गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन गर्न पदयात्रा   

समाधान संवाददाता २०८१ पुष १२ गते ९:४३

गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत पोखराबाट सिक्लेस–कपुचे–क्होलासोँथर–कर्पुुडाँडा–याङ्जाकोटहुँदै पुनः पोखरा जोडिने पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।    
    
सङ्घको आयोजनामा यही पुस ६ गतेदेखि सुरु गरिएको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले सहयोग रहेको कार्यक्रम संयोजक एवं सङ्घका संस्थापक अध्यक्ष बोबरजङग गुरुङले जानकारी दिए ।

Advertisement

    
पर्यटन व्यवसायी, पथपर्दशक, सञ्चारकर्मीसहित ४५ सदस्यीय टोलीले प्रवर्द्धन कार्यक्रम अन्तर्गत सिक्लेसबाट पदयात्रा सुरु गरी कपुचे हिमताल, कोरी, क्होलासोथर, कर्पुडाँडा हुँदै याङ्जाकोटसम्म यात्रा गरेको उनले जानकारी दिए । सडक सञ्जाल विस्तारसँगै पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा गुरुङ सम्पदा पदमार्ग महत्त्वपूर्ण विकल्प बन्न सक्ने उनले बताए ।

    
“पदयात्रामार्गका विभिन्न ठाउँमा पूर्वाधार व्यवस्थित गर्नुपर्ने देखिन्छ”, उनले भने , “पदमार्गका ठाउँठाउँमा होटेललगायतका पूर्वाधार विकास आवश्यक छ भने सञ्चार सुविधा, खानेपानी लगायतको व्यवस्थापन अपरिहार्य छ ।”    
    
पदमार्गमा खोला, मनोरम पोखरी, ठूलाठूला खर्क, तालसँगै आकर्षक पाटनहरु भेटिन्छ । साथै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खला नजिकैबाट अवलोकन गर्न सकिने उनले बताए । प्राचीनकालमा गाईभैँसी तथा भेडा चराउने खर्क तथा गोठलाई जोड्ने मार्गलाई पदमार्गका रुपमा विकास गर्न सकिने संस्थापक अध्यक्ष गुरुङको सुझाव छ ।  रासस

तपाईको प्रतिक्रिया