याउने खेलाडीहरु अभिषेक बाँस्तोला, प्रदीप खड्का, रितिक राना, प्रणव मानन्धर, प्रणव खनाल तथा टिम व्यवस्थापक गोपाल ज्ञवालीलाई सो अवसरमा सम्मान गरिएको छ । पोखरा टेनिस कम्प्लेक्सभित्र टेनिस कोर्ट निर्माण गरेका हेम गुरुङ, किरण केसी, उत्तम लामा, बिमल बसेल, हङकङ नेप्लिज टेनिस सोसाइटी, सहयोगी नेपाली घरका राजु श्रेष्ठ लगायतलाई सम्मान गरियो ।

Advertisement

प्रतियोगिताको पहिलो दिन भएका खेलमा मेन्स सिंगलमा निहाल जंगबहादुर थापाले विष्णु नेपालीलाई ६–१,६–१ ले, शास्वत बज्राचार्यले नवीन पाइजालाई ७–५,६–४ ले तथा दावा सोनाम शेर्पाले सोमझ श्रेष्ठलाई ६–०, ६–२ ले पराजित गरे । आरब हाडाले बोरिस अधिकारीबाट वाकओभर पाए ।

४५ वर्ष माथिको मेन्स सिंगलमा पोखराका भीष्मराज पौडेलले बुटवलका मनोज नेपाललाई ६–१, ६–३ ले, विकास गुरुङले माधव भण्डारीलाई, बलराम सापकोटाले दोर्जे लामालाई, हेमराज ढकालले मनोज ढुंगानालाई, हर्क गुरुङले विज्ञान प्रधानलाई पराजित गरे । मेन्स ३५ वर्षमाथिको सिंगलतर्फ विकास गुरुङ हङकङले प्रकाशराज वाग्लेलाई, प्रकाश गुरुङले सविन श्रेष्ठलाई, गगन महर्जनले मनोज महर्जनलाई, भीष्म गुरुङले हर्षवर्धन रावलाई, डा मदन थापाले डा. देव थापालाई, मच्छिन्द्र थापाले विष्णु थापालाई, हेमचन्द्र गुरुङले समीर शेरचनलाई, राजकुमार गुरुङले विष्णु चापागाईंलाई, नारायण पहारीले वीरेन्द्र लामालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका छन् ।

तपाईको प्रतिक्रिया