लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

समाधान संवाददाता २०८१ पुष १५ गते २०:०४

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ देखि माघ १ गतेसम्म आयोजना गर्ने २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ हुने महोत्सवको ९५ प्रतिशत तयारी सकिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

Advertisement

संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु भएको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको बताए । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरु बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी एवं बिक्री गरिने जनाए ।

महोत्सवका प्रचारप्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुलीले देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन, पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन महोत्सव गरिएको जनाइन् । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालले महोत्सवको माध्यमबाट स्थानीय उत्पादन प्रर्वद्धन र ब्रान्डिङ गरिनुपर्ने विचार राखे ।

नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले अग्रजले देखाएको बाटोलाई पच्छाउदै जानुपर्ने सुझाव दिए । पोखरा २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट व्यवसायीलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रममा जोड दिए । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका लेखनाथ शाखा प्रमुख शंकरराज तिवारीले महोत्सवले आर्थिक उपार्जनका साथमा व्यावसायिक सीप पनि सिकाउनुपर्नेमा जोड दिए ।

महोत्सवको थप आकर्षणका रुपमा गौतम बुद्धको प्रतिमा निर्माण, अक्वारीयममार्फत सयभन्दा बढी माछाका प्रजाति प्रदर्शन, महिलाको हाजिरिजवाफ प्रतियोगिता, एलइडी डिस्प्लेमार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन छन् । यस्तै, राष्ट्रिय स्तरका कलाकारको स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रम हुने छन् ।

Advertisement

महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत प्रस्तुति, सुगम संगित, लाइभ कन्सर्ट लगायतका मनोरञ्जनात्मक कार्यक्रम पनि हुने छन् । विद्यालय स्तरीय कार्यक्रम अन्तर्गत पुस ११ गते बिहीबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता गरिएको छ ।
महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फ्यकेल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयबाट शैक्षिक प्रदर्शनी हुने छन् । महोत्सवको बचतबाट प्रदर्शनी स्थल र संघको भवन स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीबाट उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि कोसेली घर निर्माण गर्ने योजना छ ।

महोत्सवका सहसंयोजक एवं प्रायोजक व्यवस्थापन तथा उपसमिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले पर्वको रुपमा लिंदै आएको र उत्पादक र उपभोक्तालाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउने गरेको बताए । कार्यक्रममा संघका उपमहासचिव भरतराज ओझा र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले पनि बोलेका थिए ।

महोत्सवलाई व्यवस्थित गर्न ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४८ उपसमिति बनाइएको छ । आवश्यकता अनुसार थप गर्न सकिने गरी १ सय ५३ सदस्यीय कार्यसम्पादन समिति बनेको छ । ३ सय ३६ स्टल रहने महोत्सव २ लाख ५० हजारले अवलोकन गर्ने र ९ करोड कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवबाट ९० लाख आम्दानी हुने र ८० लाख खर्च भई १० लाख बचत हुने अपेक्षा छ । महोत्सव लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुँदै छ ।

तपाईको प्रतिक्रिया