
पोखरा । ठेलमठेल भीड, बाजा र साउन्ड सिस्टमको आवाज, बाटोमा कम्मर मर्काइरहेका आन्तरिकदेखि बाह्य पर्यटकको जमघट । पर्टटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा केही दिनयता देखिएको दृश्य हो यो । रेस्टुुरेन्ट एन्ड बार एसोसियसन आफ नेपाल (रेबान) पोखराको आयोजनामा पुसको १३ देखि १७ गतेसम्म पोखरा लेकसाइडमा २६ औं सडक महोत्सव चलिरहँदा हरेक दिन जसो यस्तै घुइँचो देखियो ।
सडक महोत्सवसँगै पोखरामा अरु इभेन्ट पनि चलिरहेका थिए । लेकसाईडबाट केही पर पामे क्षेत्रमा अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल सञ्चालनमा थियो । पुस ९ गतेबाट सुरु भएको अन्तर्राष्ट्रिय हट एअर बेलुन फेस्टिभलले पाहुनाको ध्यान खिचिरह्यो । पुुस १३ गते भएको यःमरी महोत्सवले पनि यहाँको पर्यटन चलायमान बनायन भूमिका खेलेको थियो ।
पुसको १३ र १४ गते नेपाल–चीन फ्रेन्डसिप ‘ड्रागन बोट रेस महोत्सव’ पनि पोखरा लेकसाइडमा नै सञ्चालन भयो । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा दुई दिने बोट रेस भएको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसोसिएसन पोखराको सहयोगमा भएको महोत्सवले पनि पोखराको पर्यटन व्यावसाय प्रवद्र्धनमा ठूलो भूमिका खेलेको पर्यटन व्यावसायीहरु बताउँछन् ।
क्रिसमस अघिसम्म पोखराको लेकसाइडका होटलहरुको अकुुपेन्सी ४० प्रतिशत रहेकोमा महोत्सवको दौरान अकुपेन्सी ह्वात्तै बढेको होटल संघ, पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् । ‘यहाँ महोत्सव चलिरहँदा पर्यटन व्यावसायमा ठूलो योगदान पुगेको छ,’ उनले भने, ‘महोत्सव सुरु भएपछि होटलको अकुुपेन्सी ह्वात्तै बढेको छ । मुख्य दिन डिसेम्बर ३१ मा ८० प्रतिशतसम्म पुुगेको थियो । जनवरी १ मा ७० प्रतिशत अकुपेन्सी रह्यो । यो हाम्रालागि धेरै राम्रो विषय हो ।’
रेबान पोखराका महासचिव वीरेन शेरचनका अनुुसार ५ दिनको अवधिमा करिब ५ लाख पर्यटक लेकसाइड क्षेत्रमा आएका छन् । ‘हामीसँग ठ्याक्कै डाटा त छैन तर ५ दिनसम्मको मानिसहरुको चहलपहल हेर्दा ४ देखि ५ लाख जति पर्यटक पोखरा आउनुुभएको छ भन्ने हाम्रो आकलन छ,’ उनले भने, ‘अफ सिजनमा पर्यटक चलायमान बनाउन आयोजना गरिएको सडक महोत्सवमा यो वर्ष पनि अघिल्ला वर्षमा जस्तै सोंचेभन्दा बढी पर्यटक आउनुभएको थियो । यसले पोखराको पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याएको छ ।’
सडक महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई पोखराको सांस्कृतिक र प्राकृतिक सौन्दर्यसँगै व्यावसाय प्रवद्र्धन गरेको रेबान अध्यक्ष विश्वराज पौडेलले बताउँछन् । सडक महोत्सवमात्र नभएर पोखरामा हुने हरेक इभेन्टले पोखराको चौतर्फी विकासमा टेवा पुु¥याउने उनले बताए । ‘सडक महोत्सवका बेलामा यहाँका होटल व्यावसायी, प्याराग्लाइडिङ व्यवसाय, डुुंगा व्यवसाय, कृषि, यातायात सम्पूूर्ण क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाइदा पु्गिरहेको छ,’ उनले भने, ‘पोखरामा यस्ता खालका मेला, महोत्सव भइरहनुपर्छ । यसलाई व्यवस्थित बनाउनका लागि सम्बन्धित निकायले पनि ध्यान दिन जरुरी छ ।’
यसरी हुने कार्यक्रम, महोत्सव र प्रतियोगिताहरूले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा थप चिनाउन महत्वपूर्ण भूमिका खेलेको पर्यटन व्यावसायी दोर्जे लामाको ठम्याइ छ । महिना महिनामा महोत्सव भइरहनुपर्ने उनको भनाइ छ । ‘अहिले यति धेरै पर्यटक देखियो । यसले कोरोनापछि शिथिल भएको पर्यटन व्यावसायमा केही आशा जगाएको छ,’ उनले भने, ‘अब अर्को महिना के हुन्छ भन्ने बारेमा सोच्ने बेला आएको छ । जनवरी, फेब्रुुअरीमा के के गर्ने भनेर प्लान बनाएरअघि बढेमा राम्रो हुन्छ ।’

रेबान कास्की प्रथम उपाध्यक्ष वसन्त गौतम पोखरामा हुने मेला, महोत्सवलाई तालिमका बनाएर गर्नुपर्ने बताउँछन् । ‘पोखरामा यति बेला महोत्सव नै महोत्सव भएको जस्तो देखिएको छ । ३ वटा महोत्सव जुधेको जस्तो पनि देखियो,’ उनले भने, ‘हामीले गर्ने महोत्सव सधैं एउटै समयमा हुन्छ । आगामी वर्ष आयोजकहरु सल्लाह गरेरअघि बढे धेरै राम्रो हुन्छ ।’

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया