तमु ल्होछारै आँशीमाला !

धनबहादुर गुरुङ २०८१ पुष १५ गते ६:१५

पोखरा । गुरुङ समुदायले आइतबार मध्य रातिदेखि मुप्री ल्होलाई बिदाइ गर्दै छन् । सँगसँगै सप्री ल्होको धुमधामले स्वागत गर्ने तयारी छ । वर्ग अर्थात वर्ष फेरिने दिनलाई यो समुदायले भव्य रुपमा मनाउने गरेका छन् ।

Advertisement


गुरुङहरुको वर्ष फेरिने वा नयाँ वर्ष मनाउने दिन नेपाली क्यालेन्डर अनुसार पुस १५ गते पर्छ । यही दिन ल्होछार÷ल्होसारका रुपमा स्थापित हुँदै गएको छ । गुरुङ भाषामा ‘ल्हो’ अर्थ वर्ष/वर्ग र ‘सार’ को नयाँ/फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार/ल्होछार’ भन्ने गरिएको तमु धिं नेपालका संस्कृति विभाग प्रमुख कृष्णकुमार गुरुङ बताउँछन् ।


१२ राशिजस्तै १२ पशुपंक्षीको नाममा १२ वर्ग विभाजन गरिएको हुन्छ । यसपालि गिद्ध वर्गको बिदाइ गरी सर्प वर्गलाई स्वागत गरिँदै छ । ल्होकोर पद्धतिमा विश्वास गर्नेहरुले ल्होसार मनाउने गर्छन् । ‘ल्होकोर पद्धतिमा विश्वास गर्ने समुदायले ल्होसार÷ल्होछार नामाकरण गरी मनाउने गरेको देखिन्छ,’ उनले भने, ‘विशेषगरी चीन, तिब्बत, मंगोलिया, टर्की, भियतनाम, बर्मा, थाइल्यान्ड, सिंगापुर, जापान, कोरिया, नेपालमा ल्होकोर पद्धतिमा विश्वास गर्ने समुदायको बसोबास छ ।’
ल्होकार अनुसार नै ल्हो अर्थात वर्ष परिवर्तन हुनुलाई ल्होछार भनिएको हो । त्यसमा रहेका पशुपंक्षी भने समुदायअनुसार फरक हुने उनले सुनाए । गुरुङ समुदायको बस्ती विकास र मानव विकासको इतिहास हेर्दा १२ हजार वर्ष अघिदेखि नै यो पर्व मनाउँदै आएको भेटिने कृष्णकुमारको दाबी छ ।

‘नेपाल बन्नुअघि नै गुरुङ जातिको इतिहास भेटिन्छ । त्यसैले कोकोनर क्षेत्रबाट विकास भएको पद्धतिलाई हेर्ने हो भने १२ हजार वर्ष र साइबेरिया क्षेत्रको विकास पद्धति अनुसार १८ हजार पहिलेदेखि ल्होछार मनाउन थालेको भेटिन्छ,’ उनले भने, ‘नेपालकै इतिहास अनुसार कतिपयले ३५ सय वर्ष अघिदेखि भन्ने भन्छन् तर, मेरो आफ्नो अनुसन्धान अनुसार ५५ वर्षदेखि नै ल्होसार मनाउने गरिएको छ ।’

राति १२ बजे ग्रहशान्ति गर्ने हो अनि बिहानको झुल्के घाममा नयाँ ल्होलाई स्वागत गर्ने हो । । यसपछि ३ सय ६० दिन भोग गर्ने जुन ल्हो हो, त्यो राजा हो ।
डा जगमान गुरुङ

Advertisement

तमुसँगै तामाङले सोनाम, शेर्पाले ग्याल्पो ल्होसार पनि वर्ग परिवर्तनसँगै मनाउँदै आएका छन् । गुरुङ समुदायले ल्होछार पुस १५ मै मनाउँछन् अर्थात नयाँ वर्षलाई स्वागत गर्छन् । यसरी पुस १५ मै मनाइनुमा वैज्ञानिकता रहेको प्राज्ञ डा जगमान गुरुङले बताउँछन् । १४ गते राति ग्रहशान्ति गर्ने र १५ गते झुल्के घामसँगै नयाँ वर्ग (ल्हो) लाई स्वागत गर्ने परम्परा छ । ‘राति १२ बजे ग्रहशान्ति गर्ने हो अनि बिहानको झुल्के घाममा नयाँ ल्होलाई स्वागत गर्ने हो,’ उनले भने, ‘यसपछि ३ सय ६० दिन भोग गर्ने जुन ल्हो हो, त्यो राजा हो ।’

ल्होछार आफ्नो घरबाटै पुरोहित राखी र नराखी मनाउन सकिने डा गुरुङले बताए । ‘पुरोहित नराखी मनाउने हो भने घरका बाबु, बाजे, दाइ अथवा आमा, बजैहरूले रिपा लगाइदिने चलन छ,’ उनले भने, ‘यो पनि पहिला पहिला त ऊनको धागो लगाइदिन्थे । अहिले काँचो धागोमा बेसार मोलेको लगाइदिन्छन् ।’ पुरुषलाई ९ सरा ८ गाँठोको र महिलालाई ७ सरा ६ गाँठोको रिपा लगाइदिने चलन रहेको उनले सुनाए ।

पुरोहित राखेर कर्म गरी स्वस्ति शान्ति गर्ने हो भने थासो (ग्रह फाल्ने काम) गर्नुपर्ने उनी बताउँछन् । थासो फाल्ने काम घ्याब्री र लामाले गर्छन् । प्हच्यूले कर्म गरेर दुख दुखेलो पन्छाउने, घ्याब्रीले थासो फालेर स्वस्ति शान्ति गर्ने अनि लामाले छ्यह्यो (आयु/सह बढाउने) को काम लामाले गर्ने डा. गुरुङले उल्लेख गरे ।

पहिले गाउँ, बस्तीमा सीमित ल्होछार अहिले गुरुङको पहिचान स्थापितका गर्नका लागि पोखराका विभिन्न तमु समाजले मनाउने गरेको तमु धिं नेपालकी उपाध्यक्ष गिमाया गुरुङले जनाइन् । सधैं जस्तै यो वर्ष पनि तमु ल्होसारमा तमु धिं नेपालले विविध कार्यक्रम गरिरहेको उनले उल्लेख गरिन् ।

तमु धिंले शनिबार बिहान तमु धिं नेपाल केन्द्रीय युवा समितिको संयोजनमा ल्होछार शुभकामना सडक दौड प्रतियोगिता गरेको छ । तमु धींका कार्यबाहक अध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङले आइतबार बिहान तमु धिं नेपाल केन्द्रीय आमा समितिको संयोजनमा शुभकामना आदानप्रदान र निःशुल्क स्वास्थ्य शिविर, बेलुका ५ बजे पोखरा १७ पार्दी बिरौटास्थित तमु ह्युलचोकमा दीप प्रज्वलनसहित ल्होछार साँस्कृतिक साँझ आयोजना गरेको जानकारी दिए ।

आइतबार नै तमु धिं नेपालमा स्योकैं गरिएको छ । ल्होछारको दिन सोमबार बिहान साढे ११ बजे मानवअधिकारचोक, चिप्लेढुंगामा भेला भई शुभकामना ¥याली २०८१ निकालिनेछ । ¥याली महेन्द्रपुल, नयाँबजार हुदै तमु धिंमा पुगी ल्होछार विशेष कार्यक्रम गरिने कार्यबाहक अध्यक्ष गुरुङले बताए । कार्यक्रममा बिबिध सम्मान, पुरस्कार वितरण, बिशेष साँस्कृतिक प्रस्तुतिका साथै छेलो स्पर्धा हुनेछ ।

गुरुङहरूकै धार्मिक संस्था तमु प्हे ल्हु संघ नेपालले पनि विविध कार्यक्रम गरी ल्होछार मनाइरहेको अध्यक्ष ओमबहादुर थिम्जे तमुले जानकारी दिए । शनिबार रक्तदान, चित्रकला प्रतियोगितासँगै शुभकामना आदानप्रदान गरिएको छ । आइतबार शुभकामना आदानप्रदानसहित, नृत्य प्रदर्शनसहित छेलो, रस्साकस्सी प्रतियोगिता भएको छ ।

१४ गते राति गिद्ध वर्गलाई बिदाइ, सर्प वर्गको स्वागत गर्न राति १२ बजे ‘बोन फायर’ गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए । ल्होछारका दिन बिहानै ४ बजेदेखि नै घ्याब्रीहरूले थासो फाल्ने, प्हच्युहरूले छ्यपो पूजा गर्ने र बोन लमहरूबाट छ्येगुह्येगु (ग्रह काट्ने काम) हुन्छ । प्हच्यु, घ्याब्री र बोन लामाहरूबाट रिपा लगाउने कार्यसँगै शुभकामना आदानप्रदान, सम्मान, खुला नृत्य प्रतियोगिता आयोजना गरिनेछ ।

यस्तै, बौद्ध अर्घौ सदन, रामघाटले पनि ल्होछारको दिन विभिन्न कार्यक्रम गर्दै छ । बिहानैदेखि ग्रहशान्ति दशाको पूजा गरिने बौद्ध अर्घौ सदन, रामघाटका अध्यक्ष रुद्रबहादुर घलेले जानकारी दिए । ग्रहशान्ति गर्ने काम शनिबारदेखि नै सुरु हुने र ल्होछारमा विसर्जन गरिने उनले सुनाए । दर्शन गर्ने, दीप प्रज्ज्वलन, रिपा लगाउने र खाना दानको कार्यक्रम छ ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया