चाँडै सबै घरमा फोरजीः सञ्चार मन्त्री

पोखरा । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारहरुले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्ने खाँचो औंल्याएका छन् । गण्डकीका संस्थापक मुख्यमन्त्रीसमेत रहेका उनले आफ्नो पालामा गरेका कार्यहरु उल्लेख गर्दै अहिलेका मुख्यमन्त्रीहरु संघसामु निरिहजस्तो भएको टिप्पणी गरे ।
गण्डकी प्रदेश सरकारले आफ्ना पालामा सुरु गरेका कार्यक्रमको जगमा टेकेर जान नसकेको उनको टिप्पणी छ । मन्त्री गुरुङले भने, ‘सातै प्रदेशका कुनै मुख्यमन्त्रीले पनि यति बजेटले पुग्दैन भनेर बोलेको मैलेचाहिँ सुनेको छैन । उहाँहरुमा संविधान कार्यान्वयन भन्दा पनि पद जान्छ कि भन्ने डर देखियो ।’
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङलेसंविधान संशोधनको पक्षमा भए पनि संसदीय अंकगणितको आधारमा मात्रै संशोधन नगरिने प्रष्ट पारे । उनले सत्तारूढ प्रमुख २ दलले अरु दलसँग पनि छलफल गरी संशोधन प्रक्रियाअघि बढाउने जनाए । संविधानका मूल विशेषता संघीय, गणतन्त्र, समानुपातिक, समावेशितालाई अझै प्रभावकारी बनाउँदै अरु विषय आवश्यकताका आधारमा संशोधन गर्नुपर्नेमा उनको जोड छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले पोखरामा शुक्रबार आयोजना गरेको ‘गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती’ विषयक छलफलमा मन्त्री गुरुङ गुरुङले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।
‘सेटलाइट’का माध्यमबाट ‘फोरजी’ सेवालाई यही वर्ष सबै घरसम्म पुर्याउनुपर्छ,’ उनले भने । बढ्दो साइबर अपराध नियन्त्रण गर्न सरकारले साइबर सेक्युरिटी ऐन ल्याउने तयारी गरेको जानकारी मन्त्री गुरुङले अप्टिकल फाइबर केही सरकारी कार्यालयदेखि पालिकासम्म रहे पनि अबका दिनमा छिटोभन्दा छिटो सबै सरकारी कार्यालयबाट इगभर्नेन्सको अनुभूति दिनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले दूरसञ्चार सेवा सबैले समान सुविधा पाउने गरी विस्तार गर्नुुपर्ने औंल्याए । गाउँपालिका महासंघ गण्डकी प्रदेश अध्यक्ष नवराज ओझाले विकास।, निर्माणका क्रममा सम्बन्धित निकायहरुबिच समन्वय नहुँदा हुुने गरेका कमजोरी हटाउनुुपर्नेमा जोड दिए ।
कार्यक्रममा एनसेलका विशालमणि उपाध्यायले गएका ६/७ वर्षमा टेलिकम कम्पनीहरुको आम्दानीमा गिरावट आइरहेको सुनाए । प्रविधिमा परिवर्तन हुँदा लगानी वृद्धि गरिरहनुपर्ने चुनौती उनले प्रस्तुत गरे । सरकारी सहयोग नभए टेलिकम कम्पनीहरु धरासयी हुन सक्ने उपाध्यायले औंल्याए । उनले मोबाइलमा प्याकेज खरिद गर्दा भ्वाइसमा ७ र डेटामा ८० प्रतिशतसम्म सस्तो पर्ने दाबी गरे ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले प्रदेशका हिमाली जिल्ला मनाङ , मुस्ताङदेखि तराईका नवलपुरसम्म सेवा दिइरहेको बताए । नेपाल टेलिकमसँगै विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थामार्फत इन्टरनेट सेवा दिइरहेको उनले सुनाए । ‘यसको टावर, कभरेज कस्तो छ भनेर स्टडी गरिरहेका छौं,’ उनले भने, ‘हिमाली जिल्लामा थ्रीजीमात्र छ, फोरजी छैन । यी सबै पत्ता लगाएर दूरसञ्चारको नेटवर्क कसरी प्रभावकारी बनाउने भन्नेमा काम गरिहेका छौं ।’
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका प्रबन्ध निर्देशक अर्जुन घिमिरे, इन्टरनेट सेवा प्रदायकको तर्फबाट सुधीर पराजुली, नेपाल दूरसञ्चार कम्पनीका निर्देशक इन्दल यादवले कार्यक्रममा प्रस्तुतीकरण राखेका थिए ।
तपाईको प्रतिक्रिया