प्रतिभा माविमा फुड फेस्टिभल

पोखरा । विद्यार्थीमा रहेको दक्षता प्रस्फुटन गराउने उद्देश्यले प्रतिभा माविमा शनिबार एक दिने ‘फुड फेस्टिभल’ भएको छ । शनिबार भएको फेस्टिभलमा विद्यार्थी आफैँले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए ।
खाना, संगीत र खेललाई एकै ठाउँमा प्रस्तुत गर्ने गरी आयोजित फेस्टिभल अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले उद्घाटन गरे । फेस्टिभल प्रतिभा माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषयका विद्यार्थीले आयोजना गरेका हुन् ।
खानाबाहेक संगीत र खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको थियो । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा रहेको पाककलाको क्षमता देखाउने गरी फुड फेस्टिभल आयोजना गरिएको बताए । विद्यालयले तेस्रो संस्करणको फुड फेस्टिभल आयोजना गरेको हो । ‘विद्यार्थीले किताबी ज्ञानमात्र पाएर हुँदैन । व्यावहारिक रूपमा पनि सीप देखाउने ठाउँ चाहिन्छ । विद्यार्थीका लागि यो फेस्टिभल आफ्नो सीप पस्कने अवसर हो,’ उनले भने ।
पोखरामा हरेक वर्ष सडक महोत्सव हुने र त्यसले खाना, संगीत र संस्कृतिलाई पस्केको अवस्थामा विद्यालयमार्फत पनि प्रयास थालिएको उनले बताए । ‘पर्यटन व्यवसायीले सडक महोत्सव आयोजना गरेर लाखौँ पर्यटक पोखरा ल्याउँछन् । त्यस्तै, प्रतिभाका विद्यार्थीले पनि सिकेको सीपलाई विद्यालयमा प्रस्तुत गर्ने अवसर यो फेस्टिभलले दिएको छ,’ उनले भने, ‘विद्यालयका लागि यो ठूलो कार्यक्रम पनि हो, जसले विद्यार्थीको क्षमतालाई बाहिर देखाउन सकिएको छ ।’
यो कार्यक्रम गर्नका लागि विद्यार्थी आफैँले प्रस्तावना तयार पारेर विद्यालयमा बुझाउने र त्यही प्रस्तावना अनुसार कार्यक्रम सम्पन्न गर्ने भएकाले यस्ता कार्यक्रमले विद्यार्थीमा पूर्ण व्यावसायिकता पनि विकास गराउने प्राचार्य सापकोटाले बताए । ‘विद्यार्थीले कार्यक्रम गर्छन् । त्यसपछि सबै काम सकेर हिसाबकिताब पनि फरफारक गर्छन् । त्यो अवधिमा विद्यार्थीको बजारीकरण, खाना पकाउने कला, पस्कने शैली, कार्यक्रमको स्वरूप, हिसाबकिताको पारदर्शिता सबै एकै थलोमा अभ्यास गर्न पाउँछन्,’ उनले भने, ‘एउटा व्यवसायको पूर्ण रूपको अभ्यास विद्यालयमा हुने भएकोले यसले विद्यार्थीमा क्षमता प्रस्ट्याउँछ ।’ विद्यार्थीमा व्यावसायिकताको संस्कार सिकाउन पनि यसले सघाउने उनले बताए ।
कार्यक्रममा भट्टराईले विद्यार्थीमा किताबी ज्ञानमात्र नभई व्यावहारिक सीप पनि आवश्यक हुने बताए । उनले विद्यार्थीमा सीपको महत्व बुझाउनका लागि पनि यस्ता कार्यक्रम आवश्यक रहेको बताए । ‘विद्यार्थीले किताबमा पढेरमात्र हुँदैन । उनीहरूले पढेको कुरालाई व्यावहारिक रूपमा पस्कन सिक्नुपर्छ । विद्यालयले यस्ता अवसर जुटाइदिनुपर्छ,’ उनले भने ।
भट्टराईले विद्यार्थीमा सीप भएमा कुनै पनि ठाउँमा भोकै बस्न नपर्ने बताए । ‘देश वा विदेश जहाँ गए पनि सीप चाहिन्छ । सीप सिकेर गएको खण्डमा कोही पनि विद्यार्थी भोकै रहनु पर्दैन,’ उनले भने, ‘विद्यार्थीका लागि व्यावहारिक सीपको झनै महत्व छ ।’
पर्यटन व्यवसायी भट्टराईले स्वदेश वा विदेश जहाँ गए पनि सीप आवश्यक पर्ने बताए । नेपालमा पछिल्लो समय उद्यमशीलता कमजोर हुँदै गएको अवस्थामा विद्यार्थीले सीपमार्फत आफूलाई अब्बल सावित गर्न सक्नुपर्ने पनि बताए । ‘उद्यमशील भएको खण्डमा रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसका लागि पनि दक्षता चाहिन्छ,’ उनले भने ।
विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले यस्तै सिकाइले विद्यार्थीमा व्यावसायिकताको भावना विकास हुने बताए । ‘यस्ता कार्यक्रम औपचारिकताका लागि मात्र नभई वास्तविकताका लागि आवश्यक छन्,’ उनले भने, ‘किताबी ज्ञानलाई वास्तविकतामा बदल्न सकेको खण्डमा त्यसले प्रतिफल दिलाउँछ ।’
कक्षा १२ की छात्रा डिना गुरुङले व्यावहारिक ज्ञानका लागि विद्यालयले गरेका यस्तै कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच विकास हुने बताइन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया