लाटोकोसेरो पढ्दै विद्यार्थी !

समाधान संवाददाता २०८१ पुष १४ गते १८:१३

पोखरा । यतिखेर लाटोकोसेरो संरक्षणदूतहरूलाई भ्याइ–नभ्याइ छ । गण्डकी प्रदेशका विभिन्न विद्यालयमा गएर लाटोकोसेरोको संरक्षणका लागि विद्यार्थीहरूसँग अन्तक्र्रिया गरिरहेका छन् । केही वर्षअघि गरिएको अनुसन्धानले विद्यार्थीहरूले गुलेली प्रयोग गर्ने, लाटोकोसेरोको फूल निकाल्ने, र यिनलाई विभिन्न तरिकाले दुःख दिने देखिएको थियो । त्यसपछि यो अभियान सुरु भएको हो ।

Advertisement

गत वर्ष व्हिटली पुरस्कारबाट प्राप्त रकमलाई गण्डकी प्रदेशका विभिन्न जिल्लामा लाटोकोसेरो संरक्षणका लागि प्रयोग गरिएको छ । लाटोकोसेरो संरक्षण दूतहरू केशव सापकोटा, बालकुमार गुरुङ, सुदर्शन पराजुली, आयुष ढुंगाना, ज्योति शर्मा, र दीपा गुरुङले सो अभियानको नेतृत्व गरिरहेका छन् । केशव सापकोटाले भने, ‘विद्यार्थीहरूसँग लाटोकोसेरो संरक्षणका मुद्दाहरूको बारेमा छलफल गर्न पाउँदा निकै खुसी लागेको छ । ठाउँठाउँमा विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा गुलेलीको प्रयोग नगर्ने भनी रहेका छन् ।

सुदर्शन पराजुलीले भने, ‘मैले विद्यार्थीहरूसँग कुरा गर्दा उनीहरू निकै उत्साही पाएँ । म पक्का छु कि भविष्यमा नेपालमा लाटोकोसेरोको संरक्षण सुरक्षित हुनेछ ।’ अहिलेसम्म ४६ विद्यालयका २ हजार ३ सय विद्यार्थीहरूले सो चेतना शिविरबाट लाभ प्राप्त गरेका छन् ।

लाटोकोसेरो अभियन्ता राजु आचार्यले केही महिना अघि पाएको पुरस्कारको रकमले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा सरोकारवालासँग छलफल, लाटोकोसेरो संरक्षण चेतना शिविर, गुलेली नियन्त्रण, लाटोकोसेरो संरक्षण दूतको क्षमता अभिवृद्धि, कृत्रिम गुडको वितरण आदि कार्यहरू भइरहेका छन् ।

प्रकृतिका साथीहरूका निर्देशक आचार्य भन्छन्, ‘मानिसलाई पटक्कै नोक्सान नगर्ने लाटोकोसेरोले मुसा खाएर हामीलाई सहयोग गर्छ। विभिन्न धर्ममा यिनलाई भगवानसरहको दर्जा दिइन्छ । यिनको संरक्षणले पर्यावरण मात्र होइन, समग्र मानवका लागि फलदायी हुन्छ। हामी यही कुरा विद्यार्थी र तिनका माध्यमबाट अरूसम्म पुर्‍याउन चाहन्छौं ।’

Advertisement

तपाईको प्रतिक्रिया