भीम रानाभालाई पूर्ण स्मृति सम्मान प्रदान गरिने

समाधान संवाददाता २०८१ पुष २१ गते १६:२६

दुलेगौंडा ।
तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जका तत्कालीन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफएम सम्मान तथा पुरस्कार–२०८१ का लागि सम्मानित व्यक्ति छनोट गरिएको छ ।

Advertisement


सम्मानमा साहित्यतर्फ भीम रानाभाट (ज्यालादारी), पत्रकारितातर्फ पत्रकार प्रकाशचन्द्र भट्टराई र समाजसेवातर्फ देउबहादुर गुरुङ छनोट भएका छन् । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशि नगद १०/१० हजार, प्रमाणपत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र छ ।


रानाभाट विद्यालय अध्ययनसँगै साहित्यतर्फ रुचि राख्ने गरेका थिए । रानाभाटको पहिलो कविता २०४४ सालमा ‘नयाँ वर्ष’ शीर्षकको धरा साहित्य मासिकमा छापिएको थियो । म्याग्दे–२ मा जन्मिएका उनका आधा दर्जन कृति प्रकाशित छन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित रानाभाटले आधा दर्जन बढी साहित्यसँग सम्बन्धित पुस्तकहरूको सम्पादन, सहसम्पादन र व्यवस्थापन गरेको अनुभव छ ।


समाजसेवातर्फ छनोट भएका ८४ वर्षीय गुरुङ दुलेगौंडा क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । तत्कालीन फिरफिरे गाविस वडा नम्बर ६ का अध्यक्षमा निर्वाचित उनी त्यसअघिको निर्वाचनमा वडा सदस्य भएका थिए । शुक्लागण्डकी–१२ मा बस्दै आएका उनी मोटरमार्ग, सामुदायिक विद्युत, गुरुङ समाज लगायतका सामाजिक संस्थामा रहेर समाजसेवामा क्रियाशील छन् ।


पुरस्कृत एवं सम्मानित व्यक्तित्व छनोटका लागि रेडियोका पूर्व अध्यक्ष नारायणकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरिएको थियो । समिति सदस्यहरूमा रेडियोका उपाध्यक्ष सरस्वती सिग्देल ‘लक्ष्मी’ र सल्लाहकार कमलमोहन घिमिरे थिए ।

Advertisement

उनीहरुलाई आगामी पुस २७ गते रेडियोको नवौं वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशनको अवसरमा सम्मान गरिने अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’ले बताए । पूर्ण स्मृति शुक्लागण्डकी एफएम सम्मान तथा पुरस्कार–२०७९ बाट पत्रकारितातर्फ विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल सम्मानित भएका थिए ।

२०८० बाट पत्रकारितातर्फ विकास खनाल, साहित्यतर्फ सागर उदास र समाजसेवामा नन्दराज थापा सम्मानित भएका थिए । रेडियोका सेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केही रकम उहाँको परिवारबाट जम्मा गरी ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो ।

सोही रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशील व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिने जानकारी सचिव शिव पौडेलले दिएका छन् । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया