वालिङ महोत्सवमा कृत्रिम ताल र र्‍याफ्टिङको मज्जा

समाधान संवाददाता २०७५ माघ १४ गते १२:०२

समाधान संवाददाता

सातौं वालिङ महोत्सव २०७५ मा आँधीखोलामा कृत्रिम ताल बनाएर जलयात्राको व्यवस्था मिलाइने भएको छ । स्याङ्जाको वालिङ खेल मैदानमा माघ १७ देखि २८ गतेसम्म हुने प्रादेशिक कृषि, पर्यटन संस्कृति एवं औद्योगिक व्यापार मेलामा हेलिकोप्टरबाट यात्रा र साहसिक प्याराग्लाइडिङको अवसरसमेत प्रदान गरिने वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए ।

‘महोत्सवमा आउने दर्शकलाई आँधीखोलामा निर्माण हुने तालमा डुंगामा सयर गर्ने व्यवस्था गरिनेछ,’ अध्यक्ष पौडेलले भने, ‘जलयात्रा गराउन मोटरसहित र सामान्य बोटको व्यवस्था गरिनेछ ।’ अध्यक्ष पौडेलले डुंगामा सयर गर्नेका लागि ६० रुपैयाँ भाडादर कायम गरिएको जानकारी दिए ।

श्रवणकुमारका अन्धाअन्धी बाबुआमाको आँसुबाट उत्पति भएको आँधीखोला स्याङ्जाको पुतलीबजार, वालिङ, गल्याङ नगरपालिका भएर बगेको छ । सिद्धार्थ राजमार्गको समानान्तर रुपमा बगेको आँधीखोलामा महोत्सवको क्रममा १ सय किमी र्‍याफ्टिङको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष पौडेलले बताए ।

Advertisement

वालिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा निर्देशक पुण्यप्रसाद अर्यालले महोत्सवमा प्याराग्लाइडिङबाट पुष्पवृष्टिदेखि हेलिकोप्टरबाट आलमदेवी, गह्रौंकालिका मन्दिर दर्शनको व्यवस्था मिलाइएको बताए । उनले वालिङ नगरपालिका लगायत छिमेकी नगर तथा गाउँपालिकाको आर्थिक, शैक्षिक, पर्यटकीय र सांस्कृतिक उत्थानका लागि गरिने महोत्सवमा करिब १५ करोड कारोबार हुने उल्लेख गरे । करिब १ करोड ५३ लाख आम्दानी हुने महोत्सवका लागि ९० लाख खर्च लाग्ने र ६० लाख बचत गर्ने योजना सुनाए ।

महोत्सवमा करिब ४ सय व्यापारिक स्टल छन् । महोत्सवमा कृषि र हस्तकलाका २५ स्टल निशुल्क रुपमा रहने अध्यक्ष पौडेलले बताए ।

Advertisement

वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले महोत्सवमा वालिङ नगरपालिकाले बनाएको ड्रोमबाट फोटो खिचेर प्रदर्शनीमा राखिने जानकारी दिइन् । सहज र सरल रुपले महोत्सव गर्न नगरपालिकाले सहजीकरण गर्ने उल्लेख गर्दै उपमेयर तिवारीले गरिमा बढाउने काम गरी प्रदेशकै नमूना महोत्सव बनाउने दाबी गरिन् ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले मेला महोत्सवलाई ट्रेड फेयरको रुपमा विकास गर्नुपर्ने बताए । वालिङ उद्योग वाणिज्य संघका सचिव पदमराज गुरुङ, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम शर्मा लगायतले बोलेका थिए । महोत्सवलाई मुक्तिनाथ विकास बैंक मुख्य प्रायोजन र नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेका छन् ।

तपाईको प्रतिक्रिया