त्रिवेणी इन्टरनेसनल कलेज अध्यक्षमा सुमन भट्टराई

समाधान संवाददाता २०८१ पुष २१ गते ५:५६

लेखनाथ । त्रिवेणी इन्टरनेसनल कलेज पोखरा २७ को नवौं बार्षिक साधारण सभा एवं तेश्रो अधिवेशनले पुन सुमन भट्टराईको अध्यक्षतामा संचालक समितिको चयन गरेको छ ।

सभाले कलेजको संचालकमा बलराम ढकाल, भरतकुमार अधिकारी, यदुराज आचार्य, मधुसुदन सापकोटा, हरिबहादुर बुढाथोकी, सोमनाथ बास्तोला, शान्ति खनाल र विनोद लामिछाने चयन गरेको छ । सञ्चालक समितिले मुक्तिनाथ सापकोटालाई कम्पनी सचिवमा नियुक्ति गरेको छ ।

यसैगरी राजेन्द्रमणि लामिछाने, बाबुराम गिरी, छत्रधर आत्रेय, विष्णुप्रसाद बराल र लोकराज ढकाललाई सल्लाहकारमा चयन गरेको छ ।

Advertisement

कलेजले त्रिभुवन विश्वविद्यालयबाट गुणस्तर सुनिश्चितताको प्रमाण पत्र प्राप्त गरेपछि अध्ययनका लागि नयाँ कार्यक्रम थप गर्ने जनाएको छ । यसैगरी आवश्यक पूँजि जुटाउन सर्वसाधारणमा आइपिओ जारी गर्न संभाव्यता अध्ययनका लागि एक समिति गठन गर्ने समेत जनाएको छ ।

यसअघि साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु कुमार थापाले बजारको माग अनुरुपको दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम समावेश गर्न आग्रह गरे ।
मन्त्री थापाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय र शिक्षामा अभिभावकको भूमिका समेट्नेगरी नीतिमा सुधार हुनु पर्नेमा जोड दिए । उनले विद्यार्थीका लागि शुक्रबारलाई झोला र किताव विहिन बनाउने र उत्पादनसँग जोड्ने गरी मन्त्रालयले कार्यक्रम ल्याएको उल्लेख गरे ।

Advertisement

मन्त्री थापाले उच्च शिक्षामा समेत कक्षा छाड्ने समस्या बढ्दै गएको उल्लेख गर्दै पाठ्यक्रममा सुधारगरी उत्पादन र रोजगारीमा जोड्दै लैजानु पर्नेमा जोड दिए ।

उनले शिक्षा नीतिमा देखिएका समस्या समाधान गर्न संघीय शिक्षा मन्त्रीसँग आफ्नो कुराकानी भैरहेको उल्लेख गर्दै, त्यसले प्रदेशलाई पनि सहज हुने बताए । नैतिक शिक्षाका साथ योग र ध्यान एवं प्रणायायलाई समेत शिक्षामा समेट्नु पर्नेमा मन्त्री थापाले जोडदिए ।

कार्यक्रममा पूर्व कानून मन्त्री यज्ञवहादुर थापाले शिक्षा सुधारका लागि अभिभावक, शिक्षक र विद्यार्थीको समान भूमिका रहने उल्लेख गर्दै, सवैलाई जिम्मेवार बनाउन जोड दिए । उनले विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने अहिलेको लहरले करोडौं लगानी भएका क्याम्पस तथा विद्यालयहरु खण्डहरमा परिणतहुन सक्ने संकेत गरे ।
कलेजका प्राज्ञिक सल्लाहकार प्राडा इन्द्रप्रसाद तिवारीले गुणस्तर सुनिश्चितताको प्रमाण पाएपछि कलेजमा एकेडेमिक कार्यक्रम थप गर्नु पर्नेमा जोड दिए ।

कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष एवं बाबुराम गिरी, राजेन्द्रमणि लामिछाने, सल्लाहकार धु्रवनाथ अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष बलराम ढकाल, पृथ्वी नारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेल लगायतले कलेजले शैक्षिक क्षेत्रमा गरेको प्रगतीको प्रशंसा गरेका थिए ।

कलेजका प्रमुख यदुराज आर्चायले शैक्षिक गतिविधि प्रस्तुत गरेको कार्यक्रममा पूर्व विद्यार्थी अशिम पाण्डे, हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कंडेल, आनन्द ज्योती माविका प्रधानाध्यापक शिवराज अधिकारी, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन मोहन भट्टराई लगायतले बोलेका थिए भने कार्यक्रमका संचालन कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया