एसओएस गण्डकीमा खेलकुद सुरु

समाधान संवाददाता २०८१ पुष १८ गते २०:३७

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४१ औँ खेलकुद दिवस बिहीवार सुरु भएको छ । त्रिदिवसीय खेलकुद समारोहलाई गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले सुरुआत गरे ।

Advertisement

सचिव पाण्डेले समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै एसओएसले निश्चित मूल्य, मान्यतासहित राष्ट्रको गुणस्तरीय शिक्षामा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । विद्यार्थीको शारीरिक तन्दुरुस्तीका अतिरिक्त राष्ट्रिय पहिचानका लागि समेत खेलकुद अपरिहार्य रहेको बताउँदै सचिव पाण्डेले नैतिकतासहितको जीवनोपयोगी शिक्षाका लागि गण्डकी प्रदेश चिन्तनशील रहेको बताए ।

‘प्रदेश सरकारले ‘कमाउँदै–पढ्दै’ भन्ने अवधारणाअघि सारेर काम गर्ने नीति अवलम्बन गरेको छ,’ सचिव पाण्डेले भने, ‘एसओएसजस्ता सेवामूलक संस्थामा अध्ययनरत विद्यार्थीलाई यो अवधारणाअनुसार कसरी बढीभन्दा बढी लाभान्वित बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालय थप चिन्तनशील छ ।’

पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले विद्यार्थीमा आपसी सद्भाव र भ्रातृत्व भाव विकासका लागि खेलकुद अत्यावश्यक रहेको बताए । एसओएस गण्डकीको शैक्षिक र भौतिक पक्षको स्तरोन्नतिका लागि वडाले यथाशक्य पहल गर्दै आएको उनले जााए ।

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक चूडामणि सुवेदीले नियमित शिक्षण सिकाइ क्रियाकलापसँगै बालबालिकाको शारीरिक तन्दुरुस्ती र संवेगात्मक सन्तुलित विकासका लागि विद्यालयले विद्यार्थीका बीचमा प्रत्येक वर्ष प्रतियोगितात्मक खेलकुद कार्यक्रम आयोजना गर्दै आएको बताए । पछिल्ला केही वर्षयता एसओएस शैक्षिक गतिविधिका अतिरिक्त विभिन्न अतिरिक्त गतिविधिमा समेत सधैँ अब्बल सावित हुँदै आएको उनको भनाइ छ ।

Advertisement

समारोहमा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, सैनिक आवासीय महाविद्यालयका निमित्त प्राचार्य जयराम कायस्थ, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाश देवकोटा, एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बराल, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइ अध्यक्ष मिलन खत्री, एसओएस बालग्रामकी आमा प्रतिनिधि पार्वती पाण्डे, एसओएस गण्डकी भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष विकास श्रेष्ठ, चिकित्सकद्वय दीपेन्द्र अधिकारी र आविष्कार गौतम लगायतले बोलेका थिए ।

विद्यालयका खेलकुद शिक्षक दीपकबाबु नेपालीले चार सदन कप्तानहरूलाई शपथग्रहण गराई खेलुकद दिवसको सुरुआत गरे ।समारोहमा विभिन्न दूरीका दौड, रिले दौड, लङजम्पलगायतका अन्तरसदनात्मक खेल भएका थिए । विद्यार्थीको शारीरिक कवाज प्रदर्शनी पनि भएको थियो ।

विद्यालयमा गठित राष्ट्रिय सेवा दलका विद्यार्थीको समूहले विशेष मार्च पास्डका साथै खुकुरी नृत्य पनि प्रदर्शन गरेको थियो । खेलकुद समारोहमा विद्यालयमा गठित विभिन्न सदनमा आवद्ध विद्यार्थीले राष्ट्रिय गीतको धुनमा सुसज्जित मार्च पास्डका साथै नेवारी संस्कृतिमा प्रचलित लाखे नृत्यका अतिरिक्त विविध लोक सांस्कृतिक नृत्य पनि प्रदर्शन गरेका थिए । खेलकुद अवधिभरि हुने सम्भावित दुर्घटनाबाट खेलाडीलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले क्षयरोग निवारण केन्द्रमा कार्यरत भूतपूर्व विद्यार्थी सम्मिलित चिकित्सकहरूको समूहले विद्यालयमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेका थिए ।

प्रतियोगितात्मक खेलअन्तर्गत पहिलो दिन भएको ४ सय मिटर रिले दौडमा गौरीशंकर सदनका मनीता कार्की, ललिता मल्ल, सुमिता कार्की र कमला तामाङले प्रथम तथा अन्नपूर्ण सदनका लीला पुरी, अपेक्षा केसी, विमला पुन र सारिका बूढथापाले द्वितीय स्थान हासिल गरे । तीन दिनसम्म सञ्चालन हुने विद्यालयको खेलकुद समारोहमा आधारभूत र माध्यमिक तहका लागि छुट्टाछुट्टै खेल हुने छन् ।

तपाईको प्रतिक्रिया